मधु बिसीका हिजोका कुरा : दूध पुर्याउनेहरू पावरफुल हुन्थे, भनसुनकै भरमा मालपोत र भन्सारमा फ्याट्टै जागिर लाइदिन्थे
उमेरले ६८ टेकेका मधु बिसी पेशाले राजनीतिकर्मी हुन्। वि.सं. २०१२ मा सिरहामा जन्मिएका उनको बाल्यकाल मधेशमै बित्यो। साढे तीन वर्षको हुँदा उनकी आमा बितिन्। बुवा, दाजु र दुई दिदीहरूको हेरचाहमा हुर्किएका मधुलाई कान्छा काका हेमन्तले पढाए।
तत्कालीन पञ्यायती व्यवस्थाको शासन र उनीहरूको रबैयाको राम्रैसँग अनुभव गरेका उनी कक्षा ८ मा पढ्दै गर्दा गाउँबाट लखेटिए, त्यो पनि दलित समुदायको घरमा खाना खाएको भनेर।
गाउँबाट लखेटिएर काठमाडौं आएका उनी काकासँगै उनको डेरा कमल पोखरीमा बस्न थाले। गाउँमा पढाइ छोडेर आएपछि काकाले उनलाई पुनः गाउँमै बस्ने वातावरण बनाइदिए अनि उनी गाउँ नै फर्किए।
गाउँकै विद्यालयबाट २९ सालमा एसएलसी पास गरेपछि उनी जनकपुरको रारा क्याम्पसमा भर्ना भए। त्यहाँ पढ्दा–पढ्दै विद्यार्थी आन्दोलनमा होमिए। त्यहिकारण उनी क्याम्पसबाट निष्कासित पनि भए। थप अध्ययनका लागि भारत गएका उनले त्यहाँबाट स्नातक गरेपछि तत्कालीन शोभियन संघ अहिलेको रुसबाट स्नातकोत्तर सके।
काठमाडौं बस्दा उनी प्रायः न्यूरोडको पिपलबोट पुग्थे। त्यहाँ उनले आफ्ना गाउँका आफन्तदेखि राजनीतिक दलका नेताहरूसमेतलाई भेट्थे। काठमाडौंमा दूध बेच्नेहरू निकै शक्तिशाली भएको पाए उनले त्यतिबेला।
उनीहरूले भनसुन गरेकै आधारमा भन्सार, मालपोत, एयरपोर्ट जस्ता ठाउँमा जागिर लगाइदिन सक्थे। उकेराको नियमित स्तम्भ हिजोका कुरामा बिसीले आफ्ना अनुभव यसरी साटेका छन्।
जागिर पहाडियाले पाउने हुन् भनेर पढ्दैनथेँ मधेशी
सिरहाको अर्नामा पञ्चायत गाउँमा जन्मिएको हुँ म। अहिले अर्नामा गाउँपालिका भयो। मैले थाहा पाउँदासम्म मेरा गाउँका मान्छेहरूको लवाइखवाइ साधारण नै थियो। पैसाको अभाव थियो। धान जति पनि दिन तयार हुने मानिस १० रुपैयाँ माग्दा पर भाग्थे। अहिलेको जस्तो प्रशस्त पैसा कसैसँग पनि हुँदैनथ्यो। पैसाको अति महत्व थियो।
तीन दाजुभाइमध्येको कान्छो म, दिदीबहिनी तीन जना। घरछेउकै विद्यालयबाट कक्षा पाँच उत्तीर्ण गरेपछि अर्को गाउँ कल्याणपुरमा रहेको विद्यालयबाट सात कक्षा पास गरेँ। मेरो पढाइ ठिकठिकै थियो। स्कुलमा पहाडी र मधेशी समुदायमा मानिसहरू आउँथे तर मधेशी समुदायका मानिसहरू पढ्न भने चाहँदैनथे।
पहाडियाले जागिर आएर आफूलाई दिँदैन भनेर छोरा पढाउँदैनथे भने छोरीलाई अर्काको घर जाने जात भनेर पढाउँदैनथे। यो लगभग २०१८ सालतिरको कुरा हो।
मेरो बुवाका चार दाजुभाइ। कान्छो काका हेमन्त बहादुर बस्नेत (बिसी) अलि शिक्षित भएकाले भाइभतिजालाई पढाउनुपर्छ भनेर बुवालाई भन्नुहुन्थ्यो। त्यहि भएर बुवाले पनि हामीलाई पढाउनुभयो। कान्छा काकाले मलाई अंश नदिएर भए पनि भतिजाहरूलाई पढाउनुपर्छ भन्नुहुन्थ्यो। त्यसरी पढ्यौँ हामीले।
मेरी आमा म तीन वर्षको हुँदा नै बित्नुभएको रे, मलाई त यादै छैन। मलाई घरको टुहुरो भनेर सबैले माया गर्थे।
मैले थाहा पाउँदा देशमा पञ्चायती व्यवस्था थियो। त्यो भएको हुनाले पञ्चायतका गुनगानका किताबहरू थिए। अनि नेपाली मुलका मान्छेहरूलाई नेपाली विषयमा मात्रै पढाउथेँ। मधेशी समुदायका लागि हिन्दी मैथिली भाषाका किताबहरू हुन्थे।
त्यहाँ नेपाली, हिन्दी र मैथिली भाषाका किताबहरू पढ्न पाइन्थ्यो। मैले थाहा पाउँदा हाम्रो जिल्लामा पाँच वटा हाइस्कुल थिए। अहिले त टोलटोलमा हाइस्कुल बनेका छन्। कमै हाइस्कुल बन्नुमा पढ्ने विद्यार्थीहरू पनि थिएनन्।
‘छोरीलाई पढाउनु हुँदैन’ भन्ने सोचका मान्छेहरू थिए। पहाडियाहरूले पनि छोरीचेलीलाई पढाउनु हुँदैन भन्थे। मैले पढ्ने बेलासम्म एकदमै कमले मात्र पढाउँथे।
आठ कक्षा पढ्दै गर्दा भागे
आठ कक्षामा पढ्दा मैले एउटा दलितको घरमा खाना र खाजा खाइदिएँ। पानी नचल्ने दलितको घरमा खाना खाएर जात फाल्यो भन्दै बुवाले गाली गर्न अनि कुट्न थाल्नुभो। मेरो परिवार त्यो समयमा धनाढ्य थियो अनि गाउँसमाजमा अलि गन्नेमान्ने नै थिए। आफैँलाई कुट्न लागेपछि म दुई हजार पैसा चोरेर काठमाडौं भागेँ। जुन पैसा अहिलेको दुई लाख भन्दा बढी हो।
काठमाडौंमा कान्छा काकालाई भेटेँ। हामीमा आपतमा कान्छा काकाले नै बचाउनुहुन्छ भन्ने मानसिकता थियो। त्यो बेला काका कमलपोखरीमा बस्नुहुन्थ्यो। काठमाडौं आएपछि म अलि विद्रोही स्वभावको भएँ। त्यसपछि काकाले मलाई पुनः घर नै पुर्याइदिनुभयो। काकाले नै घर लिएर गएपछि मलाई कसैले गाली गर्नुभएन। गाउँ फर्किएपछि मैले आफ्नो पढाइलाई निरन्तरता दिएँ।
सानैबाट साथीभाइ अघिपछि लगाएर हिँड्नुपर्ने स्वभाव थियो मेरो। एक दिन आँपको बोटमा साथीहरूसँग लहैलहैमा ढुङ्गा हानियो, बिगार गरियो। बिगार गरेपछि गाउँका पञ्च र ठूलाठालुले प्रहरी बोलाएर हामीलाई कुटे। प्रहरीको कुटाइबाट मेरो देब्रे हातै भाँचियो। अहिले हेर्दा पनि देखिन्छ यी (भाँचिएको हात देखाउँदै)।
त्यो समयमा प्रहरी शक्तिशाली हुन्थ्यो। जम्दार अनि पञ्चेहरूको हालीमुहाली थियो। कतिपय घटनाहरू घरमा नै मिलाउँथे। प्रहरीले मेरो हात भाँच्दा कुनै कारबाही नगरी गाउँमै ‘भैगो भैगो’ भन्दै घटना मिलाइएको थियो।
मैले २०२९ सालमा जनकल्याण माध्यमिक विद्यालयबाट एसएलसी पास गरेँ। त्यसपछि मलाई काठमाडौं आएर कानुन पढ्ने रहर थियो। तर त्यो नेपाल विद्यार्थी फेडेरेसनका अध्यक्ष मनमोहन थापाले जनकपुर क्याम्पसमा विद्यार्थी फेडेरेसनको अवस्था राम्रो नभएको भन्दै त्यहिँबाट पढ्न मलाई आग्रह गरे।
त्यसपछि कल्चर पोल्टिकल साइन्स विषय लिएर म रारा क्याम्पसमा आईए पढ्न भर्ना भएँ। सेमेस्टर प्रणाली भएकाले त्यतिबेला आईएको चार सेमेस्टर हुन्थ्यो।
२०३२ सालको विद्यार्थी आन्दोलनमा मैले नै क्याम्पसमा आन्दोलनको नेतृत्व गरेको थिएँ। आन्दोलनकै क्रममा पर्खालमा ‘पञ्चायत मुर्दावाद’देखि ‘नेपाल फेडेरेसन जिन्दावाद’सम्मका नारा लेखेँ। क्याम्पसका डिनले थाहापाइहाले।
‘किन लेखेको?’ भन्दै स्पष्टिकरण पनि सोधे। उनीसँग मेरो राम्रै भनाभन भयो। अन्ततः मसहित पाँच जनालाई तीन वर्षका लागि कलेजबाट नेपालमा पढ्न नपाउने गरी निष्कासन गरियो।
त्यसपछि मैले आन्दोलन गर्न छाडिनँ। त्यसै क्रममा मलाई प्रहरीले पक्रियो अनि जलेश्वरको जेलमा राख्यो। केही समयपछि त्यहाँबाट पनि निस्किएँ।
जेलबाट निस्किएपछि आफ्नो पढाइलाई निरन्तरता दिन थालेँ। नेपालमा पढ्न नपाउने भएपछि पढ्कै लागि भारत गएँ अनि उतै आईए सकेर फर्किएँ।
आईए फर्केर सकेपछि स्नातकका लागि रसियाको छात्रवृत्तिका लागि परीक्षा दिएँ। त्यतिबेला नेपाल र रसियाको सम्बन्ध राम्रो थियो। त्यसैले नेपाली विद्यार्थीलाई पढाउन लैजाने गर्थ्यो। परीक्षामा मेरो पनि नाम निस्कियो। अनि रसिया गएँ, त्यहाँ मैले स्नातक मात्र नभएर स्नातकोत्तर नै सकेर फर्किएँ।
स्वदेश फर्किएपछि नेपाल कम्युनिष्ट पार्टी संयुक्तमा कार्यकर्ताका रूपमा आवद्ध भएँ म। अहिले पनि त्यसैमा छु।
पहिला कम्युनिष्ट बन्न निक्कै गाह्रो थियो। कम्युनिष्टको सदस्यता पाउनै चार वर्षसम्म पुग्नुपर्थ्यो। अहिले जस्तो अबिर छर्देकै भरमा कम्युनिष्ट बन्न पाइँदैनथ्यो।
कम्युनिष्ट भनेपछि समाजको काम गर्ने हो भन्थेँ। अहिले त के कुरा गर्नु परिवारवादमा जेलेको छ। मिल्ने भए चड्काइदिउ जस्तो लाग्छ।
न्युरोडको पिपलबोट लागुऔषध कारोबारीको अखडा
२०२८ सालमा म भागेर काठमाडौं आएको बेलाको कुरा हो। त्यतिबेला नेपालका अधिकांश जिल्लाका मान्छेको भेट हुने स्थान भनेको न्युरोडको पिपलबोट थियो। देशका अधिकांश मान्छेहरू आफ्ना आफन्त भेट्न त्यहाँ पुग्थे। मेरो जिल्लाका मान्छेहरू भेट्नुपर्दा म पनि त्यहिँ जान्थेँ।
त्यहाँ एउटा पान पसल थियो। अधिकांशले त्यहिँबाट आफ्नो जिल्लाका मान्छेको जानकारी लिन्थे। त्यहि पसलमा फलानाको मान्छेले भेट्न खोजेको छ, यो सामान छोडेको छ अथवा जे छ त्यसको बारेमा जानकारी दिन्थ्यो र लिन्थ्यो। नत्र कहाँ के भइरहेको छ भन्नेबारे थाहै हुन्नथ्यो। सम्पूर्ण जानकारी लिने ठाउँ थियो न्युरोडको पिपलबोट।
न्युरोडको पिपल बोट विशेष गरि राजनीतिकर्मी र दुई नम्बरी धन्दामा लागेका मान्छेहरूको अखडा थियो। राम्रा र नराम्रा मान्छेहरूको हुल हुन्थ्यो। कोही कसैलाई फसाउन पाए या काम लगाउन पाए करोड आउँथ्यो भन्दै डुलिरहेका भेटिन्थे भने कोही राम्रो नियतका पनि हुन्थेँ। अझ बढी त्यहाँ गाँजा, चरेस, डलरको कारोबारीहरू डुल्थेँ र निर्दोष मान्छे फसाउनेको जमात देखिन्थ्यो।
आफ्नै जिल्लवासीले लागुऔषध मुद्दामा फसाएका मान्छेहरू थुप्रै थिए त्यहाँ। अझै पनि ती दिनहरू झल्झली सम्झन्छु म।
दूध पुर्याउनेहरू सांसदभन्दा पावरफुल
म काठमाडौं आउँदा दूध बोकेर घर-घरमा पुर्याउनेहरूको जमात थियो। उनीहरूको छुट्टै भ्यालू थियो समाजमा। पावरफूल मानिन्थे उनीहरू। अहिलेका सांसदहरूको के पावर छ र?
त्यो बेला अहिलेजस्तो जो-कोहीले दूध किनेर खान सक्दैनथे। सेनाका जर्नेल, कर्नेल, मन्त्रालयका सचिव, निर्देशक यस्तै–यस्तै पदमा भएकाले दूध किनेर खान्थे।
दूध पुर्याउँदा पुर्याउँदा बनेको सम्बन्धबाट उनीहरूले आफ्ना मानिसलाई जागिर खुवाएका हुन्थे। त्यसका लागि एक मुठो साग, घ्यू लगायतका उपहार लगिदिन्थे।
पैसा दिन खोज्दाख ‘कहाँ हजुरसँग पैसा लिन्छु त’ भनेर चिप्लो घस्थे। हाकिमहरू पनि लोभिन्थे अनि भनसुन गरेर एयरपोर्ट, मालपोत, भन्सार लगायतका ठाउँमा जागिर भर्ति गरिदिन्थे।
त्यो समयमा जागिर खानका लागि अहिलेको जस्तो लोकसेवा आयोग भिडेर, पढेर जाँच दिएर भन्दा पनि भनसुनमा चलेको थियो। अनि त्यो बेलाका हाकिमहरूले फलाना ठाउँमा काम गर्न पठाइदिनु भनेपछि काम भइहाल्थ्यो।
अर्को कुरा त्यो समयमा पढे लेखेको मान्छे पाउन मुस्किल थियो। काम जताततै थियो। उद्योग कलकारखाना राम्रै थियो। जागिर खानेभन्दा पनि खेती किसानीमा धेरै मान्छे थिए। अनि जागिर पाउन पनि त्यो समयमा कठिन थिएन।
पुष १२, २०८० बिहीबार १५:४१:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।