कर्णालीमा गाईभैंसी कल्याण सम्बन्धी मापदण्डमा जारी

कर्णालीमा गाईभैंसी कल्याण सम्बन्धी मापदण्डमा जारी

सुर्खेत : कर्णाली प्रदेश सरकारले गाईभैंसी कल्याण सम्बन्धी मापदण्ड २०८० जारी गरेको छ।

कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले व्यवसायी फर्महरूले अवलम्बन गर्नुपर्ने गरि मापदण्ड जारी गरिएको मन्त्रालयका सचिव डाक्टर नरहरिप्रसाद घिमिरेले जानकारी दिए।

‘व्यावसायिक रूपमा पालिएका गाईभैंसीको कल्याण सम्बन्धी आधारभूत पक्षहरूको अधिकार सुनिश्चित गरिएको छ,’ सचिव घिमिरेले भने, ‘यसले समग्र पशु अधिकारको लागि यसले सुरक्षा जनाएको छ।’

गाईभैंसीप्रति हुने निर्दयी व्यवहारमा रोकावट गरी पशुको उचित व्यवस्थापन, विकास र गुणस्तर कायम गर्नको लागि पशु सेवा ऐन २०५५ को मर्म र भावनाअनुसार मापदण्ड तयार गरिएको उनले बताए।

पुस ४ गतेदेखि लागू गरिएको मापदण्डअनुसार व्यावसायिक फर्महरूले पशुलाई भोक, प्यास, कुपोषण हुन नदिने उल्लेख छ। त्यसैगरी, पशुलाई डर, त्रास, तथा तनाव हुन नदिने, लगायतका विषयहरूलाई व्यावसायिक फर्महरूले पशु कल्याणको लागि पालना गर्नुपर्नेछ।

गाईभैंसीलाई पैदल, ट्रक वा पिकअप गाडीमा राखेर ढुवानी गर्नुपर्ने मापदण्डमा उल्लेख छ। ढुवानी गर्दा हलचल गर्न सक्ने, घाउचोट नलाग्ने, अत्याधिक तातो वा चिसोबाट बचाउने, एकअर्कामा ठोक्किएर अङ्गभङ्ग नहुनेगरी ढुवानी गर्नुपर्ने मापदण्डमा उल्लेख छ।

गाईभैंसी व्यवसायीहरूले गाईभैंसी पालन गर्दा मापदण्डले तोकेअनुसारको व्यवस्थाको उल्लंघन गर्न नपाइने उनले भने। गाईभैंसीका लागि मात्रै मापदण्ड बनाइएको भन्दै उनले यसपछि समग्र पशुको कल्याण सम्बन्धीको मापदण्डहरू बनाइने बताए।

पछिल्लो समय पशुहरूप्रति अमानवीय व्यवहार बढ्न थालेको भन्दै पशु कल्याणको लागि मापदण्ड जारी गरिएको मन्त्रालयले जनाएको छ।

१५ पुस, २०८०, २१:०५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।