चौथो अंग : महिलालाई सम्पादक पद दिएनन् भनेर बस्ने होइन, अब खोस्ने हो
नेपाली मिडियामा ‘वैदेशिक रोजगार’ प्रमुख बिट बनिसक्यो। प्रमुख बिट भएपछि विभिन्न स्रोतबाट समाचार आउने नै भए। मूलधारदेखि सबै मिडियामा लोग्ने विदेश गएपछि श्रीमती बालबच्चा छाडेर ‘अन्तै गएर’ विदेशमा काम गर्ने लोग्नेको पैसा सकेको आरोप लगाइन्छ।
केही यस्ता घटना नभएको होइन, तर यो नै प्रमुख घटना जसरी समाचार बनाइन्छ। मानौँ, पाँच प्रतिशत यस्ता घटना भएका छन् भने ९५ प्रतिशत त अनेकौं हण्डर खाएर भए पनि घर परिवारमा बसिरहेका महिलाहरू छन्। सबै विदेश जाने लोग्नेको श्रीमती पैसा लिएर अन्त हिँड्छन् झैँ गरि ‘जनरलाइज्ड’ गरिन्छ।
कुनै पुरुषबाट अपराध भयो भने त्यो पुरुषले मात्रै दोष पाउँछ। महिलाको सवालमा एउटा महिलाले गल्ती गर्दा हाम्रो समाजमा ‘सबै उस्ता हुन्’ भन्ने न्यारेटिभ बसेको छ। त्यसकारण कुनै पनि समाचार लेख्दा अलि संवेदनशील भइदिए हुन्थ्यो जस्तो लाग्छ। लैङ्गिकताको सवालमा हाम्रो मिडिया पहिलेको तुलनामा संवेदनशील त भए, तर अझै सुधार्न बाँकी नभएको होइन।
हत्या र बलात्कार मात्रै लैङ्गिक इश्यु होइनन्
मैले पत्रकारिता गरेको २०५४ सालदेखि हो। औपचारिक रूपमा कम्युनिकेशन कर्नरले उत्पादन गर्ने रेडियो पत्रिका कार्यक्रम ‘हाकाहाकी’को लागि रेडियो नेपालमा काम गरियो। त्यसपछि विभिन्न टेलिभिजन हुँदै म अहिले मिडिया अनुसन्धाता भएर काम गरिरहेको छु।
हाकाहाकी कार्यक्रममा हामीले जे विषय उठान गर्थ्यौँ, मूलभूतरुपमा अहिले पनि तिनै विषयहरू उठाइन्छन् मिडियामा। उहारहणको लागि छाउपडी प्रथा।
तीन वर्ष रेडियोमा काम गर्दा हामी अछाम नै पुगेर रिपोर्टिङ गर्याैँ। त्यसपछिका दिनमा अन्य साथीहरूले पनि छाउपडी प्रथाले गर्दा महिलाहरूको ज्यान जोखिममा रहेको, ज्यानै गएको जस्ता समाचार लेख्न थाले। अहिले पनि आइरहन्छन्।
मिडियामा निरन्तर समाचार आएका छन्, कानुन पनि बद्लिएका छन् तर व्यावहारिक रूपमा कार्यान्वयन हुन सकिरहेको छैन। विभेद हुनुको कारण सामाजिक संरचना र रुढीवादी संस्कार हो।
यस्ता रुढीवादी सामाजिक संस्कार हटाउनलाई केही वर्ष रिपोर्टिङ गरेर ऐन कानुन बनाएर मात्रै सकिँदो रहेनछ। कानुन बन्यो तर पनि कार्यान्वयन किन भएन भनेर निरन्तर विषयको उठान गरिरहनु पर्दोरहेछ।
त्यस्तै गाउँ-गाउँमा दूध बेचेर कोक खाएको कुरा हामीले इश्यू बनाउँथ्यौँ। ठ्याक्कै भन्दा सामाजिक विषय नै हाम्रा प्राथमिकतामा पर्थे त्यो बेला।
एभिन्युज टेलिभिजनमा केही समय काम गरेपछि कान्तिपुर टेलिभिजनमा काम गरेँ। टेलिभिजनमा काम गर्दा मेरो बिट अर्थ थियो। त्यतिबेला अर्थ बिटमा अहिले जस्तो धेरै महिला पत्रकारहरू थिएनन्। त्यतिबेला हामीले नीतिगत, इभेन्ट कभर लगायतका काम गर्याैँ।
मैले काम गर्दा टेलिभिजनको गोल्डेन काल थियो। अहिले माध्यम फेरिए। कन्टेन्टका हिसाबले टेलिभिजन अलमलमा परेका हुन् कि जस्तो देखिन्छ अहिले। कन्टेन्टमा अहिलेका टेलिभिजनले धेरै काम गर्नुपर्ने देख्छु। टेलिभिजनमा चर्काे बोल्दैमा स्टार रिपोर्टर भइन्छ भन्ने भ्रम परेको छ केहीमा, यसलाई चिर्नुछ।
सञ्चारिका समूहमा भएका कारण महिलाहरूको इश्यु के हुन् भनेर पत्रकारिताको सुरूवातमै बुझ्न पाइयो। सञ्चारिका समूहले ‘समकोण’ कार्यक्रम चलाउँदा ‘हप्तैपिच्छे महिलाको के इश्यु हुन्छन् र? सकिँदैन होला’ भन्ने कुरा हुन्थ्यो। तर सकियो।
सोसल बिट अन्तर्गत अन्य मिडियामा पनि महिला तथा बालबालिका भनेर कसैलाई तोकेर रिपोर्टिङ गर्नैपर्छ भन्ने चलन थिएन। कसैले लेख्यो भने ठीकै थियो। यही विषयमा छलफल हुने, अन्य विषयमा जस्तो धेरैबेर छलफल भएर प्रमुख समाचार बनेको देखिएन।
उदाहरणका लागि, समान अंश, वैवाहिक बलात्कार, गर्भपतनको अधिकार जस्ता विषयमा पनि मिडियामा आमरूपमा छलफल भएको होइन। बरु त्यतिबेला वैवाहिक बलात्कारले गर्दा कोठामा जाँदा पनि श्रीमतीको अनुमति लिनुपर्ने भयो भन्नेहरूका स्वर मिडियामा पनि चर्को सुनियो।
अहिले आमाको नामबाट नागरिकता पाउने विषय पेचिलो बनेको छ। पुरुषले सहजै बाबुको नाताले नागरिकता दिन सक्ने, महिलाले नसक्ने अवस्था अहिले पनि छ। मिडियाले यस्ता विषयलाई उठाएन भनेको होइन, तर निरन्तर फलो भएको देखिँदैन। निरन्तर फलोअप नगरी प्रभाव पर्दैन।
त्यस्तै लैङ्गिक तथा यौनिक अल्पसंख्यकको मुद्दाहरूको विषयमा अझ मिडियामा छलफल भएको देखिँदैन। माझिएका स्टोरीहरू देखिँदैनन्। त्यस्ता स्टोरी नदेखिनु भनेको छलफल नहुनु त हो नि।
लैङ्गिकताको सवालमा बलात्कार, हत्याजस्ता घटना भए भने मिडियाले विशेष प्राथमिकता दिएर छाप्ने, प्रशारण गरेको जस्तो देखिन्छ। तर, किन बारम्बार यस्ता घटनाहरू भइरहेका छन् भन्ने बारेमा खोजी भएको देखिँदैन। इभेन्टको कभरेज हुन्छ। तर डेफ्त कभरेज हुन्न।
अहिले नेपालमा पैतृक सम्पत्तिमा छोराछोरीको समान हक लाग्छ। तर, कति महिलाले सम्पत्ति लिए? दाजुभाइबीच अंश मुद्दा चल्दा सामान्य मान्ने नेपाली समाज, छोरीले बाबुको सम्पत्ति माग्दा किन असामान्य बनिदिन्छ? पैतृक सम्पत्ति कति महिलाले लिए त? मुद्दागत रूपमा मिडियामा समाचार अझै आउन सकेको छैन।
विषयवस्तुमा संवेदनशीलता र दक्ष भएका हाम्रा सम्पादक लैङ्गिकताको सवालमा अलमलिएका देखिन्छन्। के विषय उठाउने भन्नेमै अन्योल देखिन्छ। लैङ्गिकताको मुद्दालाई विकासे पत्रकारिता पनि भन्ने गरिन्छ। मिडिया हाउसले यस्ता विषयमा लगानी नै गर्दैनन्। यदि संस्थाहरू पनि हुँदैनथे भने के लैङ्गिकताको सवालमा यति छिट्टै यति धेरै सवालहरू उठ्थे त?
पहिले-पहिले बलात्कारको समाचार आउँदा सनसनी बनाउने, घटनालाई रोमान्टिसाइज गर्ने, पीडितको नामबाहेक अन्य परिचय खुलाइने गरिन्थ्यो। तर, अहिले मिडियाले यस्ता घटनालाई गम्भीर रूपमा लिन थालेका छन्। मूलधारको मिडियामा गोपनीयतालाई ध्यान दिएको भेटिन्छ। यो सकारात्मक परिवर्तन हो। तर अझै सुधार बाँकी छ।
सम्पादकमा महिलालाई विश्वास गरिएन
२५ प्रतिशत महिला पत्रकारहरू छन्। महिला पत्रकार राखेपछि महिनावारी र सुत्केरी हुँदाको अवस्था समेतलाई विचार गरेर कार्यालय बनाइनुपर्छ। उल्टो यहाँ त गर्भावस्थादेखि नै कामबाट निकालिएर मानसिक ‘टर्चर’ खप्नुपर्ने अवस्था छ। समान कामको लागि समान ज्याला दिएको देखिँदैन।
विभिन्न अनुसन्धानले महिला पत्रकारको संख्या बढेको देखाउँछ। यद्यपि नेतृत्वदायी भूमिकामा अझै देखिँदैन। त्यसकारण पनि जति लैङ्गिकताका मुद्दा उठ्नुपर्ने त्यति नउठेको हो की जस्तो लाग्छ।
महिलाहरूको क्षमता नभएको होइन, नदिएको हो। पाठक स्रोता तथा दर्शकले खै महिला सम्पादक भनेर माग गरेको देखिन्छ। क्षमता भएका महिलाहरू पनि टन्नै छन्। तर, मिडिया हाउसले विश्वास गर्न सकेको छैन।
न्युज रूमले महिला रिपोर्टर हुन्छन् भनेर चिनेको छ तर सम्पादक हुन्छन् भनेर अझै चिनेन। त्यसैले अब सम्पादक पद लिने र दिने मात्र विषय रहेन। क्षमता बढाउनु छ भने बढाउने। तर दिएनन् वा दिँदैनन् भनेर बस्ने हैन। अब म किन हुन सक्दिन भनेर दाबी पेस गर्ने हो, खोस्ने हो।
(कम्युनिकेशन कर्नरको ‘हाकाहकी’ कार्यक्रम मार्फत रेडियो नेपाल, एभिन्युज टेलिभिजन, कान्तिपुर टेलिभिजनमा काम गरेकी पण्डित सञ्चारिका समूहकी पूर्व अध्यक्ष हुन्। हाल उनी मिडियाकै अनुसन्धान गरिरहेकी छन्। उनैसँग ‘नेपाली मिडियामा लैंगिकताको सवाल’ विषयमा प्रजु पन्तले गरेको कुराकानीमा आधारित)
चौथो अंगका पुराना श्रृंखला
मंसिर २६, २०८० मंगलबार १७:५२:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।