चौथो अंग : जलवायु परिवर्तन र मौसम परिवर्तनबीचको फरक त छुट्ट्याउन सक्दैनन्, पत्रकारले के रिपोर्टिङ गर्छन् !
आठौँ कोप सम्मेलन भारतमा भएको थियो। दुई दशक अगाडि भारत जान कुनै पत्रकारले हानथाप नगरेपछि मैले जाने अवसर पाएँ।
न विषयवस्तुको जानकारी न त जलवायु परिवर्तनले हाम्रो देशमा पारेको प्रभा बारे कुनै ज्ञान। त्यसले जलवायु परिवर्तनका विषय उठान हुने सम्मेलनमा नेपालको उपस्थिति फितलो थियो।
त्यहाँ सम्बोधन गर्नेले प्रभावकारी ढंगले आफ्नो कुरा राख्नै सकेनन्। विषयवस्तुमा केन्द्रित भएर तयारी गर्ने भन्दा पनि कुन देश, को जाने भन्ने कर्मचारी अनि नेपालबारे अध्ययनै नगरी बोल्ने नेता भएपछि विषय उठान हुने कुरा पनि भएन।
अहिले सम्मेलन २८ औँ पुगिसक्यो। अहिले पनि उ बेलामा जस्तै कर्मचारी,पत्रकार,नेता, गैरसरकारी संस्थाका प्रतिनिधिहरू कोप सम्मेलन हुने देश जान मरिहत्ते गर्ने तर विषयवस्तुको तयारी केही पनि नगर्ने नै देखिन्छ।
कोपमा जाने सरकार बाहेकका प्रतिनिधिहरू त सम्मेलनको परिसर बाहिर नाराबाजी गर्ने आफ्नो उपस्थिति देखाउने मात्रै हुन्। अधिकांश कर्मचारी घुम्ने र सपिगं गर्ने अनि नेताहरू बिना तयारीको भाषण गर्ने र लबिङमा भएको देशको पुच्छर बन्ने हो।
नेपाल त अति कम विकसित देशको अध्यक्ष पनि बनेको थियो क्यारे। त्यो बेला पनि जलवायु परिवर्तनबारे पारेको प्रभाव र हाम्रा राम्रा पक्षबारे भन्न सकेनौँ।
अनुसन्धानमा पोख्त वैज्ञानिकले सरकारसँग आफूले गरेका अनुसन्धानहरूका विषयमा कुरा गर्न नपाउनु, सरकार चाकडीमा रमाउनु, कर्मचारी के विषय उठान गर्ने भन्दा पनि को विदेश भ्रमणमा जाने भनेर होडबाजी गरेर बस्ने, गैरसरकारी संस्था त देखाउनलाई केही काम गरे जस्तो गर्ने तर ठोस रूपमा केही नगर्ने अनि जलवायु परिवर्तन र मौसम परिवर्तनको फरक छुट्ट्याउन नसक्ने अधिकांश पत्रकार हुनुले पनि जलवायु परिवर्तनको सवाल हाम्रोमा जति उठ्नु पर्ने हो त्यति उठेको छैन।
जलवायु परिवर्तनले नेपाललाई गम्भीर असर परेको छ । तर हामीलाई परेको असर अन्तर्राष्ट्रिय मञ्चहरूमा भन्न सकेका छैनौँ। हामीले कार्बन उत्सर्जन कम गर्न जोगाएका बोटबिरुवाबारे प्रस्तुति दिएर फाइदा लिन पनि सकेका छैनौँ।
यस्ता महत्त्वपूर्ण सम्मेलनमा जाने अनि आउने बाहेक केही काम भएको देखिँदैन।
०००
मैले पत्रकारिता गरेको त ४० वर्षै कटिसक्यो। कानुनको विद्यार्थी हो म। पञ्चायतकालमा पत्रिका निकाल्न सरकारको अनुमति चाहिन्थ्यो। २०३५ सालदेखि पत्रिकामा काम गर्न थालेँ पनि। मेरो आफ्नै पत्रिका प्रकाशित गर्ने अनुमति ३ वर्ष पछि मात्र पाएँ।
‘माध्यम’ भन्ने पत्रिकाबाट काम गर्न थालियो। यो साप्ताहिक थियो। पञ्चायतकालको नियम कस्तो थियो भने कुनै पत्रिका २ हजार कपिसम्म विक्री भयो भने केही न केही बहानामा प्रतिबन्ध लगाउने, त्यहाँ काम गर्नेलाई कारागारमा लगेर थुनिहाल्ने।
पत्रकारले कुटाइ खानु त सामान्य थियो। म पनि नख्खु जेलमा ५ महिना जति बसेँ। त्यहाँ बस्दा झापा विद्रोहका नेताहरूसँग भेट भयो। कांग्रेसका पनि अलि ठुलै नेताहरू थिए।
२०४२ सालको सत्याग्रहताका फेरि मलाई पक्रियो बम काण्डमा। म सत्याग्रहको पक्षपाती थिएँ, फसाइयो बम काण्डमा। अढाई महिना जेल परेँ। खास मलाई जेल पार्नुको कारण चाहिँ अर्कै थियो।
१५ वर्षमा एसियाली मापदण्डमा नेपाल पुग्ने भन्ने राजा वीरेन्द्रको योजना थियो। मैले त्यतिबेला गणेशमानजीको अन्तर्वार्ता लिएँ। अनि राजाको योजनाप्रति आलोचनात्मक भएर लेखियो।
एसियाली मापदण्ड भनेको के हो? हामी जापान जस्तो बन्ने भनेको की?, एसिया भनेपछि अति कम विकसित र विकसित देश पनि छन् भन्ने हाम्रो बुझाइ थियो।
त्यति बेलाको तरितन्नम बंगलादेश अथवा सिंगापुर, फिलिपिन्स के?, के आधारमा एसियाली मापदण्ड तोकियो भन्ने प्रश्नहरू थिए। यस्तै प्रश्नका कारण जेल परियो। भन्न चैं एसियाली मापदण्ड भन्ने योजना चैं सबैको गोडामा चप्पल पुर्याउने जस्ता न्यूनतम् आवश्यकताको कुरा मात्रै थियो।
पञ्चायतकालको पत्रकारिता मिसन पत्रकारिता थियो। २०४६ सालमा जनआन्दोलन भयो। पत्रिकाहरू खुला त भए तर एक्लै पत्रिका चलाउन सक्ने स्थिति रहेन। त्यहाँ पनि को सत्तामा जान्छ र कुन गुटको मन्त्री हुन्छ उसैका व्यक्तिलाई मात्रै सहज हुने भयो।
त्यसपछि 'माध्य'म पत्रिका चलाइएन। 'सुरुचि'मा केही समय काम गरेपछि म कान्तिपुर गएँ। कान्तिपुरमा १८ वर्ष काम गरेँ। त्यसपछि स्तम्भ लेखियो।
विभिन्न मिडियामा काम गरेपछि केही वर्ष अघि गोरखापत्रको कार्यकारी अध्यक्ष भएर पनि काम गरेँ।
रिपोर्टर, चीफ रिपोर्टर, फिचर इडिटर र डेस्कमा काम गर्दै पछि सरकारी मिडियाको अध्यक्ष हुँदा आफ्नैखाले अनुभव भयो।
४० वर्षको पत्रकारितामा धेरै जनासँग काम गरियो तर किशोर नेपाल, युवराज घिमिरे र विजय कुमार पाण्डेजतिको सम्पादक अरू पाइएन।
विषयवस्तु राम्रोसँग बुझ्ने र पत्रकारको हकहितको लागि व्यवस्थापनसँग भिड्न सक्ने तागत उहाँहरूमा देखिन्थ्यो।
प्रजातन्त्रलाई हामीले अलि हलुका तरिकाले बुझ्यौँ की जस्तो लाग्छ। पक्ष-विपक्ष बनायौँ। झगडिया बनाउँदा त राम्रो भएन नि।
पत्रकारिता पनि एक अर्कालाई सिद्धयाउने जस्तो भएको छ। विपन्नहरुलाई केन्द्रबिन्दुमा राखेर पत्रकारिता गर्नुपर्ने, त्यो हुन सकेको देखिँदैन।
विकास, प्रशासन, न्यायपालिकालाई केन्द्रबिन्दुमा राखेर हामीले जसरी काम गर्नुपर्ने हो त्यसरी गरेका छैनौँ। मिडियाले कार्यपालिकातिर मात्रै बढी सोझियो की जस्तो लाग्छ।
पत्रकारिता गर्नेले समाज बुझ्नुपर्छ तर समाज बुझेको देखिँदैन। नेपाली समाज बुझ्न जरुरी छ। तर हामी कसलाई पेल्ने, कसलाई सक्ने भन्नेमा केन्द्रित हुँदै गइरहेका छौँ।
मिडिया हाउसका सञ्चालक मालिक र काम गर्ने पत्रकार मजदुर भएका छन्। पत्रकार लाए अह्राएको काम मात्र गर्ने मजदुर होइनन्। उनीहरूको बुद्धि विवेक खियाउन दिने हो। यहाँ त साहुको के इन्ट्रेस्ट हुन्छ त्यही लेखेर बसिरहेका छन् अधिकांश।
ठूला जलविद्युत कम्पनी, बिमा, स्टक मार्केट लगायतमा साहुलाई कति प्रतिशत सेयर मागेर कुरा बिग्रेको हुन्छ अनि धेरै बुझेर लेख्ने भन्दा पनि साहुले लेखाए अनुसार लेखिरहेका छन् साथीहरू। त्यसैले त पत्रकारको तलब नआउने साहुहरू करोडौँका गाडी चढ्ने भएका छन्।
पत्रकारिताको व्यवसाय मिहिनेत गरेर हैन मिडियालाई देखाएर छिटो धनी हुन धम्कीको रूपमा प्रयोग भइरहेको छ। अधिकांश पत्रकार प्रयोग भइरहेका छौँ।
अर्को, लोकतन्त्रमा आलोचनात्मक दिमाग हुनुपर्ने हो तर हामी नेगेटिभतर्फ गइरहेका छौँ। ब्याड न्युज इज गुड न्युज भइरहेको छ। दुखद कुरा अहिलेको पुस्ता यही कुराबाट दिक्षित भइरहेको छ।
पछिल्लो समय सिटिजन पत्रकारिता मौलाइरहेको छ। सामाजिक सञ्जालका कारण अधिकांश सूचना पहिल्यै पुगिसक्छ।
अब अहिले सूचना मात्र होइन विश्लेषण र खोजी पत्रकारिता खोजिरहेको देखिन्छ आम पाठकले। तर मिडियाले यसलाई ध्यान दिन सकेको छैन।
चेतनाको हिसाबले, विकासको हिसाबले, सोचका हिसाबले, एक्सपोजरका हिसाबले हेर्ने हो भने नेपाल अहिले जस्तो गतिशील कहिल्यै थिएन। मिडियाले यो बुझ्नु पर्ने हो।
अहिले सबै बिग्रियो सबै भत्कियो मात्र भन्छन्। यो गलत हो। उथलपुथल भएको छ, विकृति पनि छन् तर विकसित हुनलाई अविकसितबाट उठ्नु त पर्छ। अविकसितबाट उठ्नलाई उथलपुथल त समाजमा हुन्छ नै।
यस्तो कुरालाई चिरफार गरेर मिडियाले लेख्नु पर्ने देखिन्छ। तर लेख्न सकेको छैन। यहाँका धनी वर्गले सम्पत्ति कमाए विदेशमा लैजान्छन्, यता आउँदैनन्। तर मध्यम वर्गकाले यता पठाउँछन् खर्बौँ रकम। अर्थतन्त्र चलायमान बनाएका छन्।
सूचनाको हिसाबले सचेत, सत्ताधारीलाई प्रश्न उठाउने सोचको विस्तारले गर्दा नेपाली समाज अहिलेसम्मकै गतिशील हो भन्ने मलाई लाग्छ। यो कुरा हामी मिडियाले उधिन्न सकेका छैनौँ।
मिडियाले वैचारिक बहस गर्न सकेन
केही वर्ष गोरखापत्रमा कार्यकारी अध्यक्ष भएर काम गरेँ। म जाँदा गोरखापत्र १ सय १८ वर्ष पुगेको थियो। गोरखापत्रमा सामान्य भन्दा पनि सामान्य समस्या थिए। हाजिरी मेसिनबाट नगर्ने, हाजिर गर्ने, काम नगर्ने, सरसफाइमा ध्यान नदिने, कागज किन्दा उस्तै लापरबाही।
एक पटक कागज किन्दा हामीले ३ करोडसम्म जोगाउन भ्याएका थियौँ। आन्दोलन गरेर कर्मचारीले कालो मोसो दल्छु समेत भने। तर आफ्नो अडान छोडिएन।
गोरखापत्रमा सम्पादक तहको मान्छेले अवकाश लिँदा १ करोड भन्दा बढी रकम पाउँदो रहेछ। सेवा त छ, तर काम छैन। यसलाई केही हदसम्म सुधार्ने प्रयास गरियो।
हुन त व्यक्तिगत रूपमा म पनि राज्यले मिडिया चलाउनु हुँदैन भन्नेमै हो। सैद्धान्तिक रूपले हेर्दा सही पनि हो। तर गोरखापत्र गएपछि मैले के थाहा पाएँ भने, निजी मिडिया अधिकांश सरकारप्रति नकारात्मक हुने रहेछन्। एकोहोरो सरकारका कमजोरी मात्रै खोतल्ने भए। जसले गर्दा दूर दराजका समाचारले ती मिडियामा स्थान नै नपाउने तर गोरखापत्रमा भने पाउने रहेछन्।
सरकारका कुरा पनि छापिने, पाना भर्नकै लागि भए पनि दूर दराजका समाचार पनि छापिने रहेछन्।
गोरखापत्रमा छँदा वैचारिक बहस गराउने प्रयास गरियो। तर सकिएन। निजी मिडियाले गर्न सक्ने हुन्। तर त्यो पनि भइरहेको छैन।
वैचारिक शून्यता हुनु मिडियाले विचार निर्माणमा सहजीकरण नगर्नु पनि हो। राजनीतिक दलहरूलाई विचारमा केन्द्रित गराउने कुनै पनि घटनामा दलको धारणा लिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा फरक र समानता हुनुपर्ने हो। तर भएको देखिँदैन।
जलवायु परिवर्तनमा, अन्तर्राष्ट्रिय सम्बन्धमा सबै दलको एकै धारणा हुनुपर्ने हो तर हाम्रोमा देखिँदैन। त्यसैले त अन्तर्राष्ट्रिय मञ्चहरूमा हाम्रो बलियो उपस्थिति हुन सकेको छैन।
मौसम परिवर्तन र जलवायु परिवर्तनको फरक छुट्याउन सक्दैनन्
२०४६ सालको परिवर्तनपछि चुनाव भयो। चुनावपछि कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो। उहाँले अमेरिका पढेका केही ‘भेट्रान’लाई योजना आयोगको सदस्य बनाउनु भएको थियो।
ती सदस्य नेपालगन्ज जाने हुनुभयो। उहाँले काठमाडौँ र नेपालगन्जको दूरी सोध्नुभयो। जेठ महिनामा उलनको टोपी, ओभरकोट जस्ता बाक्ला लुगा लगाएर नेपालगन्ज जानुभयो। त्यहाँको हपहप गर्मी।
त्यस्तै उहाँ नै हुम्ला जाने हुनुभयो। फेरि दूरी सोध्नु भयो अनि हाफ लुगा लगाएर जानुभयो, धन्न जम्नु भएन। उहाँलाई मैले अन्तर्वार्तामा सोधेको पनि थिएँ यो बारे।
भन्न खोजेको अहिले प्रविधिले तापक्रम त थाहा होला तर पत्रकारले भूगोल चिन्नुपर्छ। हामीले चिनेका छैनौँ। अनि भूगोल नै नचिनी कस्तो पत्रकारिता हुन्छ?
दुई वर्ष अघि मेलम्चीमा पहिरो गयो। अधिकांशले जलवायु परिवर्तनले भनेर लेखे। हो त ? जलवायु परिवर्तनले हो भने ३० वर्षको मौसमको तथ्याङ्क राखेर निष्कर्षमा पुग्नु पर्छ। एक दिनको घटनाले हुने कुरा जलवायु परिवर्तन हैन।
फेरी हामीले जलवायु परिवर्तनका नकारात्मक असर मात्रै रटान लगाइरहेका छौँ। के नकारात्मक मात्रै हो त? हिमालमा धान फल्न थाल्यो, तातो बढ्दै गयो, खाद्यान्न त्यही उत्पादन हुन थाल्यो,त्यहाँका नागरिकलाई सहज भयो। यो राम्रो की नराम्रो ?
जलवायु परिवर्तनले हिमाल पग्लियो भनेर हामी चिच्याइरहेका छौँ। तराई डुबानमा पर्नु पनि जलवायुकै कारण हो। हामीले यसबारे उठान गर्न जरुरी थियो। तर उठाउनै सकेका छैनौ।
इयुमा भएको कोप सम्मेलनमा जाँदा सरकारले सूक्ष्म अध्ययन गरेर जानुपर्ने हो। ६ महिनादेखि को-को जाने, कसको पालो भनेर बस्ने तर खास मुद्दा नबोक्ने देखियो। जलवायु परिवर्तनको बाह्रखरी नै नजानेका व्यक्तिहरू यस्तो सम्मेलनमा जानाले हामीले यस्तो अन्तर्राष्ट्रिय फोरमबाट जति फाइदा लिनुपर्ने हो त्यो लिन सकेका छैनौँ।
हरेक सम्मेलनमा हाम्रो उपस्थिति ल्वाँदे र लापरवाह छ। कोपमा अन्तर्राष्ट्रिय एजेन्सीहरूले लैजान्छन्। त्यो भनेको हाम्रो नेताहरूको आम सभामा गाडीबाट मान्छे ओसारेको जस्तै हो।
सरकारले मात्रै बोल्ने हो त्यहाँ। अन्य त मलामी गए जस्तै हो। त्यहाँ जाने अधिकांश रक्सी खाने, हो हल्ला गर्ने, कति पैसा आउँछ भनेर हेर्ने मात्रै हुन्। हामी चैं उनीहरूका चर्तिकलाका समाचार लेख्ने। कहाँ गएर, के गर्ने भन्ने थाहा नभएपछि यस्तै हुन्छ।
प्रधानमन्त्रीले जलवायु परिवर्तनमा हामीले गरेको काम जुनसुकै सरकार भए पनि अनि अनुसन्धाताले गरेको अनुसन्धान र अब हामीले हिँड्न चाहेको बाटोबारे बोल्नु पर्ने हो।
तर अघिल्ला सरकारका कामहरू केही उल्लेख नगर्ने पाङ न पुच्छरको बोलेर हिँड्ने काम मात्रै भएको छ। त्यसैले त हामीले जोगाएका हिमाली भेगका बुट्यान जसले गर्दा वातावरणमा राम्रो योगदान गरेको छ यसबारे हामीले कुरा उठाउन सकेका छैनौँ।
जलवायु सम्बन्धी अध्ययन नगर्ने, वरपरका वातावरण हेरेर गफ दिने भयौँ। सम्मेलनमा धेरै नै जान्छौँ तर उपलब्धि किन हुँदैन? यो कुरा पत्रकारले पनि उठाउँदैनन्। किनकी पत्रकारहरू झिंगेदाउ भए। इस्यु उठाउन भन्दा पनि कहाँ घुम्न जाने, के गर्ने भन्नेतर्फ ध्यान गयो।
यत्रा सामुदायिक रेडियो छन् कार्यक्रम गर्न सकिँदैन? गीत बजाएर बसेर हुन्छ? खै हाम्रो विषयवस्तुमा ज्ञान?
मिडिया हाउसलाई इस्यु उठानमा ध्यानै छैन। अधिकांश सम्पादकहरू साहुलाई मात्र हेर्ने भए। इस्युको बुझाइ कम,साहुजी पत्रकारिता बढी देखियो। त्यस्तै पत्रकारिता ग्ल्यामर पेसा जस्तो भयो।
मलाई विजयकुमारको एउटा शैली मन पर्दैनथ्यो, हप्काएर प्रश्न सोध्ने। त्यो केही पत्रकारले पछ्याइरहेका छन् अहिले पनि। पाहुनासँग हप्काएर हैन नि मिलाएर सोध्ने हो। माइक लिएर बस्दैमा अरूलाई निर्धा ठान्नु हुँदैन।
जलवायु मात्रै होइन हरेक इस्युका पत्रकारले आफ्नो बिटको पढ्नुपर्ने, हेर्नुपर्ने कुरा गर्नुपर्छ। तर किताब पढ्ने पत्रकार कति छन्?
यस्तो हुनुमा पत्रकारको मात्रै कमजोरी हैन। मिडिया हाउसले पत्रकार र समाचारमा लगानी गर्न छाडेका पनि हुन्। पत्रकारलाई तलब नदिने तर ४ करोडको गाडी चढ्ने।
साना मिडियाले राम्रो नगरेका हैनन् तर ठूला मिडियाको मुनि साना मिडिया भए, जति प्रभाव पार्नुपर्ने त्यति पारेको देखिँदैन।
(माध्यम, सुरुचि, कान्तिपुर, सदृश्य र पछिल्लो समय गोरखापत्रको कार्यकारी अध्यक्ष भएका भण्डारीसँग उकेराको चौथो अंग कोलमको लागि ‘नेपाली पत्रकारितामा जलवायु परिवर्तनको समाचार’ विषयमा आधारित रहेर प्रजु पन्तले गरेको कुराकानीमा आधारित)
चौथो अंगका पुराना श्रृंखला
मंसिर १९, २०८० मंगलबार १८:२४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।