पुस १० गते प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने

पुस १० गते प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं : आफू नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यही पुस १० गते राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।

आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको एक वर्षे समीक्षा स्वरूप प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेको जानकारी दिइन्।

‘सरकारको एक वर्ष पुग्दै छ। यसको समीक्षा स्वरूप प्रधानमन्त्रीज्यूले १० गतेको वरिपरि सम्बोधन गर्ने कुरा छ,’ उनले भनिन्, ‘त्यो सम्बोधनमा हाम्रो सीमा समस्या हामीले गर्न सकेका/नसकेका विषयमा चर्चा हुने छ।’

उनले सरकारले लय गुमायो कि भन्ने चिन्ता भए पनि परिस्थिति त्यस्तो नभएको दाबी गरिन्। सरकारको प्राथमिकता समृद्धि, सुरक्षा कायम गर्ने र सुशासन कायम गर्ने नै रहेको उनको भनाइ छ।

‘अवैध रूपमा सुनहरू आएका छन्, यसमा हामीले कानुनबमोजिम दण्ड गर्यौँ । तर सधैँभरि यस्तो रहँदैन,’ उनले भनिन्, ‘सरकार अविचलित रूपमा आफ्नो उद्देश्यमा केन्द्रित छ। कामहरू गर्दै जाँदा कुनै बेला आक्रामक वा कुनै बेला नियमित देखिन्छ।’

१ पुस, २०८०, १७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।