'मैले एनसेलमा अर्बभन्दा ठूलो भ्रष्टाचार गरेको छ भनेर गलत प्रचार भयो : प्रधानमन्त्री

'मैले एनसेलमा अर्बभन्दा ठूलो भ्रष्टाचार गरेको छ भनेर गलत प्रचार भयो : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले एनसेल प्रकरणमा ठूलो भ्रष्टाचार गरेको भन्ने दुष्प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा उनले आफू दुबईबाट फर्कंदै गर्दा आफूले ठूलो षड्यन्त्रको नमुना पाएको उल्लेख गरे। राष्ट्र, जनता, संविधान र लोकतन्त्रको हितमा आफू अघि बढिरहेको बताउँदै उनले दुष्प्रचार गर्नेहरूको प्रतिवाद गर्न पनि आग्रह गरे।

‘​​​​​अर्बौँअर्बको पहिला–पहिला भएका भ्रष्टाचारका काण्ड भन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार प्रचण्डले गरेको छ एनसेलमा भनेर प्रचार भयो। म दुबईबाट फर्कंदै गर्दा मैले दुष्प्रचारको, षड्यन्त्रको र घटिया प्रचारको नमुनाको रूपमा त्यसलाई लिएँ। मैले बाहिर केही प्रतिवाद गरिनँ। मैले राष्ट्रको हितमा, जनताको हितमा, हाम्रो संविधान र हाम्रो लोकतन्त्रको हितमा जे गर्नुपर्छ, दृढताको साथ अघि बढेँ,’ उनले भने, ‘तपाईं कल्पना गर्नुस्, यति तलबाट मान्छेहरूले सोच्ने, भन्ने र खुला प्रचार गर्न सक्छन् भने तपाईं हामी जो सत्यको पक्षमा, न्याय, जनताको पक्षमा, राष्ट्रको पक्षमा लेख्नेबोल्ने भनेकाले त्यसको प्रतिवाद त्यही उचाइबाट, त्यही निचबाट होइन। यस्ता झुटो प्रचारहरू, यस्ता अरू पनि थुप्रै प्रचार भएका छन्, तिनको प्रतिवाद गर्नुपर्छ र जनतालाई सही सूचना दिनुपर्छ।’

२५ मंसिर, २०८०, १५:५६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।