बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवाको परिवारलाई १०/१० लाख रूपैयाँ दिने सरकारको निर्णय

बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवाको परिवारलाई १०/१० लाख रूपैयाँ दिने सरकारको निर्णय

काठमाडौं : बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने भएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको गृहमन्त्री श्रेष्ठले जानकारी दिए।

हिजो ग्वार्को-बालकुमारीमा इपिएस परीक्षाका लागि आवेदन दिन कार्यालयमा पुगेका र प्रहरीबीच झडप भएको थियो। प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोली चलाउदा दुई जनाको मृत्यु समेत भएको थियो। झडपअघि भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत भएको थियो। उक्त घटनामा दैलेखका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको हो। सुजनको छातीमा डाम र वीरेन्द्रको तिघ्रामा गोली लागेको थियो।

मृतकको शव सरकारले नै उनीहरूको घरसम्म पुर्याइदिने निर्णय गरेको छ। बैठकले शुक्रबार फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पिएसओलाई निलम्बन गर्ने निर्णय पनि गरेको छ।

यस्तै, ललितपुरका एसएसपी शिद्धिविक्रम शाह पनि प्रहरी हेडक्वार्टर र सिडिओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तानिएका छन्।

१४ पुस, २०८०, १३:४०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।