परिवारले धरौटी बुझाइदिएपछि आज रिहा भए भुटानी शरणार्थी नेता रिजाल

परिवारले धरौटी बुझाइदिएपछि आज रिहा भए भुटानी शरणार्थी नेता रिजाल

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ महिना हिरासतमा बसेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल आज रिहा भएका छन्।

उच्च अदालत पाटनको आदेशमा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धाराले रिजाललाई धरौटी बुझाएपछि रिहा गरेको हो।

अदालतले १५ लाख रूपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो।

काठमाडौं जिल्ला अदालतमा आइतबार बेलुकी धरौटी रकम बुझाएका रिजाल बुधबार मात्रै रिहा भए।

रिजालले रिहा हुनुअघि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिए।

रिजाल अब पुस २० गते काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ। सम्पत्ति शुद्धीकरणले माघ १५ गते उनलाई हाजिर हुन भनेको छ। रिजालले विभागमा थप धरौटी बुझाउनु परेको छ। अख्तियारमा भने रिजालको बयान मात्रै भएको छ।

रिजाललाई स्वागत गर्न मानव अधिकारवादीहरूको टोली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै पुगेको थियो।

धरौटी रकम बुझाउन पैसाको अभाव रहेको भनिएका नेता रिजालको रिहाइका लागि परिवारले धरौटी रकम जुटाएको हो। क्यानडामा रहेका छोरा विक्रमले बुबाको रिहाइका लागि नेपालमा रकम पठाएका थिए।

११ पुस, २०८०, १८:३८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।