एनसेल प्रकरणको दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

एनसेल प्रकरणको दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको ८० प्रतिशत शेयर खरिदविक्री प्रकरणको दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले एनसेल खरिदबिक्री प्रकरण स्वभाविक नभएको निष्कर्ष निकाल्दै दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

‘स्वभाविक छैन यो खरिदबिक्री भन्ने देखिएकै हुनाले निर्देशन जारी गर्नुपरेको हो। कहिँ न कहिँ गलत छ भन्ने लागेकै हुनाले छानविन समिति बनाइएको हो,’ उनले भने, ‘त्यसमा कहिँ कतैबाट कानुनविपरीतका गतिविधि भएगरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध छ।’

प्रधानमन्त्री प्रचण्डले एनसेलको ८० प्रतिशत शेयर न्यून मूल्याङ्कन गरी खरिदबिक्री भएको विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफू गम्भीर रहेको बताए।

उनले थपे, ‘सरकारको नेतृत्वको हैसियतले मैले एकदमै गम्भीर रूपमा पहल गरेको छु। योसँग सम्बन्धित नियामक निकाय तथा राजनीतिक नेतृत्वलाई समेत राखेर छलफल चलाएँ। यसले के प्रभाव पार्छ भनेर गहन अध्ययन गर्न जरुरी रहेको भनेर मंसिर २१ गतेको बैठकबाट टङ्कमणि शर्माको नेतृत्वमा छानबिन समिति गठन भइसकेको छ।’

एनसेलबारे अध्ययन गर्न गत मंसिर २१ गतेको मन्त्रिपरिषद बैठकले  पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो।

पाँच सदस्यीय अध्ययन तथा छानविन समितिले एक महिनाको कार्यावधि पाएको छ।

३ पुस, २०८०, १२:५१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।