स्वास्थ्य सेवा विभागको साढे २ अर्बको अधिकांश टेण्डर मिलेमतोमा, सहजकर्ता यज्ञ भण्डारी, २० प्रतिशतसम्म कमिसन

स्वास्थ्य सेवा विभागको साढे २ अर्बको अधिकांश टेण्डर मिलेमतोमा, सहजकर्ता यज्ञ भण्डारी, २० प्रतिशतसम्म कमिसन

काठमाडौं : स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले २०८० साउन यता करिब दुई अर्ब ५० करोड  ६६ लाखको  मेसिन, उपकरण तथा औजार र स्वास्थ्य सामग्री लगायतको खरिदका लागि टेण्डर गरेको छ।

नयाँ आर्थिक वर्ष २०८०-०८१ सुरू भएपछि २०८० साउन एक गते (जुलाई १७, २०२३) बाट स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाले गरेको अधिकांश टेण्डर शङ्कास्पद देखिन्छ।

नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत गत वैशाख २० गते स्वास्थ्य मन्त्रीमा नियुक्त भएपछि दुई महिना ११ दिनलाई छोडेर हेर्ने हो भने साउन एक गतेबाट मन्त्रालय अन्तर्गतको निकायले निकालेको टेण्डरबारे उकेराले अध्ययन गर्दा अधिकांश ठूला टेण्डर शंकास्पद देखिएका छन्।

आर्थिक वर्ष २०८०-०८१ सुरू भएदेखि साउनयताको चार महिनामा दुई अर्ब ५० करोड ६६ लाख रकम बराबरको मेसिन, उपकरण, औजार तथा स्वास्थ्य सामग्री लगायत खरिदका लागि टेण्डर भइसकेका छन्।

मन्त्री बस्नेतको प्राथमिकता स्वास्थ्यको नीति र पूर्वाधार सुधारभन्दा खरिदमै बढी देखियो। खरिद प्रक्रियामा स्वास्थ्यमन्त्री बस्नेतदेखि, स्वास्थ्य सचिव डा. रोशन पोख्रेल, विभागकी महानिर्देशक डा. संगीता कौशल मिश्रा, व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्मा प्रमुख निर्णायक हुन्।

स्वास्थ्य मन्त्रालयको नेतृत्व बदलिएपछि स्वास्थ्य सामाग्री आपूर्तीकर्ता बदलिनु सामान्य नै हो। मन्त्री बस्नेत मन्त्रालयको नेतृत्वमा आएपछि खरिदमा यज्ञ भण्डारी, अक्कलबहादुर भण्डारी र आरएस भण्डारी हावी देखिएका छन्। उनीहरू मन्त्री बस्नेतकै जिल्ला अर्थात सिन्धुपाल्चोककै हुन्।

यी सबैको सम्बन्ध बागमती प्रदेशकी बनमन्त्री मसिना खड्कासँग समेत जोडिन्छ। मसिना स्वास्थ्यमन्त्री बस्नेत र प्रदेश अर्थमन्त्री बहादुर सिंह लामासँग निकट पात्र हुन्।

अन्यमा, विशाल पण्डित, पोष्टराज ज्ञवाली, सुन्दर भुषाल, मकुन्द गौतम, विमल उप्रेती लगायतका आपूर्तीकर्ताहरू समेत हावी देखिएका छन्। उनीहरूसँगको संयोजनको काम यज्ञ भण्डारीले गर्दै आएका छन्।

विशेषत: खरिदमा विशेष चासो राख्ने रोशन पोख्रेल पहिलादेखि नै मन्त्रालयको सचिव छँदैछन्। उनी स्वास्थ्यमन्त्री बस्नेत आउनु अगाडिबाटै मिलेमतोमा स्वास्थ्य सामाग्री खरिदमा जोडिदै आएका छन्। उनी संलग्न नभई केन्द्रको कुनै खरिद अगाडि बढ्नै सक्दैन।

खरिदमा महत्वपूर्ण भूमिका हुने स्वास्थ्य सेवा विभागमा महानिर्देशकका रुपमा डा. संगीतालाई मन्त्री बस्नेतले मन्त्रालयको अतिरिक्त सचिवबाट सरुवा गरेर लगेका हुन्।

व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्मा पहिलदेखि नै त्यहीँको प्रमुख छन्। व्यवस्थापन महाशाखा अन्तर्गत रहेको खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासिया टेण्डरमा परिचित पुरानै खेलाडी हुन्। मन्त्री बस्नेतले यी दुबैलाई सरूवा गरेका छैनन्।

मिलेमतोमा निश्चित कम्पनीका मेसिन तथा स्वास्थ्य सामग्रीसँग मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएको भन्दै केही टेण्डर सतर्कता केन्द्रको छानबिनमा परिसकेको छ।

विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा. शर्माका अनुसार साउन यता आह्वान भएका अधिकांश मेसिन, उपकरण, औजार तथा स्वास्थ्य सामग्री लगायत टेण्डरहरू प्रक्रियामै छन्।

‘३-४ वटा मात्रै टेण्डर स्वीकृत भएका छन्। अधिकांश टेण्डरहरू कुनै प्राविधिक तथा आर्थिक मूल्यांकनको चरणमा छन् त कुनै टेण्डर प्रक्रियाको अन्तिम चरणमा पुगेका छन्’ उनले भने।

व्यवस्थापन महाशाखाका निर्देशक डा. शर्माका अनुसार महाशाखाबाट यस अघिका वर्षमा सामान्यतः खरिदका लागि करिब दुई देखि अढाई अर्ब रकमको व्यवस्थापन हुन्थ्यो। तर यो वर्ष खरिदका लागि विश्व बैंकको तीन अर्ब ऋण थपिएको छ। त्यसैले यो (आर्थिक वर्ष २०८०-०८१) मा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखालाई खरिदका लागि करिब साढे पाँच अर्ब रुपैयाँको बजेट छ।

विश्व बैंकको खरिदका लागि सात अर्ब बजेट रहेको र त्यो बजेट सन् २०२४ सम्ममा सामग्री खरिद गरिसक्नुपर्ने सर्त देखिएको छ। त्यसैले नियमित बजेटतर्फको खरिद यो वर्ष नै गरिसक्नुपर्ने हुन्छ भने विश्व बैंकको पैसा अर्को वर्ष पनि खर्च गर्न मिल्ने देखिन्छ।

३० करोडमा दुई सय वटा अल्ट्रासाउण्ड

विभागको व्यवस्थापन महाशाखाले २०८० असोज तीन गते बुधबार (२० सेप्टेम्बर २०२३) मा दुई सय वटा पोर्टेबल युएसजी मेसिन (अल्ट्रसाउण्ड मेसिन) ३० करोडमा खरिद गर्नेगरी टेण्डर आह्वान गरेको थियो। यो मेसिनको खरिदका लागि प्रिबिड बैठक असोज १६ गते (१३ अक्टोबर)लाई तोकिएको थियो।

तर टेण्डर प्रस्ताव गर्नु अघि प्रिबिडपछि केही प्राविधिक विषयलाई कात्तिक ३ गते संशोधन गर्दै कागजात प्रकाशित गरिएको थियो।

त्यसैगरी कात्तिक १९ गते सम्ममा टेण्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको थियो भने सोही दिनलाई नै टेण्डर खुल्ने मिति तोकिएको थियो।

विश्व वैंकको आर्थिक ऋण सहयोगमा कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एण्ड हेल्थ सिस्टम  प्रिपेयरनेश प्रोजेक्टका रुपमा सो सामग्री खरिदका लागि टेण्डर आह्वान भएको थियो।

तर अल्ट्रासाउण्ड खरिदको सवालमा राष्ट्रिय सतर्कता केन्द्र लगायतमा उजुरी पर्यो। सतर्कताले यस विषयमा कार्तिक १९ गते नै छानबिनका लागि विभागलाई पत्र पठाउँदै अल्ट्रासाउण्ड खरिद प्रक्रिया सम्बन्धी कागजात माग गर्दै खरिद प्रक्रिया समेत स्थगित गर्न निर्देशन दिइसकेको छ।

सतर्कता केन्द्रको छानबिन प्रक्रियामा रहेकाले अल्ट्रासाउण्डको खरिद प्रक्रिया रोकिएको विभाग स्रोतले जानकारी दिएको छ। सतर्कता केन्द्रले दिने निर्देशनपछि मात्रै यो खरिद प्रक्रिया अघि बढ्ने वा नबढ्ने निर्णय हुनेछ।

यसमा म्याक्स मेडिटेकसहित चार वटाले टेण्डर हालेका छन्। यसमा सिन्धु सर्जिकल, हस्पिटेक र लुम्बिनी हेल्थ केयरले टेण्डर हालेका छन्। यो जिइको उत्पादनलाई टेण्डर पार्नेगरी म्याक्ससँग सेटिङ भएको विश्वस्त स्रोतले बताएको छ।

टेण्डर भइसक्यो तर मेसिनको पत्तो छैन

विभागको व्यवस्थापन महाशाखाले २०८० कात्तिक दुई गते (१९ अक्टोबर, २०२३) मा आठ वटा मेमोग्राफी मेसिन १६ करोडमा खरिद गर्नेगरी टेण्डर आह्वान गरेको थियो।

यो मेसिन खरिदका लागि कात्तिक २२ गतेलाई प्रिबिड बैठक तोकिएको थियो। त्यसैगरी मंसिर सात गते सम्ममा मेसिन खरिदका लागि टेण्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको थियो भने टेण्डर खुल्ने समय समेत सोही दिनलाई तोकिएको थियो।

प्रिबिड बैठकमा प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर एउटा निश्चित कम्पनीलाई मात्रै टेण्डर पारिदिने रणनीति भएको भन्दै सप्लायर्सहरूले स्पेशिफिकेशन संशोधनको माग गरे। स्पेशिफिकेशन संशोधन गरेर मंसिर ६ गते संशोधित टेण्डर कागजात सार्वजनिक गरिएको थियो।

तर विभागले टेण्डर प्रस्ताव गरिसक्नुपर्ने मिति कात्तिक ६ गते (२३ अक्टोबर)बाट बढाएर मंसिर १७ गते (३ डिसेम्बर) लाई तोकेको थियो। सोही दिनलाई टेण्डर खुल्ने मिति तोकेको थियो। तर मेसिन खरिदका लागि बनेको प्रावधिक स्पेशिफिकेशनको मुख्य बुँदा संशोधन गरिएन।

त्यसपछि फेरि मेमोग्राफी मेसिनको स्पेशिफिकेशन दोस्रो पटक संशोधन गर्दै मंसिर १५ गते संशोधित बोलपत्रको कागजात प्रकाशित गरिएको थियो। संशोधित बोलपत्र कागजातमा बोलपत्र प्रस्ताव गर्ने अन्तिम मिति मंसिर १७ गते (३ डिसेम्बर)बाट लम्ब्याएर पुस दुई गते (१८ डिसेम्बर २०२३) सम्ममा मेमोग्राफी खरिदका लागि बोलपत्र पेश गर्न पाइने मिति तोकिएको देखिन्छ।

किन यसरी मिति लम्ब्याइयो भन्ने विषय भने बडो अनौठो छ।

यो मेसिनमा कस्तो किसिमको खरिद गर्ने भन्ने विषयको विवादपछि खरिद प्रक्रिया नै रोकिएको देखिन्छ। टेण्डर प्रस्ताव गर्ने मिति संशोधन गरेर सारिए पनि मेसिन खरिदका लागि बुँदाहरु संशोधन भएको छैन।

खरिद प्रक्रिया अगाडि बढिसकेको अवस्थामा समेत कस्तो किसिमको मेमोग्रफी मेसिन खरिद गर्ने भन्ने प्राविधिक लगायतको विषयमा प्रष्ट नहुँदा खरिद प्रक्रिया नै रोकिएको विभाग स्रोतले उकेरासँग पुष्टि गरेको छ।

मेसिन किन्ने टेण्डर गरेर खरिद प्रक्रिया अगाडि बढिसक्यो। तर कस्तो मेसिन किन्ने भन्ने अझै नटुंगिनुले नै खरिदमा भएको मिलेमतोलाई पुष्टि गर्छ।

‘टु डि टेक्नोलोजीको मेमोग्राफी किन्ने कि थ्रि डि किन्ने भन्नेमा कुरा अड्किएको छ,’विभाग स्रोतले भन्यो,‘टु डि क्यान्सिल गरेर थ्रि डिमा जान सक्ने सम्भावना बलियो छ।’

यसमा यज्ञ भण्डारी सक्रिय देखिएका छन्। उनले सुन्दर भुषालको कम्पनीलाई टेण्डर पार्न सहजीकरण गरिरहेको देखिन्छ। यो मेसिन विश्व बैँकको आर्थिक ऋण सहयोगमा किन्न लागिएको हो।

१२ करोडको खरिदमा सतर्कताको नजर

विभागको महाशाखाले २०८० असोज ८ गते (२५ सेप्टेम्बर २०२३) मा १२ करोड ८० लाखमा ‘कोल्पोस्कोप मेसिन र थर्मोकोगुलेटर मेसिन’ खरिद गर्नेगरी टेण्डर आह्वान गरेको थियो।

यो पनि विश्व वैंकको आर्थिक ऋण सहयोगमा कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एण्ड हेल्थ सिस्टम प्रोजेक्टका लागि किन्न लागिएको हो।

यो टेण्डरको प्रिबिड बैठक असोज २६ गतेलाई तोकिएको थियो। मेसिन खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम मिति कात्तिक १५ गते तोकिएको थियो। सोही दिन नै टेण्डर खुल्ने समय तोकिएको थियो।

तर यी दुई खरिद हुने मेसिनको संख्या समेत टेण्डर कागजातमा फरक-फरक देखिएको छ। एक ठाउँमा यो रकममा कोल्पोस्कोप मेसिन सात सेट ल्याउनुपर्ने उल्लेख छ भने अर्को ठाउँमा १० सेट ल्याउनुपर्ने उल्लेख छ। यसबाट त्यही पैसामा सात सेट खरिद गर्न लागिएको हो कि दस सेट भन्ने विरोधाभाष देखिन्छ।

कोल्पोस्कोप मेसिन र थर्मोकोगुलेटर मेसिन’ खरिदमा समेत मिलेमतो देखिएपछि अहिले यो खरिद विवाद राष्ट्रिय सतर्कता केन्द्रमा पुगेको छ। यसमा जेएच मेडिकलका मुकुन्द गौतम सक्रिय देखिएका छन्।

साढे आठ करोडको माइक्रोन्यूट्रियन्ट पावर

व्यवस्थापन महाशाखाले २०८० असोज १७ गते बुधबार (४ अक्टोबर २०२३) मा आठ करोड ४० लाख ‘माइक्रोन्यूट्रियन्ट पावर (एमएनपी)’ खरिद गर्ने गरी टेण्डर आह्वान गरेको थियो। यो थेराप्यूटीक फुड (आरयुटीएफ) का लागि प्रयोग हुन्छ।

यो सामग्री खरिदका लागि कात्तिक तीन गतेलाई ब्रिबिड बैठक तोकिएको थियो। त्यसैगरी टेण्डर प्रस्ताव गर्ने अन्तिम मिति कात्तिक १७ गतेलाई तोकिएको थियो भने टेण्डर खुल्ला हुने मिति पनि सोही दिनलाई तोकिएको थियो। यो नियमित रुपमा हुने खरिद हो। यो खरिद पनि शंका बाहिर देखिँदैन।

दस करोडमा चार वटा अक्सिजेनेशन

विभागको व्यवस्थापन महाशाखाले २०८० कात्तिक दुई गते (१९ अक्टोबर २०२३) मा दस करोडमा चार सेट ‘एक्स्ट्रा कर्पोरियल मेब्रेन अक्सिजेनेशन मेसिन’ खरिदका लागि टेण्डर गरेको थियो।

विश्व वैंकको आर्थिक ऋण सहयोगमा कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एण्ड हेल्थ सिस्टम प्रोजेक्टका लागि सो सामाग्री खरिद गर्न टेण्डर आह्वान भएको देखिन्छ।

अक्सिजेनशन मेसिन खरिदका लागि कात्तिक २२ गतेलाई प्रिबिड बैठक तोकिएको थियो भने टेण्डर प्रस्ताव गर्ने अन्तिम मिति मंसिर सात गतेलाई तोकिएको थियो। टेण्डर खुल्ने समय पनि सोही दिनलाई तोकिएको थियो।

यो पछि थपिएको खरिद हो। यो खरिदमा आरएस र यज्ञ भण्डारी संलग्न रहेको स्रोत बताउँछ।

पाँच करोड ६० लाखमा टेष्ट एनलाईजर खरिद

२०८० कात्तिक दुई गते बिहिबार (१९ अक्टोबर, २०२३) मा पाँच करोड ६० लाखको सात सेट भिस्कोल्यास्टिक टेष्ट एनलाईजर (रोटेस्नल थेर्म्बो इलाष्ट्रोमेट्री एनलाईजर) खरिदका लागि टेण्डर आह्वान भएको थियो।

यो सामग्री खरिदका लागि ८ नोभेम्बरलाई प्रिबिड बैठक तोकिएको थियो भने टेण्डर प्रस्ताव गरिसक्नुपर्ने अन्तिम मिति मंसिर सात गतेलाई तोकिएको थियो। सोही दिनलाई टेण्डर खुल्ने मिति तोकिएको थियो। यो पनि विश्व वैंकको आर्थिक ऋण सहयोगमा किन्न लागिएको हो।

दस करोडमा पाँच वटा ‘नाइट्रिक अक्साइड मेसिन’

महाशाखाले २०८० कात्तिक दुई गते बिहिबार (१९ अक्टोबर २०२३) मा दस करोडमा पाँच वटा ‘निट्रिक अक्साइड मेसिन’ खरिदका लागि टेण्डर आह्वान गरेको थियो।

यसरी हेर्दा एउटा मेसिन दुई करोडमा खरिद गर्नेगरी टेण्डर आह्वान भएको देखिन्छ। यो मेसिन खरिदका लागि मंसिर चार गते (२० नोभेम्बर)लाई प्रिबिडको बैठक तोकिएको थियो। त्यसैगरी मंसिर १७ गतेसम्ममा टेण्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको थियो भने सोही दिनलाई टेण्डर खुला हुने मिति तोकिएको थियो। यो पनि विश्व वैंकको आर्थिक ऋण सहयोगमा किन्न लागिएको हो।

तीन करोडको प्रयोगशालाका मेशिन

विभागको व्यवस्थापन महाशाखाले २०८० भदौ ११ गते सोमबार (२८ अगष्ट, २०२३) मा तीन करोडमा ल्याबोरेटोरी (प्रयोगशाला)का मेशिन तथा स्वास्थ्य सामग्री खरिदका लागि टेण्डर आह्वान गरेको थियो। ल्याबोरेटोरिसँग सम्बन्धित ‘हट एयर ओभन ७५ सेट, वाटर बाथ ७५ सेट, सेन्ट्रिफ्युज मेसिन सय सेट, माइक्रोस्कोप सय सेट र इन्कुबेटर २५ सेट’ खरिदका लागि टेण्डर आह्वान भएको थियो।

यो स्वास्थ्य समाग्री खरिदका लागि प्रिबिड बैठक भदौ २९ लाई तोकिएको थियो। टेण्डर प्रस्ताव गर्ने अन्तिम मिति असोज दस गतेलाई तोकिएको थियो र सोही दिन टेण्डर खुल्ला हुने मिति तोकिएको थियो। यो पनि विश्वबैंकको आर्थिक ऋण सहयोगमा आएको रकमबाट किन्न लागिएको हो।

सात करोड ८० लाखको बेड खरिद

महाशाखाले २०८० भदौ ११ गते सोमबार (२८ अगष्ट २०२३) मा सात करोड ८० लाखमा अस्पतालका लागि  बेड (जनरल बेड) एक हजार सेट, डेलिभरी बेड दुई सय सेट र ट्रान्स्पर्ट ट्रली दुई सय बेड खरिदका लागि टेण्डर आह्वान गरेको थियो। यो पनि विश्व बैंकको आर्थिक ऋण सहयोग रकमबाट किन्न लागिएको हो।

सात करोड ८० लाखका यी सामग्री खरिदका लागि भदौ २९ लाई प्रिबिड बैठक हुने समय तोकिएको थियो। टेण्डर प्रस्ताव गर्ने अन्तिम मिति असोज दस गते थियो भने सोही दिनलाई टेण्डर खुल्ने समय तोकिएको थियो। यो खरिद प्रक्रिया अन्तिम चरणमा रहेको छ।

१२ करोड ८० लाखको थेराप्युटिक फुड खरिद

विभागको व्यवस्थापन महाशाखाले २०८० असोज १७ गते बुधबार (४ अक्टोबर)मा पुन:  ‘थेराप्यूटिक फुड (आरयूटीएफ)’ १२ करोड ८० लाखमा खरिद गर्नेगरी टेण्डर आह्वान गरेको थियो।

यो थेराप्यूटिक फुडका रुपमा प्रयोग गरिन्छ। यसको प्रिबिड बैठक कात्तिक तीनलाई तोकिएको थियो भने टेण्डर प्रस्ताव गर्ने अन्तिम मिति कात्तिक १७ गतेलाई तोकिएको थियो। सोही दिन टेण्डर खुल्ला हुने समय तोकिएको थियो। यो नियमित खरिद हो।

एक करोड ३६ लाखमा थेराप्यूटिक मिल्क

२०८० असोज १७ गते बुधबार (४ अक्टोबर २०२३) मा ‘एफ–७५ र एफ–१०० (आरयूटीएफ)’ सामग्री एक करोड ३६ लाखमा खरिद गर्नेगरी विभागको व्यवस्थापन महाशाखाले टेण्डर आह्वान गरेको थियो।

यो ‘एफ ७५ थेराप्यूटिक मिल्क’ र ‘एफ–१०० थेराप्यूटिक मिल्क’ खरिदका लागि टेण्डर भएको हो। यसको प्रिबिड बैठक कात्तिक तीनलाई तोकिएको थियो। कात्तिक १७ गते सम्ममा टेण्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको थियो भने सोही दिनलाई टेण्डर खुल्ने समय तोकिएको थियो। यो पनि नियमित खरिद देखिन्छ।

पाँच करोड २० लाखको एन्टि रेबिज खोप

विभागको व्यवस्थापन महाशाखाले २०८० असोज १८ गते (पाँच अक्टोबर २०२३) मा एक लाख ७० हजार भायल ‘एन्टी रेबिज खोप (१.०एमएल)’ पाँच करोड २० लाखमा खदिर गर्नेगरी टेण्डर आह्वान गरेको थियो।

यसको प्रिबिड बैठक कात्तिक २१ गतेलाई तोकिएको थियो भने बोलपत्र पेश गर्ने अन्तिम मिति मंसिर ६ गतेलाई तोकिएको थियो। सोही दिनलाई टेण्डर खुल्ने मिति तोकिएको थियो। यो पनि नियमित खरिद हो।

चार करोडमा अर्को एन्टी–रेबिज खोप खरिद

विभागको व्यवस्थापन महाशाखाले कात्तिक एक गते बुधबार (५ अक्टोबर २०२३) मा चार करोडमा ‘०.५ एमएल’को एक लाख ३० हजार एन्टी–रेबिजको खोप खरिदका लागि टेण्डर आह्वान गरेको थियो। यसको प्रिबिड बैठक कात्तिक २१ गतेलाई तोकिएको थियो भने टेण्डर प्रस्ताव गर्ने अन्तिम मिति मंसिर ६ गतेलाई तोकिएको थियो। सोही दिनलाई टेण्डर खुला गर्ने समय तोकिएको थियो। यो पनि नियमित खरिद हो।

९२ लाखको एन्टी–रेबिज इम्युनोग्लोबुलिन खरिद

महाशाखाले २०८० असोज १८ गते बिहिबार (५ अक्टोबर २०२३) मा नै २० हजार भायल ‘एन्टी–रेबिज इम्युनोग्लोबुलिन’ ९२ लाखमा खरिदका लागि टेण्डर आह्वान गरेको थियो।

यो खरिदको प्रिबिड बैठक कात्तिक २१ गतेलाई तोकिएको थियो भने मंसिर ६ गते भित्रमा टेण्डर प्रस्ताव गरिसक्नुपर्ने थियो। सोही दिन टेण्डर खुल्ला हुने मिति तोकिएको थियो। यो पनि नियमित किसिमकै खरिद हो।

‘रुबेलाको खोप’ ७२ करोडमा खरिद

व्यवस्थापन महाशाखाले २०८० कात्तिक दुई गते बिहीबार (१९ अक्टोबर २०२३) मा ६ लाख ४५ हजार भायल ‘मेसलेश रुबेला (एमआर) भ्याक्सिन’ ७२ करोडमा खरिद गर्नेगरी टेण्डर आह्वान गरेको थियो।

सो खोप खरिदका लागि कात्तिक २३ गतेलाई प्रिबिड बैठक तोकिएको थियो। यो खोप खरिदका लागि टेण्डर प्रस्ताव गर्ने अन्तिम मिति मंसिर १८ गतेलाई तोकिएको थियो। सोही दिन टेण्डर खुल्ने समय तोकिएको थियो। यो अन्तराष्ट्रिय संस्था गाभि र नेपाल सरकारको रकमबाट किन्न लागिएको हो।

आठ करोड ८० लाखमा टीडी खोप खरिद

विभागको व्यवस्थापन महाशाखाले २०८० कात्तिक दुई गते बिहिबार (१९ अक्टोबर २०२३) मा पाँच लाख ४० हजार भायल ‘टीडी खोप (भ्याक्सिन)’ आठ करोड ८० लाखमा खरिद गर्नेगरी टेण्डर आह्वान गरेको थियो।

यो खोप खरिदका लागि कात्तिक २३ गतेलाई प्रिबिड बैठक तोकिएको थियो। मंसिर १८ गते सम्ममा टेण्डर प्रस्ताव गरिसक्नुपर्ने थियो भने सोही दिन टेण्डर खुल्ने समय तोकिएको थियो। यो नियमित खरिद अन्तर्गत नै पर्छ।

२८ करोडको ‘बिसिजी खोप’ खरिद

विभागको व्यवस्थापन महाशाखाले २०८० कात्तिक दुई गते बिहिबार (१९ अक्टोबर २०२३) मा ६ लाख भायल ‘बिसिजी खोप’ २८ करोडमा खरिद गर्नेगरी टेण्डर आह्वान गरेको थियो। बिसिजी खोप खरिदका लागि कात्तिक २३ गतेलाई प्रिबिड बैठक तोकिएको थियो। त्यसैगरी मंसिर १८ गतेलाई टेण्डर प्रस्ताव गर्ने मिति तोकिएको थियो भने यही दिन टेण्डर खुल्ने समय तोकिएको थियो। यो पनि नियमित खरिद नै हो।

तीन करोड ६० लाखको ह्विलचियर

व्यवस्थापमन महाशाखाले ह्वीलचियर र एलाइड आइटम तीन करोड ६० लाखमा खरिद गर्नेगरी २०८० भदौ २९ गते शुक्रबार (१५ सेप्टेम्बर)मा टेण्डर आह्वान गरेको थियो। यो पनि विश्व बैंकको आर्थिक ऋण सहयोगमा किन्न लागिएको हो।

यो टेण्डरका लागि प्रिबिडको मिति असोज १७ गतेलाई तोकिएको थियो। प्रिबिड बैठकपछि असोज २४ गतेमा बोलपत्रको स्पेसिफिकेशन संशोधन भएको थियो। यो टेण्डरका लागि प्रस्ताव पेश गर्ने अन्तिम मिति असोज २९ गतेलाई तोकिएको थियो भने सोही दिन टेण्डर खुल्ने मिति थियो।

एक करोड २० लाखको सिरिन्ज

विभागको व्यवस्थापन महाशाखाले २०८० कात्तिक २१ गते (७ नोभेम्बर २०२३) मा एक करोड २० लाखमा सिरिन्ज खरिदका लागि टेण्डर आह्वान गरेको थियो। सिरिन्ज खरिदका लागि टेण्डर प्रस्ताव गर्ने अन्तिम मिति मंसिर २१ लाई तोकिएको थियो भने टेण्डर खुल्ने मिति त्यही दिनलाई तोकिएको थियो। यो पनि नियमित खरिद नै देखिन्छ।

६४ लाखको ‘एन्टी स्नेक भेनम सेरम’ खरिद

विभागको व्यवस्थापन महाशाखाले २०८० कात्तिक १३ गते (३० अक्टोबर २०२३) मा २० हजार भायल ‘एन्टी स्नेक भेनम सेरम (एएसभीएस)’ ६४ लाखमा खरिद गर्नेगरी टेण्डर आह्वान गरेको थियो।

एन्टी स्नेक भेनम खरिदका लागि मंसिर १३ गतेलाई प्रिबिड बैठक तोकिएको थियो। त्यसैगरी मंसिर २८ गतेसम्ममा भेनम खरिदका लागि टेण्डर प्रस्ताव गरिसक्नुपर्ने थियो भने सोही दिनलाई टेण्डर खुल्ने समय तोकिएको थियो।

यो इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नियमित कार्यक्रम अन्तर्गतको नियमित खरिदमा नै पर्ने देखियो।

२४ लाखको ट्याब्लेट खरिद

महाशाखाले २०८० भदौ २९ गते शुक्रबार (१५ सेप्टेम्बर २०२३) मा २४ लाखको ट्याब्लेट्स एण्ड इण्डटेण्डस् खरिदका लागि टेण्डर आह्वान गरेको थियो। यसको टेण्डर प्रस्ताव गर्ने अन्तिम मिति असोज २९ गतेलाई तोकिएको थियो। यो इयुको आर्थिक सहयोगमा खरिदका लागि टेण्डर आह्वान भएको नियमित खरिदमा पर्छ। यो पनि टेण्डर स्वीकृत भइसकेको छ।

८० लाखको आइसप्याक खरिद

व्यवस्थापन महाशाखाले ‘०.६’ र ‘०.४’ लिटरको आइसप्याक ८० लाखमा खरिद गर्नेगरी २०८० कात्तिक दुई गते बिहिबार (१९ अक्टोबर २०२३) मा टेण्डर आह्वान गरेको थियो। आइसप्याक खरिदका लागि टेण्डर प्रस्ताव गर्नुपर्ने अन्तिम मिति मंसिर सात गतेलाई तोकिएको थियो। सोही दिनलाई टेण्डर खुल्ने मिति तोकिएको थियो।

यो पनि विश्व बैंकको आर्थिक ऋण सहयोगमा किन्न लागिएको हो।

४० लाखको ‘ओरल कन्ट्रासेप्टिभ पिल्स

व्यवस्थापन महाशाखाले २०८० असोज २२ गते सोमबार (९ अक्टोबर २०२३) मा ४० लाखमा खरिद गर्ने गरी ‘ओरल कन्ट्रासेप्टिभ पिल्स (खाने गर्भ निरोध चक्की)’ टेण्डर गरेको थियो।

यसको प्रिबिड बैठक हुने मिति कात्तिक २३ गतेलाई तोकिएको थियो भने मंसिर आठ गतेलाई टेण्डर प्रस्तावको अन्तिम मिति तोकिएको थियो। सोही दिन टेण्डर खुल्ने समय समेत तोकिएको थियो। यो नियमित किसिमको खरिद हो।

८० लाखको ‘भिटामिन ए क्याप्सुल’

व्यवस्थापन महाशाखाले २०८० असोज २२ गते (९ अक्टोबर २०२३) मा ३५ लाख ‘भिटामिन ए क्याप्सुल’ ८० लाखमा खरिद गर्ने गरी टेण्डर आह्वान गरेको थियो। यसको प्रिबिड बैठक कात्तिक २३ गतेलाई राखिएको थियो भने मंसिर आठ गतेलाई टेण्डर प्रस्ताव गर्ने अन्तिम मिति राखिएको थियो। सोही दिनलाई टेण्डर खुल्ने समय तोकिएको थियो। यो पनि नियमित हुने खरिद अन्तर्गत पर्छ।

सामग्री ढुवानीमा एक करोड ७२ लाख

व्यवस्थापन महाशाखाले २०८० साउन एक गते (१७, जुलाई, २०२३) मा विभिन्न ठाउँमा स्वास्थ्य सामग्री पुर्याउन टेण्डर आह्वान गरेको थियो।

महाशाखाले प्याकेज १ अन्तर्गत स्वास्थ्य सेवा विभागको काठमाडौं (स्टोर) बाट सबै जिल्लामा पुर्याउन र प्याकेज २ अन्तर्गत पथलैया (स्टोर)बाट सबै जिल्लामा स्वास्थ्य सामग्री पुर्याउनका लागि करिब एक करोड ७२ लाख रकमको टेण्डर आह्वान गरेको थियो। यो टेण्डरको आह्वान बमोजिम बोलपत्र पेश गर्ने अन्तिम मिति साउन ३१ लाई तोकिएको थियो र टेण्डर खुल्ने समय सोही दिनलाई तोकिएको थियो।

३२ लाखको डेंगी टेस्ट किट

विभागको महाशाखाले २०८० भदौ ३० गते आइतबार (२७ अगष्ट २०२३) मा ३२ लाखमा डेंगी टेष्ट किट खरिद गर्नेगरी टेण्डर आह्वान गर्यो। स्पेशिफिकेशनमा विश्व स्वास्थ्य संगठन वा सीइ (यूरोपियन) वा यूएसएफडिए मान्यता प्राप्त हुनेपर्ने उल्लेख छ। असोज १६ गतेसम्ममा टेण्डर प्रस्ताव गरिसक्नुपर्ने उल्लेख छ।

फेटल डप्लर, नेबुलाईजर र शक्शन मेसिन खरिद

महाशाखाले २०८० भदौ ११ गते (२८ अगष्ट, २०२३)मा ८८ लाखमा ‘फेटल डप्लर, नेबुलाईजर र सक्शन मेसिन’ खरिद गर्नेगरी टेण्डर आह्वान गरेको थियो।

यसको टेण्डर प्रस्ताव गर्ने अन्तिम मिति असोज दस गते थियो भने टेण्डर खुल्ने समय पनि त्यही दिनलाई तोकिएको थियो। यो पनि विश्व बैंकको आर्थिक ऋण सहयोगमा किन्न लागिएको हो।

एक करोड ६० लाखको जेनेरल इक्युप्मेन्ट

महाशाखाले २०८० भदौ २९ गते शुक्रबार (१५ सेप्टेम्बर, २०२३) मा ‘जेनेरल इक्विप्मेन्ट एण्ड प्रोसेड्यूर सेट्स’ एक करोड ६० लाखमा खरिद गर्नेगरी टेण्डर आह्वान गरेको थियो, जसमा स्टेस्थेस्कोप सहितको दुई हजार बीपी सेट, इएनटी सेट २५, डेलिभरी सेट दुईसय र पोष्टमार्टम सेट एक सय सेट खरिदका लागि टेण्डर भएको हो।

यो पनि विश्व बैंकको आर्थिक ऋण सहयोगमा किन्न लागिएको हो। यो टेण्डरको प्रिबिड बैठक असोज १७ गतेलाई तोकिएको थियो भने टेण्डर प्रस्ताव गर्ने अन्तिम मिति असोज २९ गतेलाई तोकिएको थियो। सोही दिन टेण्डर खुल्ने मिति तोकिएको थियो।

एक करोड ४० लाखको इसिजी खरिद

२०८० भदौ २९ गते शुक्रबार (१५ सेप्टेम्बर २०२३) मा विश्व बैंकको आर्थिक ऋण सहयोगमा एक करोड ४० लाखमा खरिद गर्नेगरी इसिजी मेसिन खरिदका लागि टेण्डर आह्वान भएको थियो।

इसिजी ३ लिड प्रिन्ट एकसय ५० वटा, इसिजी १२ लिड प्रिन्ट ५० वटा खरिदका लागि टेण्डर आह्वान भएको देखिन्छ।

इसिजी खरिदका लागि असोज १७ गतेलाई प्रिबिड बैठकको समय तोकिएको थियो। इसिजी खरिदका लागि टेण्डर प्रस्ताव गर्ने अन्तिम मिति असोज २९ गतेलाई तोकिएको थियो भने सोही दिन टेण्डर खुल्ने समय तोकिएको थियो।

१४ लाखको पानी खान्छन्

महाशाखाले १४ लाखको पिउने पानी (२० लिटरका जार) आठ हजार वटा र ट्यांकरको पानी (सात हजार लिटरको) तीन सय ५० वटा ट्यांकरको पानी खरिदका लागि  २०८० भदौ २९ गते शुक्रबार (१५ अक्टोबर, २०२३) मा टेण्डर आह्वान गरेको थियो।

यसको बोलपत्र प्रस्ताव गर्ने अन्तिम मिति असोज १४ गते लाई तोकिएको थियो भने सोही दिनलाई टेण्डर खुल्ने समय तोकिएको थियो। यो नियमित किसिमको खरिद हो। खानेपानीको टेण्डर भने स्वीकृत भइसकेको छ।

२४ लाख खर्च गरेर सुरक्षा गार्ड व्यवस्थापन महाशाखाले २०८० भदौ १५ गते व्यवस्थापन तथा केन्द्रिय स्टोर पथलैयाको लागि एक वर्षे सेवा करारमा सुरक्षा गार्ड माग्दै बोलपत्र (प्रस्ताव) आह्वान गरेको थियो।

एक वर्षको दस जना सुरक्षा गार्डको लागि २४ लाख ४० हजार रकममा सुरक्षा गार्ड लिनेगरी टेण्डर आह्वान भएको थियो। स्वास्थ्य सेवा विभागका लागि सात जना र केन्द्रिय स्टोर पथलैयाको लागि तीन जना गरी दस जना सेक्युरिटी माग गरेको देखिन्छ। असोज १५ गते सम्ममा टेण्डर प्रस्ताव गरिसक्नुपर्ने मिति तोकिएको थियो भने सोही दिनलाई नै टेण्डर खोलिने मिति तोकिएको थियो। यो नियमित किसिमको टेण्डर हो। यो टेण्डर स्वीकृत भइसकेको विभाग स्रोतले बताएको छ।

मन्त्रीदेखि बायोमेडिकल इन्जिनियर सम्मका मिलेमतो

खरिदमा व्यवस्थापन महाशाखाको खरिद महाशाखाका निर्देशक (डा. शर्मा) को त जिम्मेवारी हुन्छ नै स्वास्थ्य सेवा विभागका महानिर्देशक (डा. मिश्रा) को पनि त्यतिकै जिम्मेवारी हुन्छ। खरिद प्रक्रिया अगाडि बढाउने काम र खरिद गर्ने सामग्रीको स्वीकृतिका लागि विभागको महानिर्देशककहाँ पठाउने काम व्यवस्थापन महाशाखाका निर्देशक (डा. शर्मा) को हो।

त्यसैगरी खरिद प्रक्रियाको कागजात हेरेर सामग्री खरिदका लागि व्यवस्थापन महाशाखाका निर्देशकले अगाडि बढाएको फाइललाई स्वीकृत गर्ने वा नगर्ने भन्ने जिम्मेवारी विभागको महानिर्देशकको हुन्छ। ‘जसले जे गरे पनि फाइनल टेण्डर स्वीकृत गर्ने भूमिका विभागको महानिर्देशकज्यूकै हुन्छ,’विभागका एक अधिकारीले भने।

त्यसैगरी व्यवस्थापन महाशाखा अन्तर्गतको खरिद शाखाका प्रमुख डा. सुरेन्द्र चौरासिया छन्। उनको पनि खरिदमा जिम्मेवारी त्यतिकै हुन्छ। त्यसो त खरिदमा स्वास्थ्य मन्त्री र सचिव नजोडिने कुरै भएन। त्यसैगरी खरिद हुने सामग्रीको प्राविधिक स्पेशिफिकेशन बनाउने बायोमेडिकल इन्जिनियरको भूमिका समेत कसलाई टेण्डर पार्ने भन्नेमा महत्वपूर्ण हुन्छ।

सामान्य खरिदमा पाँचदेखि सात प्रतिशत र मिलेमतोमा हुने खरिदमा २० प्रतिशतसम्म बुझाउनुपर्ने टेण्डरबारे एक जानकारले उकेरालाई बताए।

‘सामान्य खरिदमै विभाग अनि महाशाखा लगायतकालाई सात प्रतिशत बुझाउनैपर्छ। मन्त्रालयको नेतृत्वसम्मै जोडियो भने २० प्रतिशतसम्म कमिशनै बुझाउनुपर्ने हुँदा सामानको मुल्य बढ्न जान्छ,’ उनले भने’ प्रतिस्पर्धाको आधारमा टेण्डर प्रतिष्पर्धा गर्न पाउने हो भने सस्तैमा गुणस्तरीय सामान दिन सकिन्छ।‘

२७ मंसिर, २०८०, १७:३८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।