त्रिशूलीको सिटी स्क्यान खरिद विवादले देखाएको बागमती प्रदेशमा फैलिएको स्वास्थ्य बिचौलिया जालो

त्रिशूलीको सिटी स्क्यान खरिद विवादले देखाएको बागमती प्रदेशमा फैलिएको स्वास्थ्य बिचौलिया जालो

काठमाडौंः नुवाकोटको त्रिशूली अस्पतालले करिब पाँच करोडमा जडान हुने सिटी स्क्यान मेसिन खरिदका लागि सात करोड ८८ लाख ७४ हजारमा खरिद गर्नेगरी टेन्डर स्वीकृति गर्ने आशयको सूचना निकालिसकेपछि पनि प्रदेश सरकार टेन्डरको छानबिन सकियो।

एकल सदस्यले अनुगमन गरी दिएको सिफारिसको आधारमा गठन भएको समितिले स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन बुझाइसकेको छ। जो मिलेमतोमा संलग्न छन् उनीहरूकै इन्ट्रेस्टमा छानबिन समिति गठन गर्नुको उद्देश्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा चोखो देखिने नियत प्रस्टै देखिन्छ। स्रोतका अनुसार एकल सदस्यले टेण्डरप्रक्रियामा जेजस्ता त्रुटि देखाएको थियो वृहत् समिति त्यसमा विस्तृतमा प्रवेश गर्नुपर्ने हो। तर प्रवेश गरेको छैन। उसले सबै जिम्मेवारी अख्तियारको छानबिनलाई सुम्पेको छ।

अस्पतालले त्रिशूलीको सिटी स्क्यानका लागि सप्लायर्स समेत छानिसकेको छ। त्यही शैलीमा सिन्धुलीमा पनि सिटी स्क्यान मेसिन खरिद गर्न आफू निकट सप्लायर्सलाई मिल्नेगरि स्पेशिफिकेशन बनाउनेक्रम जारी छ। त्यसपछिको सूचीमा छ भक्तपुर अस्पताल।

उकेराले निरन्तर यी तीनै अस्पतालमा बागमती प्रदेश सरकारको बजेटमा किन्न लागिएको सिटी स्क्यान मेसिनमा भइरहेको नौ करोड अनियमितताको चक्रबारे प्रमाणसहित समाचार प्रकाशित गरिसकेको छ।

यता छानबिन जारी नै देखिन्छ भने उता त्रिशूली अस्पतालको प्रमुखले क्यानन–तोसिवाको सिटी स्क्यान मेसिन किन्न लक्ड गरिएको स्पेशिफिकेशन अनुसार चाहेको सप्लायर्सलाई सात करोड ८८ लाख ७४ हजारमा सिटी दिन टेन्डर स्वीकृति गर्ने आशयको सूचना जारी गरिसकेको छ।

त्रिशूली अस्पतालमा सिटी खरिदका लागि बजेट व्यवस्थापन गर्दा नै केन्द्रीय स्वास्थ्यमन्त्री मोहन बस्नेतदेखि प्रदेशका स्वास्थ्यमन्त्री, बनमन्त्री स्वास्थ्य सचिवको योजना अनुसारकै मेडिकल उपकरण सप्लायर्सलाई ठेक्का दिने तयारीमा थिए।

निर्वाचनकोक्रममा भएको खर्च व्यवस्थापनसँग बागमती प्रदेशले किन्ने तयारी गरेको सिटी स्क्यान मेसिनमा मिलेमतोको योजना बनेको थियो।

त्यसका लागि प्रारम्भमा प्रदेशको स्वास्थ्य मन्त्रालयले तीन अस्पतालका लागि प्रति अस्पताल आठ करोडको दरको सिटी स्क्यान मेसिन किन्नेगरी बजेट विनियोजन गरेको थियो। सम्बन्धित अस्पतालले नै किन्नेगरी बजेट छुट्ट्याइए लगत्तै आफू अनुकूलका कर्मचारीलाई अस्पतालमा पठाएर योजना अनुसारै आफू निकट सप्लायर्सका लागि अनुकूल वातावरण बनाउन थालियो।

खरिदको प्रारम्भ त्रिशूली अस्पतालबाट भयो। स्क्यान मेसिन खरिदको योजना बनेपछि गत चैतमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेलाई स्वास्थ्य मन्त्रालयमा काज फिर्ता गराइयो। दसौँ तहको डा. पाण्डे सङ्घ अन्तर्गतका चिकित्सक हुन्।

डा. पाण्डेलाई हटाएर बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले रामेछाप जिल्ला अस्पतालमा कार्यरत आठौँ तहको डा. गगन अधिकारीलाई त्रिशूलीको निमित्त सुपरिटेन्डेन्टको जिम्मेवारी दियो। खरिदमा उनी सहयोगी हुने नदेखेपछि उनले त्यहाँ हाजिरै गर्न पाएनन्।

त्यसपछि नुवाकोटका कांग्रेस नेता तथा  प्रदेश सभा सदस्य (बागमती प्रदेशका हालका अर्थमन्त्री) बहादुर सिंह लामाको योजना अनुसार प्रदेश स्वास्थ्य मन्त्रालयले आठौँ तहको डा. प्रतीक सिंहलाई त्रिशूली अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेन्को जिम्मेवारी दियो।

डा. सिंह अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएपछि औपचारिक रूपमा सिटी खरिदको प्राविधिक स्पेशिफिकेशन बनाउने काम सुरु भएको थियो।

प्राविधिक स्पेशिफिकेशन आवश्यकताको आधारमा सरकारी निकायका बायोमेडिकल इन्जिनियरले बनाउने भए पनि त्रिशूलीमा सप्लायर्सबाटै सिटी खरिदका लागि आफ्नो उपकरणसँग मिल्ने प्राविधिक स्पेशिफिकेशन बनाएर अस्पतालमा औपचारिकताका लागि मात्रै पठायो।

उकेराको खोजको क्रममा पनि अस्पतालले सिटी खरिदका लागि स्पेशिफिकेशन बनाएको नभई औपचारिकता मात्रै दिएको पुष्टि हुन्छ।

यी सबै काममा संयोजन गर्ने जिम्मा पाए केन्द्रका स्वास्थ्यमन्त्री मोहन बस्नेतको नातामा भान्जा पर्ने ज्ञानेन्द्र थापाले। अस्पताल प्रमुखसँग भेट्ने, स्पेशिफिकेशन आफू अनुकूल बनाएर प्रक्रिया अगाडि बढाउन उनी सक्रिय भए। जसले मानेन त्यसलाई उनी मन्त्री बस्नेतको नाम लिएर थर्काउने मात्रै हैन सरुवा समेत गराउन सक्रिय भए।

बनाएकै स्पेशिफिकेशनमा सही गर्न दबाबनमानेपछि जागिर चैट

अस्पतालमा डा. सिंह निमित्त मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएपछि सिटी खरिदका लागि निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा अर्थोपेडिक सर्जन डा. सिंहकै संयोजकत्वमा २०८० साउन १६ गते तीन सदस्यीय खरिद समिति बन्यो।

सो समितिमा दन्त चिकित्सक डा. सर्जु श्रेष्ठ र स्टोर प्रमुख गोविन्द बहादुर शाही सदस्य थिए।

खरिद समितिले तुरुन्तै सिटी स्क्यान खरिदका लागि स्पेशिफिकेशन बनाउनका लागि अस्पतालका दन्त चिकित्सक (मुख चिकित्सा तथा रेडियोलोजीष्ट) डा. सर्जु श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय खरिद इकाई उपसमिति गठन गर्यो। उपसमितिमा त्रिशूली अस्पतालमा नै कार्यरत बायोमेडिकल इन्जिनियर प्रदीप घिमिरे र बायोमेडिकल टेक्निसियन अनु नेपालीलाई राखियो।

खरिद एकाइ उपसमिति गठन हुनासाथ २०८० साउन १८ गते खरिद एकाइ उपसमितिका संयोजक डा. श्रेष्ठले पत्र लेख्दै बायोमेडिकल इन्जिनियर घिमिरे र बायोमेडिकल टेक्निसियनलाई तीन दिन भित्र सिटी स्क्याक्न मेसिनको स्पेशिफिकेशन पेस गर्न निर्देशन दिएका थिए।

डा. श्रेष्ठले घिमिरे र नेपालीलाई लेखेको पत्रमा ‘त्रिशूली अस्पतालमा आर्थिक वर्ष २०८०-८१ को लागि बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयबाट प्राप्त बजेट नम्बर पीएलएमबीआईएस ११.३.२२ को अन्य उपकरण तथा मेसिन औजारको ११.३.२२.१८ मा अस्पतालका लागि सिटी स्क्यान मेसिन खरिद गर्नुपर्ने भएको’ उल्लेख छ।

‘तपाइँहरुलाई खरिद एकाइले स्पेशिफिकेशन उपसमितिमा मनोनीत गरेको हुँदा आजको मितिबाट तीन दिन भित्रमा यस खरिद एकाइलाई सिटी स्क्यान मेसिनको स्पेशिफिकेशन पेस गर्नु हुन अनुरोध गर्दछु,’खरिद एकाइका उपसमितिका संयोजक डा. श्रेष्ठले घिमिरे र नेपालीलाई साउन १८ गते लेखेको पत्रमा उल्लेख छ।

तीन दिनमा अस्पतालका लागि कस्तो सिटी स्क्यान मेसिन चाहिने हो त्यसको प्राविधिक स्पेशिफिकेशन बनाउन सम्भव थिएन। उनीहरूसँग चाहेको स्पेशिफिकेशन तयार थियो।

निश्चित कम्पनीको सिटीसँग मिल्नेगरि बनाइएको प्राविधिक स्पेशिफिकेशन पारित गर्न प्रशासनिक प्रक्रिया पुर्याउन मात्र उनीहरूले समिति बनाएका थिए।

डा. श्रेष्ठले साउन १८ गते बायोमेडिकल इन्जिनियर घिमिरे र बायोमेडिकल टेक्निसियन नेपालीलाई तीन दिनभित्र स्पेशिफिकेशन बुझाउन पत्र लेखेको दुई दिन अघि (साउन १६ गते) अनौपचारिक रूपमा घिमिरेलाई सिटीको बनिबनाउ स्पेशिफिकेशन नै पठाइसकेका थिए।

सिटीको स्पेशिफिकेशन पठाएको भोलिपल्ट बायोमेडिकल इन्जिनियर प्रदीप घिमिरेलाई खरिद एकाइ उपसमितिका संयोजक डा. श्रेष्ठले म्यासेजमा ,‘स्पेशिफिकेशन (साउन) १९ गते भित्रै बुझाउनुपर्ने भयो प्रदीप सर, माथिबाटै अर्डर आएको छ, अनु म्यामलाई नि इन्फर्म गरिदिनु है’ भन्दै साउन १७ गते म्यासेज पठाए।

यस्तो म्यासेज गरेपछि बायोमेडिकल इन्जिनियर घिमिरेले डा. सर्जुलाई म्यासेजको रिप्लाई गर्दै लेखे,‘सरी सर, यो स्पेशिफिकेशन अर्को फ्राइडे (साउन २६ गते) भन्दा अगाडी पोसिबल भएन। यो स्पेशिफिकेशन फल्टली अर इन्कम्प्लेट छ। त्यसैले इडिट नगरी प्रोसेड्युर गर्न सकिँदैन।’

त्यसपछि डा. श्रेष्ठले  बायोमेडिकल इन्जिनियर घिमिरेलाई,‘के–के थप्नु वा इडिट गर्नु पर्ने हो, मलाई फल्टली प्वाइन्ट लिस्ट गरेर पठाइदिनु’ भनेका थिए।

तर, डा. श्रेष्ठले एकातर्फ बायोमेडिकल इन्जिनियरलाई करिब २४ घण्टा भित्रमा साउन १९ गते भित्र स्पेशिफिकेशन बुझाउन दबाब आएको म्यासेज पठाएका थिए। अर्कोतर्फ साउन १८ गते औपचारिक पत्र नै लेखेर तीन दिन भित्र स्पेशिफिकेशन बुझाइसक्न निर्देशन दिएका थिए। यसबाट नै सिटी खरिदका लागि त्रिशूली अस्पतालको टिमले स्पेशिफिकेशन बनाएको नभई प्रशासनिक प्रक्रिया मात्रै पूरा गरेको पुष्टि हुन्छ।

खरिद एकाइ उपसमितिका डा. श्रेष्ठले तीन दिन भित्र सिटीको स्पेशिफिकेशन बनाउन निर्देशन दिएपछि बायोमेडिकल इन्जिनियर घिमिरेले तीन दिनभित्र स्पेशिफिकेशन बनाउन नसकिने जानकारी गराए।

बायोमेडिकल इन्जिनियर घिमिरेले सप्लायर्सबाट ल्याइएको तयारी अवस्थाको स्पेशिफिकेशनमा त्रृटी देखाएर हस्ताक्षर गर्न नमानेपछि घिमिरेलाई हटाएर उनको ठाउँमा अर्कै कर्मचारीलाई खरिद एकाइको उपसमितिमा राखियो। तर, घिमिरेलाई उपसमितिबाट हटाएकोबारे औपचारिक जानकारी दिइएन।

योजना अनुसार बनाइएको प्राविधिक स्पेशिफिकेशनमा हस्ताक्षर गर्न नमानेको भन्दै बायोमेडिकल इन्जिनियर घिमिरेलाई त्रिशूली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिंहले जागिरबाटै निकालिदिए।

बायोमेडिकल इन्जिनियर घिमिरे निक साइमन्स इन्स्टिच्युट (एनएसआइ) ले अस्पताललाई सहयोग स्वरूप उपलब्ध गराइएका कर्मचारी थिए। त्यसैले निक साइमण्ड इन्स्टिच्युट (एनएसआई) लाई भदौ २९ गते पत्र लेख्दै डा. सिंहले उनलाई अस्पतालको सेवाबाट निकाले।

उनको करार अवधि असोजमा सकिँदै थियो।  डा सिंहले ‘यस त्रिशूली अस्पतालमा स्थायी दरबन्दी अन्तर्गत बायोमेडिकल टेक्निसियन कार्यरत रहेकाले यस अस्पतालमा बायोमेडिकल इन्जिनियरको म्याद थप गर्न नसकिने ब्यहोरा जानकारी गरिन्छ,’ भन्दै निक साइमण्डलाई पत्र पठाए।

बायोमेडिकल इन्जिनियर घिमिरे निक साइमन्सका करारमा त्रिशूली अस्पतालमा पठाइएका कर्मचारी भएकाले उनी निकसाईमन्सबाट नै तलब-भत्ता बुझ्थे। घिमिरेलाई त्रिशूली अस्पतालमा काम गराएबापत अस्पतालले कुनै आर्थिक भार बेहोर्नुपर्दैनथ्यो।

अस्पतालमा स्थायी दरबन्दी अन्तर्गत बायोमेडिकल टेक्निसियन कार्यरत रहेको भन्दै डा. सिंहले घिमिरेलाई हटाए तर, बायोमेडिकल टेक्निसियनको तुलनामा बायोमेडिकल इन्जिनियरिङ विशेषज्ञ तहको अध्ययन हो। यदि बायोमेडिकल टेक्निसियनले नै काम चल्ने भए बायोमेडिकल इन्जिनियर नै किन पढ्नुपर्यो र! बायोमेडिकल इन्जिनियर घिमिरेलाई हटाएपछि डा. श्रेष्ठको संयोजकत्वमा बनेको सिटी स्क्यान मेसिनको खरिद एकाइ उपसमितिमा अस्पतालका एक्स–रे विभागका इन्चार्ज राजु सिंहलाई राखियो। डा. श्रेष्ठ, नेपाली र इन्चार्ज सिंहको खरिद स्पेशिफिकेशन उपसमिति बन्यो। त्यसपछि सिटी खरिदको लागि स्पेशिफिकेशन तथा खरिदको थप प्रक्रिया अगाडी बढाइयो।

डा. सर्जु श्रेष्ठ रेडियोलोजी विशेषज्ञ हैनन्। उनी प्रत्यक्षरुपमा सिटीको प्रयोगकर्ता पनि हैनन्। त्यसैले सिटीको स्पेशिफिकेशन बनाउँदा एक जना बायोमेडिकल इन्जिनियर र रेडियोलोजिष्ट अनिवार्य चाहिनुपर्ने हो। तर यी दुवैलाई नराखी सिटीको प्राविधिक स्पेशिफिकेशनमा हस्ताक्षर गरेर फायल अगाडी बढाइयो।

बायोमेडिकल इन्जिनियर घिमिरेलाई हटाएपछि पुनर्गठित उपसमिति र खरिद इकाई समितिले सिटी स्क्यान मेसिनको स्पेशिफिकेशन पास गर्यो।

त्यसपछि उपसमिति र समितिबाट पास भएको सिटी स्क्यान मेसिनको प्राविधिक स्पेशिफिकेशन बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रकी बायोमेडिकल इन्जिनियर सन्दिपा खड्कालाई हस्ताक्षर गराएर अनुमोदन गराइयो।

बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर नेलशन महत छँदै थिए। तर, उनलाई स्पेशिफिकेशनमा हस्ताक्षर गराइएन।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रकै करार जागिरेका रूपमा कार्यरत बायोमेडिकल इन्जिनियर सन्दिपा खड्कालाई सिटी खरिदको सो स्पेशिफिकेशनमा हस्ताक्षर गराइयो। सन्दीपा खरिद मिलेमतोकै योजनाकार निकट कर्मचारी थिइन्।

एकातर्फ बायोमेडिकल इन्जिनियर नै चाहिँदैन भन्दै घिमिरेलाई हटाइयो। अर्कातर्फ बायोमेडिकल इन्जिनियर खड्काबाट सिटी खरिदका लागि तयार भएको स्पेशिफिकेशन अनुमोदन गराइयो।

त्यसपछि हतारहतार त्रिशूली अस्पतालले २०८० असोज दुई गते (२०२३, सेप्टेम्बर १९) मा सिटी स्क्यान मेसिन खरिदका लागि टेन्डर आह्वान भयो।

यस्तै मेसिन सिन्धुली र भक्तपुर अस्पतालमा पनि किन्ने समूहको योजना थियो। त्यसको पहिलो परीक्षण त्रिशूलीमा गरिएको थियो।

यो समूहमा स्वास्थ्यमन्त्री बस्नेत, बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, बनमन्त्री मसिना खड्का, प्रदेश स्वास्थ्य सचिव बद्रीबहादुर खड्का, त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष राजु पण्डित, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतीक सिंह प्रत्यक्ष संलग्न देखिए। सिटी खरिदमा यति धेरै मिहेनत गर्नुको कारण टेन्डर सिन्धुपाल्चोकका मेडिकल सप्लायर्सलाई दिनु थियो जो मसिनाको पारिवारिक सदस्य समेत हुन्। तीन वटा सिटीमा नौ करोड रकम निस्किने गरी बजेट मिलाइसकेका थिए।  

योजना अनुसारै त्रिशूली अस्पतालले कात्तिक ११ मा सूचना जारी गरेर जोइन्ट भेन्चर ‘ग्लोबल मेडिटेक इन्टरनेश्नल प्रालि, लिड सिन्धु सर्जिकल कन्सर्न प्रालि, सब ग्लोबल मेडिटेक इन्टरनेश्नल प्रालि’ लाई सिटी स्क्यान मेसिनको ठेक्का दिएर खरिद सम्झौता गर्ने अन्तिम तयारी गर्यो।

योबिचमा उकेराले खरिदमा भइरहेको खेलबारे निरन्तर प्रमाणसहित समाचार प्रकाशित गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग खरिद अनुसन्धानमा छिर्यो। बिचमा मन्त्री जोशी र स्वास्थ्य सचिव खड्काबिच मनमुटाब बढ्दा सचिवको सरुवा नै भयो। उनी अदालत गएर पुन आफ्नै पदमा फर्किए।

योजना अनुसारै टेन्डर सूचना निकालिए पनि सम्झौता भने भइसकेको छैन।

क्यानन–तोसिवा एउटै कम्पनीका दुई ब्रान्च हुन्। क्यानन जापानी मेसिन हो। हिटाची–फूजीको नेपाली सप्लायर्स (फर्म)‘क्यापिटल इन्टरप्राइजेज’ हो भने यसका मालिक जयकृष्ण श्रेष्ठ हुन्।

क्यानन–तोसिवाको आधिकारिक नेपाली सप्लायर्स (कम्पनी) ‘मेट्रोनिक्स नेपाल प्रालि’ हो। यसका प्रमुख धिरज थपलिया हुन्। सिन्धु सर्जिकलका मालिक यज्ञ भण्डारी हुन्।

जिम्मेवारी माग्दा अस्पतालबाटै सरुवा

उकेरालाई प्राप्त तथ्य अनुसार त्रिशूलीको सिटी स्क्यानको खरिद प्रक्रिया अगाडी बढ्ने तयारी भइरहँदा असारमा डा. अच्युत पौडेल नवौँ तहको स्थायी नियुक्त भएर त्रिशूली अस्पताल पुगेका थिए। जुनबेला दसौँ डा. पाण्डेलाई हटाइएपछि आठौँ डा. सिंह निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत थिए।

आफूभन्दा जुनियर तहको चिकित्सक त्रिशूलीको अस्पताल प्रमुख भएकाले नवौँ तहको डा. पौडेलले वरियताक्रमअनुसार कर्मचारी व्यवस्थापन नभएको भन्दै आफू सिनियर भएकाले आफूलाई अस्पतालको प्रमुख बनाउनुपर्ने माग राख्दै भदौ ३१ गते र असोज १५ गते बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएका थिए। त्यसपछि असोजमा बागमतीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै त्रिशूली अस्पताल लगायत विभिन्न अस्पतालहरूमा वरिष्ठ कर्मचारीलाई जिम्मेवारीविहीन राखी कनिष्ठ कर्मचारीलाई कार्यालय प्रमुखको जिम्मेवारी दिई राखिएको भन्ने निवेदन दर्ता भएकाले सो सम्बन्धमा यथार्थ विवरण तीन दिन भित्रमा उपलब्ध गराउन आदेश दियो।

तर,त्रिशूली अस्पतालमा वरिष्ठताका आधारमा अस्पताल प्रमुख नियुक्त गर्न सुनुवाइ भएन। बरु वरिष्ठताका आधारमा जिम्मेवारी माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएका डा. पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले कात्तिक १६ गते त्रिशूली अस्पतालबाट काजमा सिन्धुली अस्पताल सरुवा गरिदियो। त्यसपछि डा. पौडेल सिन्धुली गएर काम गरिरहेका छन्।

मन्त्री र सचिवबीच खटपट, टेन्डर छानबिनमा टेन्डर

उकेरामा निरन्तर समाचार प्रकाशित भएपछि सूचना चुहाएको भन्दै स्वास्थ्यमन्त्री जोशीले स्वास्थ्य सचिव खड्कामाथि शङ्का गरे। शङ्का बढ्दै जाँदा दुबैबिच मनमुटाब नै बढ्यो।

त्रिशूली अस्पताल निमित्त सुपरिटेन्डेन्ट डा. सिंहलाई स्पष्टीकरण सोधेको र सो विषय मिडियालाई दिएको भन्दै जोशी खड्कासँग रिसाएका थिए।

अनि स्वास्थ्यमन्त्री जोशीले प्रदेश स्वास्थ्य सचिव बद्रीबहादुर खड्कालाई मन्त्रालयबाट मुख्यमन्त्री कार्यालयमा सरुवा गराए।

उनको स्थानमा दसौँ तहको दीपक तिवारीलाई निमित्त सचिवको जिम्मेवारी दिए। प्रारम्भमा सचिव खड्का समेत मिलेमतोमा खरिद गर्ने समूहमै थिए। उनले बायोमेडिकल इन्जिनियर पठाउने लगायतका काममा मिलेमतोमा रहेका समूहलाई सघाएका नै थिए।

उकेरामा निरन्तर प्रमाणसहित यो प्रकरण सम्बन्धी समाचार सार्वजनिक भएपछि छानबिन भए फसिने देखेर कारबाहीबाट जोगिन सचिव खड्काले त्रिशूली अस्पतालका प्रमुखलाई स्पष्टीकरण सोधेका थिए।

सचिव खड्काले सिटीको प्राविधिक स्पेशिफिकेशनको छानबिनका लागि समिति गठन गर्न खोजेका थिए। तर मन्त्री जोशीले पर्दैन भन्दै एक जना (बायोमेडिकल इन्जिनियर)लाई मात्र मौखिक जिम्मा दिए। प्रारम्भिक अनुसन्धानमा खरिद प्रक्रियामा त्रुटि देखिएपछि स्वास्थ्य मन्त्रालयले मंसिर १७ गते तीन सदस्यीय छानबिन समिति गठन गरेर छानबिन गराएको थियो।

सचिव खड्काले त्रिशूली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रतीक सिंहसँग स्पष्टीकरण सोधेपछि विशेष गरी मन्त्री जोशीसँगै बनमन्त्री मसिना खड्का समेत उनीसँग रिसाएकी थिइन्।

डा. सिंहलाई स्पष्टीकरण सोधेपछि प्रदेश स्वास्थ्य मन्त्री जोशी र खड्काबिच खटपट सुरु भयो। अख्तियारले छानबिन सुरु गर्दै पत्र पठाएको समाचार बाहिरिएपछि जोशी सचिवसँग झन् रिसाए।

सचिव खड्कालाई मंसिर १२ को मन्त्रिपरिषद्को निर्णय अनुसार १५ गते पत्र लेख्दै ११ औँ तहको खड्कालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौँडामा सरुवा गराए।

अनि प्रदेश स्वास्थ्य मन्त्रालयमा कार्यरत दसौँ तहको दीपक तिवारीलाई निमित्त सचिवको जिम्मेवारीसँगै मंसिर २० गते मन्त्रिपरिषद्को बैठक बसेर तिवारीको बढुवा गर्दै स्वास्थ्य सचिव बनाए।

सचिव खड्का  सर्वोच्च अदालतमा रिट बोकेर गए अनि मंसिर २८ मा अन्तरिम आदेशबाट स्वास्थ्य मन्त्रालयमै फर्किए। फर्किएपछि स्वास्थ्यमन्त्री जोशी र खड्काबिच चिसिएको सम्बन्ध सुधार भएको देखिएन। दुबैबिच खटपट जारी नै छ। दुवैबिचको खटपटले त्रिशूलीको सिटी स्क्यानको टेन्डर स्वीकृत रोकिएको छ। तर टेन्डर रद्द भइसकेको छैन।

मन्त्री र सचिवबिच मेलमिलाप गराएर योजना सफल बनाउन सप्लायर्सदेखि केन्द्रका मन्त्रीसम्म अझैँ सक्रिय नै छन्।

सम्बन्धित समाचार

पुष १०, २०८० मंगलबार २२:०४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।