जब सांसदहरूले प्रधानमन्त्रीलाई सोधे– एनसेल प्रकरणमा प्रधानमन्त्रीको परिवार जोडिएको आरोप छ नि?

जब सांसदहरूले प्रधानमन्त्रीलाई सोधे– एनसेल प्रकरणमा प्रधानमन्त्रीको परिवार जोडिएको आरोप छ नि?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिएका छन्।

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्रीका विषयमा छलफल गर्न समितिले प्रधानमन्त्रीलाई बोलाएको बैठकमा सांसदहरूले प्रधानमन्त्रीलाई विभिन्न प्रश्न सोधेका थिए।

एनसेल प्रकरणमा प्रधानमन्त्रीकै परिवारको संलग्नतासम्बन्धी आरोपका विषयमा पनि प्रश्न गरिएको छ।

प्रधानमन्त्री प्रचण्डलाई समितिका सदस्य अजय चौरसियाले भने, ‘खरिद–बिक्रीमा ठूलो अन्तर छ। धेरै कुरा प्रधानमन्त्रीको परिवारसँग जोडिएर आएको छ। छानबिन होस्।’

त्यस्तै, अर्की सदस्य अम्बिका बस्नेतले भनिन्, ‘सुशासन कायम गरेर आर्थिक सम्बृद्धितर्फ बढ्नुपर्ने अवस्थामा एकपछि अर्को काण्ड छ। नेताको परिवारसँग जोडिन्छ। यसमा कति सत्य होला?’

‘प्रम हुने बित्तिकै सुशासन मेरो प्रतिबद्धता भन्नुभयो, एक वर्षमा यति धेरै काण्ड भए। कतिपय विषय र काण्ड टुंगो नलाग्दै अर्को आउँछ। अन्तर्राष्ट्रिय विमानस्थल तस्करहरूको अखडा भयो, अन्य देशले देख्दा के भन्छ?’, ईश्वरी न्यौपानेले सोधिन्, ‘प्रमको परिवार यसमा जोडिनुभएको छ भन्ने छ, के हो यो? समितिले ढाकछोप गर्छन् कि भन्ने छ? कसरी स्वीकृति नलिई बिक्री भयो?’

समितिमा कृष्णगोपाल श्रेष्ठ, चन्दा भण्डारीले सांसद अमरेश सिंहले भनेजस्तै एनसेल लगायतका प्रकरणमा प्रधानमन्त्रीपुत्री गंगाको संलग्नता भएको भए कार्वाही गरिनुपर्ने माग राखेका थिए।

३ पुस, २०८०, १४:१६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।