जोफ्रा आर्चरले २०२४ को आईपीएल नखेल्ने

जोफ्रा आर्चरले २०२४ को आईपीएल नखेल्ने

एजेन्सी : इंग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले २०२४ को आईपीएलमा सहभागी नहुने भएका छन्।

इङ्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) आर्चरको कामको बोझ व्यवस्थापनका लागि यस्तो निर्णय गरेको बताइएको छ।

ईसीबीले आर्चरलाई जुनमा हुने टी-२० विश्वकपका लागि उपलब्ध गराउनका लागि आफ्नो मेडिकल टोलीको निगरानीमा राखेको छ।

आर्चरले मे २०२३ देखि क्रिकेट खेलेका छैनन्। उनी रिजर्भ खेलाडीका रूपमा इङ्ल्यान्डको विश्वकप टोलीसँग भारत आएका थिए। तर कुहिनोमा चोट दोहोरिएपछि उनी पुन: इङ्गल्याण्ड फर्किएका थिए।

उनले डिसेम्बर १९ मा दुबईमा हुने आईपीएलको लिलामीमा पनि आफ्नो नाम दर्ता गरेका थिएनन्। यस लिलामीका लागि ३४ इंग्लिस खेलाडीसहित १ हजार क्रिकेटरले दर्ता गरेका छन्।

गत हप्ता मात्र मुम्बई इन्डियन्सले उनलाई रिलिज गरेको थियो। मुम्बई इन्डियन्सले आर्चरलाई गत वर्ष ८ करोडमा किनेको थियो।

हालै, आर्चरले इङ्ल्याङ्ड क्रिकेट बोर्डको केन्द्रीय अनुबन्धमा हस्ताक्षर गरेका छन्। जुन सम्झौता अक्टोबर २०२३ देखि सेप्टेम्बर २०२५ सम्म चल्नेछ।

यस वर्षको सुरुमा आईपीएल डेब्यू गरेपछि आर्चर बेल्जियम गएका थिए। जहाँ उनको कुहिनोको शल्यक्रिया गरिएको थियो।

त्यसपछि उनी भारत फर्किएर मुम्बई इन्डियन्सका लागि थप चार खेल खेलेका थिए। तर पुन: स्ट्रेस फ्र्याक्चर भएर भएपछि उनी इङ्ल्यान्ड फर्किएका थिए।

१८ मंसिर, २०८०, ११:४९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।