प्रचण्ड सरकार अहिलेसम्म कै उत्कृष्ट : सांसद सापकोटा

प्रचण्ड सरकार अहिलेसम्म कै उत्कृष्ट : सांसद सापकोटा

काठमाडौं : माओवादी सांसद माधव सापकोटाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारको एक वर्ष अहिलेसम्मकै उत्कृष्ट र सफल भएको बताएका छन्।

बिहीबार राजधानीको संवाद डबलीमा बोल्दै सापकोटाले यस्तो बताएका हुन्।

‘प्रचण्ड नेतृत्वको वर्तमान सरकारको एक वर्ष अहिलेसम्मकै उत्कृष्ट र सफल भएको छ,’ उनले भने, ‘यद्यपि यतिले मात्र पुग्दैन, अझ सुधार सुशासनका कामहरू गर्दै जानुपर्छ।’

उनले नयाँ भनिएका धरातल विनाका दलहरूको स्टन्ट र हल्ला धेरै समय नटिक्ने ठोकुवासमेत गरे।

माओवादी केन्द्रका युवा नेतासमेत रहेका सापकोटाले मुद्रा सञ्चिति र व्यापार घाटा घट्टै जानु र वैदेशिक सम्बन्ध बलियो बन्नु, वर्तमान सरकारको सफलताको आधार भएको तर्क गरे।

परिवर्तन विरोधी शक्तिहरूले हल्ला फैलाए जस्तै वर्तमान सरकार असफल र कमजोर नभएको बताउँदै भने, ‘राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्याङ्कलाई आधार मान्ने हो भने मुद्रा सञ्चिति ह्वात्तै बढेको, व्यापार घाटा क्रमशः सुधार हुँदै गएको, भारतसँग ऐतिहासिक विद्युत् व्यापार सम्झौता लगायतले प्रष्ट हुन्छ कि प्रचण्ड सरकार अहिलेसम्मको उत्कृष्ट हो।’

‘नेपाल आयल निगम र नेपाल एयरलाइन्सले व्यापर घाटालाई कम गर्दै लगेको र विद्युत प्राधिकरण नाफामा जानुका साथै सरकार अधिनस्त संस्थानहरूले ज्यादा राजश्व संकलन गर्नुले यो एक वर्ष सफल छ’, सापकोटाले थपे।

सुशासनको कुरा गर्ने वर्तमान सरकार, शरणार्थी, ललिता निवास र सुन प्रकरणमा मुछिएका व्यक्तिहरू छुट्ने कुरा के हो? भन्ने प्रश्नमा उनी भन्छन्, ‘सरकार पुरै सत्ता हो, भन्ने भ्रम त्याग्नुपर्छ, न्यायालयले कानुनी रित पुर्याएर तारिकमा छाड्ने बित्तिकै सकियो भन्ने होइन, त्यसमा सरकार दोषी छ भन्ने पनि होइन, समातिएका जति सबैलाई जेलै कोच्नुपर्छ भन्ने मानसिकता पनि सत्य होइन नि!’

सापकोटाले मानिसलाई पक्रेर थुन्ने मात्रै नभएर समय अनुसार प्रशासनिक निकायलाई चुस्त र दुरुस्त राख्नु पनि सुशासन भएको बताए।

१२ पुस, २०८०, २१:१२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।