देशभरका विद्यालयमा आज ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन हुने

देशभरका विद्यालयमा आज ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन हुने

काठमाडौं : देशभरका सम्पूर्ण विद्यालयमा आज ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन हुने भएको छ।

राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा देशभरका विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन हुन लागेको शिक्षा मन्त्रालयले जनाएको छ।

सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न मन्त्रालयले पुस ८ गते नै शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिइसकेको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट पुस ५ गते आएको पत्रअनुसार यस्तो निर्देशन दिइएको मन्त्रालयकी शाखा अधिकृत उषा लामिछानेले जानकारी दिइन्।

शाखा अधिकृत लामिछानेले केन्द्रलाई आवश्यक कार्यार्थसमेत पठाएको जानकारी गराएकी छन्।

ज्येष्ठ नागरिक दिवस २०७८ सालदेखि मनाउन थालिएको हो। ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको दिनको सम्झनामा दिवस मनाउन थालिएको हो।

२०५१ पुस ११ गते मनमोहन अधिकारी नेतृत्वको सरकारले ७५ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि भनेर मासिक १ सय रुपैयाँ भत्ता दिन सुरु भएको थियो। सोही भत्ता अहिले मासिक ४ हजार पुगेको छ।

११ पुस, २०८०, ०७:४३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।