त्रिभुवन विश्वविद्यालयबाट राजनैतिक भागबण्डाको अन्त्य गर्दै मेरिटको आधारमा भिसी नियुक्ति गरिनेछ : प्रधानमन्त्री

त्रिभुवन विश्वविद्यालयबाट राजनैतिक भागबण्डाको अन्त्य गर्दै मेरिटको आधारमा भिसी नियुक्ति गरिनेछ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने बताएका छन्।

सोमबार त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विश्वविद्यालयबाट नै राजनैतिक भागबन्डाको अन्त्य गर्ने समेत प्रतिबद्धता जनाए।

नेपालमा आधारभूत शिक्षामात्र निःशुल्क नभइ विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाउने दिशामा काम गरिरहेको बताउँदै उनले आर्थिक हैसियत भएकाहरूको मात्र उच्च शिक्षामा पहुँच हुनु नहुनेमा जोड दिए। उच्च शिक्षा नीतिअनुरुप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै लगिएको उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘कतिपय विकसित देशहरूमा आधारभूत शिक्षामात्र निःशुल्क होइन, विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाइएको छ। हामी पनि सोही दिशामा अग्रसर भइरहेका छाँै। आर्थिक हैसियत भएकाहरूको मात्र उच्च शिक्षामा पहुँच हुनु हुँदैन भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ। विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने स्थिति हटाइ समतामुलक, सबै वर्ग, समुदायले उच्च शिक्षा सर्वसुलभ हुनुपर्दछ। यसका लागि उच्च शिक्षा नीतिअनुरुप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै लैजाने हाम्रो प्रयास छ। देशको सम्बृद्धिमा प्राविधिक जनशक्तिको महत्वपूर्ण योगदान रहन्छ। त्रिभुवन विश्वविद्यालयबाट नै राजनैतिक भागबण्डाको अन्त्य गर्ने र मेरिटको आधारमा भिसी नियुक्ति गर्ने प्रतिबद्धता जनाउँछु।’

२ पुस, २०८०, १५:५८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।