निर्वाचितलाई बर्खास्त गरी पराजितलाई उपसचिव बनाउन शंकर पोखरेलको निर्देशन, एमाले कर्णालीमा खैलाबैला

निर्वाचितलाई बर्खास्त गरी पराजितलाई उपसचिव बनाउन शंकर पोखरेलको निर्देशन, एमाले कर्णालीमा खैलाबैला

सुर्खेत : महासचिव शंकर पाेखरेलले पठाएको पत्रले कर्णाली एमालेमा खैलाबैला मच्चिएको छ।

असोजमा भएको प्रदेशको अधिवेशनबाट निर्वाचित उप-सचिव रमेश शाहीलाई बर्खास्त गरेर पराजित अखिल नेपाल महिला संघ कर्णाली प्रदेश अध्यक्ष पदमा खड्कालाई जिम्मेवारी दिन भन्दै केन्द्रबाट निर्देशन आएपछि दुई गुटबीच थप द्वन्द्व बढेको हो।

कर्णाली एमालेको एउटा समूहले पदमा खड्कालाई समावेशिताको नाममा उप-सचिव बनाउनुपर्नेमा ठिक गरेको भन्दै पार्टी नेतृत्वको प्रशंशा गरेको छ भने अर्को टीमले हारेको व्यक्तिलाई पदमा ल्याइएको भन्दै नेतृत्वको आलोचना गरेको छ।

एमालेको केन्द्रीय सचिवालयको गत कात्तिक २२ गतेको बैठकले उक्त निर्णय गरेको पत्राचार महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीलाई निर्देशन दिएपछि असन्तुष्टि चर्किएको हो।

प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीमा महिला आरक्षणको व्यवस्था एमालेले गरेको थिएन। महिला कोटा हुनुपर्ने दावीसहितको निवेदन परेपछि सचिवालय कमिटीले उक्त निर्णय गरिएको जनाइएको छ।

निर्णय कार्यान्वयन गराउन लेखिएको पत्रमा भनिएको छ, ‘कर्णाली प्रदेश अधिवेशनमा पदाधिकारीमा महिला आरक्षण नगरिएकोमा उप-सचिव पदमा महिला कोटा हुनुपर्ने दावीसहितको निवेदनलाई समेत ध्यानमा राखी विजयी पुरुष उम्मेदवारमध्ये दोस्रो मत ल्याउने रमेश शाहीकाे स्थानमा महिला उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने पदमा खड्कालाई उप-सचिव पदमा बहाल गर्ने। रमेश शाहीलाई प्रदेश कमिटीमा मनोनित गर्ने।’

यता, उप-सचिवबाट बर्खास्त गरिएका शाहीले भने निर्णय नै मनगढन्ते भएकोले आफूले नमान्ने बताएका छन्।

‘हामी अधिवेशनबाट लोकतान्त्रिक विधिपद्वती अवलम्बन गरेर चुनाव जित्दै पदाधिकारीमा आएका हौँ। अधिवेशनमा कार्यकर्ताले दिएको मतबाटै चुनिएका हौँ। पार्टीको विधान बमोजिम कमिटीमा ३३ प्रतिशत महिला, जनजाती, अल्पसंख्यक लगायतको व्यवस्था भएको भए पनि पदाधिकारीमा त्यस्तो कुनै व्यवस्था नै विधानमा छैन,’ उनले भने, ‘विधान विपरीत जसलाई मन लाग्यो, त्यसैलाई जिम्मेवारी दिने भन्ने कुरा हास्यास्पद हो। निर्वाचित कमिटीका पदाधिकारीको यो अधिकार खोस्ने अधिकार केन्द्रका महासचिव मात्रै होइन, कसैको पनि हुँदैन र छैन।’

उनले यस्तो गलत प्रवृत्ति पार्टीमा मौलाउनु राम्रो नहुने बताए।

‘शपथ खाइसकेका छौँ। दुई वटा बैठक बसिसकेका छौँ। विभिन्न निर्णय गर्दै कार्यान्वयनमा गइसकेका छौँ,’ उनले भने, ‘सचिवालय बैठकको हवाला दिएर मेरो नाम हटाउने र प्रदेश कमिटीमा मनोनित गर्ने भन्ने पत्र देख्दा हामी सबैलाई अच्चमित बनाएको छ। यो महासचिवको मनलाग्दी निर्णय हो।’

अधिवेशनमा निर्वाचित शाही यामलाल कँडेल र खड्का गोरख बोगटी–विनोदकुमार शाहको टिमबाट उप-सचिव पदमा निर्वाचन लडेका थिए।

१३ मंसिर, २०८०, १०:५९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।