आफू विदेश गएर तल्लो स्तरको श्रम गर्न पनि अप्ठेरो नमान्ने अनि जो नेपाल बस्छ उसलाई गाली गर्ने? : प्रधानमन्त्री

आफू विदेश गएर तल्लो स्तरको श्रम गर्न पनि अप्ठेरो नमान्ने अनि जो नेपाल बस्छ उसलाई गाली गर्ने? : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा नकारात्मक कुरा गर्ने बानी बस्न थालेको र विदेश जाने फेसन चलेको बताएका छन्। घरपायक जागिर समेत छाडेर विदेश जाने र जो स्वदेशमा छ उसैलाई गाली गर्ने फेसन चलेको भन्दै उनले गाली मात्र गरेर देश नबन्ने बताए।

ललितपुर महानगरपालिकाको वार्षिक उत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘नेगेटिभ कुरा गर्ने बानी बस्न थाल्यो नेपालमा। पोजेटिभ कुरा नदेख्ने। सकारात्मक र उज्यालो तिर नहेर्ने। खाली अँध्यारो, खाली नकारात्मक।’

यस्तो भइराख्यो भने देश अग्रगमनतर्फ अघि नबढी पछाडि फर्किने उनको भनाइ छ।

‘हाइस्कुलका हेडमास्टर आफ्नै घरमा ७० हजार तलब। घरकै खाना खाएर जागिर छ। तर उनीहरू ५०, ६०, ७० लाख, करोड तिरेर विदेश जाने लहर चलेको छ। के हो यो?’ प्रचण्डले प्रश्न गरे, ‘रोजगारी नपाएर गाहो? त्यो भन्दा राम्रो रोजगारी के हुन्छ? आफ्नो घरमा बसेर, घरको खाना खाएर, ६०–७० हजार तलब, यो रोजगारी होइन?’

जतिसुकै चमत्कार भए पनि आफूहरूले आठ-दश वर्षमै अमेरिका या युरोपको जस्तो तलब दिन नसक्ने भन्दै प्रधानमन्त्री प्रचण्डले देश बन्न र बनाउन समय लाग्ने बताए। तर उर्वर जमिन बाँझो छाडेर र घरपायक जागिर छाडेर विदेश जानु गलत भएको उनको भनाइ छ।

‘नेपालमा यति धेरै उर्वर जमिन छ। जमिन बाँझो राख्दै हिँड्ने, भएको जागिर छोड्दै हिँड्ने। अझ बडो दुःखद बाटोबाट विदेश जाने, विदेशमा गएर बडो तल्लो स्तरको श्रम गर्न अप्ठेरो नमान्ने,’ प्रधानमन्त्री प्रचण्डले भने।

सरकारबाट जनताले अपेक्षा गरेअनुसार काम नभएको स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईँ हामी सबै भन्छौँ, दिनदिनै विदेश गाछन्। कसलाई गाली गर्या हामीले ? आजभोलि फेसन बनेको छ गाली गर्ने, जसले गर्न बल गर्दैछ, त्यसैलाई गाली गर्ने, जो नेपालमा बस्छ त्यसलाई गाली गर्ने, यो फेसन गलत छ।’

उनले रोजगारी सिर्जनाका काम गर्न तथा प्रदेश र स्थानीय तहलाई बलियो बनाउन आफू लागिपरेको बताए । त्यसका लागि छिट्टै नै संघीय निजामती सेवा ऐन, संघीय शिक्षा ऐन र प्रहरी समायोजन ऐन ल्याउन लागेको जानकारी पनि दिए ।

२ पुस, २०८०, १४:०३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।