तीन लाख ‘रेट’ तोकेर मानव तस्करी : प्रहरीदेखि अध्यागमन र एयरलाइन्सका कर्मचारीलाई समेत छुट्याइन्छ भाग

तीन लाख ‘रेट’ तोकेर मानव तस्करी : प्रहरीदेखि अध्यागमन र एयरलाइन्सका कर्मचारीलाई समेत छुट्याइन्छ भाग

काठमाडौं : भिजिट भिसाको आवरणमा सुरक्षाकर्मी, अध्यागमन र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा मानव तस्करी हुने गरेको खुलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानमा यस्तो देखिएको हो।

कार्यालयमा भिजिट भिसामा लगेको र अलपत्र बनाएर छोडेको भन्ने उजुरी आइरहेकै थियो। गत असोज १९ गते भने मानव तस्करीमा गिरोह नै सक्रिय भएको सूचना आयो।

त्यही सूचनाको आधारमा अनुसन्धानमा खुल्दै गएको तथ्य देखेर प्रहरी नै छक्क पर्यो। प्रहरीले सोच्दै नसोचेको तहमा मानव तस्करी भइरहेको फेला पर्यो।

असोज १९ गते आएको सूचनाको आधारमा अनुसन्धान गर्दा कात्तिक १२ गते भिजिट भिसामा खाडी पुर्याउन सक्रिय केही व्यक्तिलाई प्रहरीले पक्रियो पनि।

कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार अझै जाहेरी आउने क्रम बढिरहेको छ।

‘अहिलेसम्म ३६ जना पक्राउ परे, ३ सय जना भन्दा बढीको जाहेरी आएको छ,’ उनले भने, ‘यो त संगठित अपराध नै देखियो। ट्राभल्स एण्ड टुर, अध्यायगमन कार्यालयका कर्मचारी, नेपाल एयरलाइन्सका कर्मचारी समेत मिलेर सोझा साझा नागरिकलाई सिधै ठगेको देखियो।’

प्रहरीले दिएको जानकारी अनुसार मानव तस्करीमा सुरक्षाकर्मी, अध्यागमन र नेपाल एयरलाइन्सका कर्मचारीबाहेक ८ वटा ट्राभल कम्पनी, ४ वटा कन्सल्टेन्सी र बाँकी दलालहरू रहेको देखिएको छ।

अन्ट्राटिक ट्रिप, रोलेक्स ट्राभल्स, एण्ड होलिडे टुर्स एण्ड ट्राभल, एच आर टुर्स एण्ड ट्राभल्स, स्काइ टुर्स एण्ड ट्राभल्स, मञ्जरी टुर्स एण्ड ट्राभल्स, एडभिका टुर्स एण्ड ट्राभल्स र निमा छिरिङ ट्राभल्स टुर्सं एण्ड ट्राभल्स मानव तस्करीमा संलग्न देखिएको प्रहरीले जनाएको छ।

७० देखि ८० हजार लिन्थे दलाल
एण्ड होलिडेज टुर एण्ड ट्राभल्समा कार्यरत एक कर्मचारीले दिएको बयान अनुसार टुरका कर्मचारीले टिकट काट्ने र एयरपोर्टभित्रको सम्पूर्ण प्रक्रिया मिलाउने काम गर्थे।

उनीहरूले अध्यागमका कार्यालयका अधिकृत नरोबर खड्कालाई नामवली पठाउने गर्थे। सोही नामावली अनुसार खड्काले काम गर्थे।

खड्काले एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पार गराइदिए बापत १६ हजार लिन्थे। उनैले एयरलाइन्सको कर्मचारीको सेटिङको लागि भनेर थप १५ हजार पनि लिने गरेको ती टुरका कर्मचारीले बयानमा बताएका छन्।

उनका अनुसार त्यसरी अहिलेसम्म ३० देखि ४० जनालाई भिजिट भिसामा पठाइसकेका छन्।

त्यस्तै गौशालास्थित अन्टार्टिक अनलाइन ट्राभल एजेन्सीका सञ्चालक मनुराज चौधरीले दिएको बयान अनुसार नेपाल एयरलाइन्सका शाखा अधिकृत अरबिन्द यादवले बोर्डिङ पास मिलाइदिए बापत २५ देखि ३० हजार सम्म ह्याण्ड क्यास लिन्थे।

चौधरीको बयान अनुसार अहिलेसम्म यादवले १२ लाख रुपैयाँ लिइसकेका छन्। त्यस्तै नेपाल एयरलाइन्सकै होम पोखरेल समेत यही कार्यमा सक्रिय भएको उनले बयानमा बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारी, सिफ्ट परिवर्तन भएपिच्छेका नेपाल एयरलाइन्सका कर्मचारीलाई मानव तस्करमा सक्रिय गिरोहले घुस खुवाउने गरेको पाइएको प्रहरी अनुसन्धानमा खुलेको छ।

त्यस्तै गेटमा खटिएका सुरक्षाकर्मीलाई समेत औसतमा १० हजार घुस दिने गरेको पाइएको अनुसन्धानले देखाएको छ।

अनुसन्धान गरिरहेका अधिकृतका अनुसार नक्कली कागजात बनाउने एक समूह, अध्यागमनका कर्मचारी, नेपाल एयरलाइन्सका कर्मचारी र गेटैमा खटिएका सुरक्षाकर्मीलाई समेत गरेर घुस खुवाउन मात्रै ७० देखि ८० हजारसम्म खर्च गरेको देखिएको बताए।

‘भिजिट भिषामा दुबई, कतार, सिंगापुर, मलेसिया कुबेत लगेको देखियो। टार्गेटमा महिलाहरू पनि रहेको छन्,’ ती अनुसन्धान अधिकृतले भने, ‘एक व्यक्तिसँग २ देखि ३ लाख असुल्ने र सेटिङ मिलाएबापत ७० देखि ८० हजार सम्म असुल्ने गरेको पनि देखियो।’

प्रहरीको रिपोर्टदेखि शैक्षिक सर्टिफिकेटसम्म नक्कली
भिजिट भिसामा दुबई पुगेर फर्केकी झापाकी एक युवतीले आफूसँग भएको नक्कली डकुमेन्ट पनि जाहेरीमा पेश गरेकी छन्।

ती युवतीसँग भएको प्रहरी रिपोर्ट, एसएलसी र कक्षा १२ पास गरेको लब्धांक पत्र र चारित्रिक प्रमाण पत्र सबै नक्कली हुन्। ती युवतीले एसएलसीसमेत पास गरेकी छैनन्। सबै कागजात दलालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइदिएको युवतीले बताइन्।

प्रहरी निरीक्षक राजेश शाक्यले उनको पुलिस रिपोर्टमा हस्ताक्षर गरेका छन्। उनी कहाँको प्रहरी निरीक्षक हुन्, अनुसन्धानको क्रममा कतै पनि नखुलेको अनुसन्धानमा खटिएका प्रहरी अधिकृत बताउँछन्। यो प्रमाण पत्र २३ सेप्टेम्बर २०२३ मा नै जारी भएको देखिन्छ।

त्यस्तै उनको नक्कली सर्टिफिकेटहरू हेर्दा २०७८ सालमा एसएलसी पास गरेको लब्धाङ्क पत्र छ। जबकी २०७८ सालमा एसएलसी परिर्वतन भएर एसईई एकै ६ वर्ष भइसकेको थियो। शैक्षिक प्रमाणपत्र बनाउनेहरू पनि अर्काे समूह रहेको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रहरीले दिएको जानकारी अनुसार दैनिक दुई सयदेखि तीन सय जना भिजिट भिषाको आवरणमा तस्करीमा पर्ने गरेका छन्। सबै तहको सेटिङमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल पार गरेको प्रहरी अनुसन्धानमा देखिन्छ।

निकम्मा गृह प्रशासन 
केही समयअघि भिजिट भिसाको आवरणमा मानव तस्करी हुने गरेको खुलेपछि गृह मन्त्रालयले ६ वटा मापदण्ड पूरा गरेर जानुपर्ने बतायो। यसले पनि काम नगरेपछि बुँदा बढाएर १७ वटा पुर्याइयो।

ती बुँदाहरूमा भिजिट भिसामा कस्तो व्यक्ति जान पाउने भन्ने उल्लेख गरिएको थियो। खाडी मुलुकमा भिजिट भिसामा जान दुई पटक विदेश यात्रा गरेको, न्यूनतम दुई वर्षभन्दा बढी समय विदेशी मुलुकमा समय बिताएको, आधारभूत तह पास गरेको, अंग्रेजी जानेको, नातेदारको प्रमाण पत्र खुलाउनुपर्ने जस्ता शर्तहरू थिए।

यसका अतिरिक्त विद्यार्थी, सरकारी कर्मचारी, व्यापारी लगायतका हरेक क्षेत्रका मानिसहरूका लागि छुट्टाछुट्टै नियम पनि बनायो। तर पनि नक्कली काजजात बनाएर मानव तस्करी हुने क्रम रोकिएको छैन। यसलाई गृह मन्त्रालयकै अधिकारीहरू समेत स्वीर्काछन्।

‘शर्तका बुँदा ६ बाट १७ पुर्याउँदा पनि मानव तस्करी रोकिएको छैन, प्रहरीले अनुसन्धान गर्दैछ,’ गृह मन्त्रालयका प्रवत्ता नारायण प्रसाद भट्टराई भन्छन्, ‘के-के कारणले समस्या देखिएको छ भन्नेबारे अनुसन्धानपछि टुंगोमा पुग्छौँ र अर्काे नियम त ल्याउँछौँ नै।’

अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरे तापनि मुद्दा दर्ताको काम जिल्ला प्रहरी परिसर, काठमाडौं टेकुले गर्ने गर्छ। आजसम्म अपराध अनुसन्धान कार्यालयले ३६ जनालाई पक्राउ गरिसकेको छ भने सेटिङमा खाडी जान लागेका १ हजार ५ सय यात्रुको पासपोर्ट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। 

६ पुस, २०८०, ०९:४७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।