बालकुमारी घट्नामा प्रहरीको गल्ती, गोली हान्ने आदेश दिने प्रहरी र मन्त्रीका पिएसओलाई निलम्बन : प्रधानमन्त्री

बालकुमारी घट्नामा प्रहरीको गल्ती, गोली हान्ने आदेश दिने प्रहरी र मन्त्रीका पिएसओलाई निलम्बन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बालकुमारी क्षेत्रमा दुईजनाको ज्यान जाने गरी भएको घटनामा प्रहरीको गल्ती भएको बताएका छन्।

आज मजदुरहरूको संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैटौँ राष्ट्रिय सम्मेलन कार्यक्रममा प्रचण्डले बालकुमारी घटनाप्रति सरकार संवेदनशील बनेका र गोली हान्ने आदेश दिने प्रहरी अधिकारी र घटनाको विषय परिस्थिति अड्कल गर्न नसकेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पिएसओलाई पनि निलम्बन गरिसकेको बताए।

उनले भने, ‘हिजो घटना हुँदा म दोलखामा थिएँ। आज बिहान मात्रै बालुवाटारमा सम्बन्धित पक्षहरूलाई बोलाएर बुझ्ने काम भएको छ। राजनीतिक कदम पनि चालिसकिएको छ। मन्त्रीको पिएसओलाई निलम्बन गरिएको छ। गोली चलाउने अधिकारीलाई पनि निलम्बन गरिएको छ।’ 

त्यस्तै, मृतकका परिवारबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बोलाइएको पनि उनले जानकारी दिए।

अदालतको फैसलाले कार्यालयले १८ जनालाई मात्रै परीक्षा दिन दिने र अरूलाई नदिने भन्न खोजेको होइन भन्ने आफूले बुझेको पनि उनले बताए। वैदेशिक रोजगारको विषयमा सरकार र सबै पक्ष संवेदशील रहेको र यसलाई व्यवस्थित गर्दै लैजाने पनि उनले बताए।

हिजो ग्वार्को-बालकुमारीमा इपिएस परीक्षाका लागि आवेदन दिन कार्यालयमा पुगेका र प्रहरीबीच झडप भएको थियो। प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु समेत भएको थियो। झडपअघि भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत भएको थियो। उक्त घटनामा दैलेखका सुजन रावत र वीरेन्द्र साहको मृत्यु भएको हो। सुजनको छातीमा डाम र वीरेन्द्रको तिघ्रामा गोली लागेको थियो।

१४ पुस, २०८०, १३:२०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।