अरूले पिठो बेचे, माओवादीले राम्रो चामल पनि बेच्न नजानेपछि अपजस खेप्नुपर्यो : प्रचण्ड

अरूले पिठो बेचे, माओवादीले राम्रो चामल पनि बेच्न नजानेपछि अपजस खेप्नुपर्यो : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले आफ्नै नेतृत्वको सरकारले गरेको कामलाई राम्ररी प्रचार गर्न नसकेको बताएका छन्।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शनिबार बुढानीलकण्ठमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले अरू पार्टीहरूले नगरेका कामलाई पनि गरेँ भनेर प्रचार गर्दा माओवादीले गरेका कामलाई पनि प्रभावकारी रूपमा प्रचार गर्न नसकेको बताएका हुन्।

उनले आफू पहिलो प्रधानमन्त्री बन्दा मध्यपहाडी लोकमार्ग निर्माण, ३० हजार जनाको ऋण मिनाहा, १ लाख भन्दा बढीको ब्याज मिनाहा गरेको, दोस्रो पटक प्रधानमन्त्री बन्दा नेपाललाई लोडसेडिङमुक्त देश बनाएर उज्यालो नेपाल अभियानको थालनी गरेको, यसपालि तेस्रो पटक प्रधानमन्त्री हुँदा आगामी डेढ वर्षपछि सिंगो देशभित्र एउटा पनि विद्युत नपुगेको घर नहुने गरी काम गरेको भएपनि प्रचार हुन नसकेको बताए।

सुशासन सामाजिक न्याय र सम्बृद्धिको नयाँ अभियान चलाइएको र त्यसअन्तर्गत मिटरब्याजीहरू विरुद्ध आयोग र ऐन बनाए कारबाही गरी लाखौं किसानहरूलाई मिटरब्याजबाट मुक्त गरिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

‘यति ठूलो काम पनि राम्रोसँग बिक्री गर्न सकेनौँ, अरूले नगरेको कामपनि गरे जसरी प्रचार गर्छन्। हामीले गरेको पनि गरेको भन्न सकेनौँ,’ उनले भने। ‘अरूले पिठो बेचे, माओवादीले राम्रो चामल पनि बेच्न नजानेपछि अपजस खेप्नुपर्यो।’

नागरिकताको समस्या समाधानदेखि भारतलाई १० हजार मेघावाट विद्युत बेच्ने सम्झौता, १० हजार ८०० मेघावाटको कर्णाली-चिसापानी परियोजना, बुढिगण्डकी जलविद्युत आयोजना पुनः सुरू, उत्तरका नाका खोल्ने लगायतका थुप्रै कामहरू भएको उनको भनाइ छ।

यसपालि जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय रूपमा पनि आफू नेतृत्वको सरकारले नेपाली जनताको पक्षमा ठूलो लडाइँ लडेको प्रधानमन्त्री प्रचण्डले बताए।

२५ वर्षदेखि लावारिस भएर बसेको पञ्चेश्वर आफ्नै नेतृत्वको सरकारले टुंगो लगाएको उनले बताए। ‘ऐतिहासिक काम भएका छन्। जुन अहिलेसम्म कसैले गर्न सकेको थिएन,’ उनले भने।

७ पुस, २०८०, १८:२२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।