संघीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ, नयाँ संसद अधिवेशन बोलाएपछि संसदबाट पारित गराउन पहल हुन्छ : प्रधानमन्त्री

संघीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ, नयाँ संसद अधिवेशन बोलाएपछि संसदबाट पारित गराउन पहल हुन्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

शनिबार दिउँसो काठमाडौंको सीतापाइलामा एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

उनले भने, ‘तपाईँहरू धेरैलाई सङ्घीय शिक्षा ऐन के हुन्छ भन्ने जिज्ञासा छ। अहिले संसद अधिवेशन समापन भएको छ। नयाँ अधिवेशन बोलाएपछि पहिलो काम नै सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी ऐन र संघीय शिक्षा ऐन संसदबाट पारित गराउन पहल हुन्छ। यो ऐन सरकारको उच्च प्राथमिकतामा छ।’

‘तपाई शिक्षकहरूले आफ्ना माग र मुद्दा सम्बोधन गर्न सडकबाट समेत दवाव दिनुभयो। यसले सरकारलाई सहयोग पुगेको छ’ प्रधानमन्त्रीले भने, ‘तपाईहरूले अहिलेको मस्यौदामा जुन सुझावहरू दिनुभएको छ, त्यसमध्ये जायज र सम्भव मागहरू सम्बोधन गरिनेछ।’

७ पुस, २०८०, १६:२१:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।