एसओएसद्वारा सञ्चालित १८ महिने सूचना तथा सञ्चार प्रविधि उपयोग क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

एसओएसद्वारा सञ्चालित १८ महिने सूचना तथा सञ्चार प्रविधि उपयोग क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं : एसओएस अन्तर्गतको एसओएस बालग्राम नेपालको सामुदायिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि उपयोग क्षमता अभिवृद्धि कार्यक्रमको समीक्षात्मक कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक विद्यालयमा १८ महिनासम्म सञ्चालित परियोजनाले विद्यार्थीको सिकाइमा पारेको प्रभावबारे समीक्षात्मक कार्यक्रम गरिएको एसोएस बालग्राम नेपाल परियोजनाकी संयोजक रोशनी सिलवालले जानकारी दिइन्।

उनले भनिन्, ‘कार्यक्रममा १८ महिनासम्म सञ्चालित परियोजनाले विद्यार्थीको सिकाइमा पारेको प्रभाव, विद्यार्थीमा सिकाइका लागि भएको रुचि र परियोजनाका क्रममा देखिएका समस्या, समस्या समाधानका लागि चाल्नुपर्ने कदम तथा शिक्षामा स्थानीय सरकारको भूमिकाबारे छलफल भएको छ।’

लर्निङ एन्ड सेयरिङ मिटिङ नामक सो कार्यक्रमलाई सम्बोधन गर्दै परियोजनाकी संयोजक सिलवालले कक्षा ६ देखि १० सम्मका विद्यार्थीमा प्रविधिबाट अध्ययन गराउँदा अपनाउनु पर्ने सुरक्षा, प्रविधिको ज्ञान र सिप तथा सिकाइमा वृद्धि भएको बताइन्।

परियोजना लागू भएका तीन विद्यालयमा विद्यार्थीलाई २० वटा ल्यापटप, ट्याब्लेटस १ हजार १० वटा, स्मार्ट बोर्ड तीनवटा र १८ महिनाको इन्टरनेट उपलब्ध गराएको उनले बताइन्।

१८ महिनासम्म सञ्चालित परियोजना पनौतीको शान्ति निकेतन मावि, बनेपाको गणेश भारती विद्यालय र बालग्राम श्रीखण्डपुरमा लागू भएको छ।

शुक्रबार बनेपामा भएको कार्यक्रममा परियोजना कार्यान्वयन भएका विद्यालयका प्रधानाध्यापक तथा फोकल पर्सन, शिक्षक तथा नगरपालिकाका शिक्षा शाखाका प्रतिनिधिको पनि सहभागिता थियो।

१३ पुस, २०८०, २०:४१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।