पञ्यायती व्यवस्थाविरुद्ध लड्दा ज्यान जोगाउन भारत भागेका शम्भु राई वीरेन्द्र र धीरेन्द्र अगाडि गीत गाउन बाध्य भएपछि...
धनकुटाको चुम्वाङमा जन्मिएका हुन् गायक शम्भु राई। जन्मिएको १८ महिनामा नै बुवाको निधन भएपछि आमाले नै हुर्काइन् उनलाई। सानैबाट विद्रोही स्वभावका उनी गाउँघरकै स्कुलमा पढे। एसएलसी सकेपछि नुन लिन धरान झरेका उनी त्यसपछि गाउँ फर्किएनन् अनि राजनीति र गीत संगीतमा होमिए।
जनवादी गीत गाउँदै पञ्चायती व्यवस्थाको विरोधमा उत्रिएका उनले पूर्वको मेचीदेखि पश्चिमको सुर्खेतसम्म हिँडेरै आफ्नो अभियानमा लागे। त्यसका लागि दुई वर्ष लाग्यो। २०३७ सालमा विवाह बन्धनमा बाँधिएका उनी त्यसपछि भने आमा लिएर धनकुटा छाडेर सधैँका लागि धरान झरे।
जेबी टुहुरेको संगतले उनमा जनवादी गीतहरूप्रतिको लगाव बढ्यो। व्यवस्थाविरोधी आन्दोलनमा समेत होमिएका उनी त्यहि क्रममा ज्यान जोगाउन भारतसमेत भाग्नुपर्यो।
जहान र बच्चाबच्चीका भविष्यका लागि भन्दै उनी २०४१ सालमा काठमाडौं आए। काठमाडौंमा भने उनले जनवादी भन्दा बढी माया प्रेमका गीत गाउन थाले। त्यसैले उनलाई दर्शक स्रोतामाझ परिचित पनि गरायो।
त्यहि क्रमको उनले रेकर्ड गरेको पहिलो गीत हो, ‘चलेछ बतास सुस्तरी’। यो गीतको अहिले पनि उतिकै चर्चामा छ।अहिले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति रहेका राईले आफ्नो हिजोको अनुभव उकेरासँग यसरी साटे।
बाल्यकालका ती दिन
म जन्मिएको धनकुटा चुम्वाङ गाविसमा हो। अहिले पाख्रिबास नगरपालिका भयो। बाल्यकाल त्यहिँ बित्यो। त्यहिँको भारती माविमा पढेर एसएलसी दिएँ।
धरान आउनुअघि वनपाखामा घाँस दाउरा, मेलापात, गाईवस्तु गोठालो गरियो। घर वरिपरी खेती किसानीमा नै समय बिताइयो। किनभने त्यो समयमा खेती किसानी नै थियो अर्को उपाय थिएन।
हाम्रो गाउँमा नुन पाँइदैनथ्यो। बर्खा लागेपछि नुन लिनकै लागि धरान आउनुपर्थ्यो। एक पटक किनेर लगेपछि बर्खाभरि पुर्याउनुपथ्र्यो।
एक दिन धरान नुन लिन आउने क्रममा चाहि धरानमा नै बसेँ। घर फर्केरै गइनँ। गीत संगीतमा रुचि भएकाले धरानमै साथीहरूसँग बसेर रमाउन थाले।
एसएलसीपछि पढ्नका लागि २०३० सालमा धरान नै आएर बस्न थालेँ। धरानमा आईए अध्ययनका लागि भर्ना भए पनि पास गर्न भने सकिनँ।
गन्धर्वको सारङ्गी
गाउँघरमा हुँदा मेला महोत्सवमा गीत गुनगुनाउने गर्थेँ। गाउँमा सारङ्गी दाइहरू आउनुहुन्थ्यो। सारङ्गी बजाएर गीत गाएको देखेपछि मलाई पनि बजाउन मन लाग्न थाल्यो। मैले सारङ्गी बजाउदा समाजमा हेर्ने दृष्टिकोण अहिलेको जस्तो थिएन। अलिक फरक थियो। जातियताको कुरा आउँथ्यो।
यो त तल्लो जातकोले बजाउने चिज हो, हामीले होइन, अछुत भइन्छ भन्ने गर्नुहुन्थ्यो। तर म त्यस्तो कुरालाई वास्ता गर्दिनथेँ। त्यस्तो लाग्दैनथ्यो मलाई। बजाउन रहर लाग्ने भएकोले म बजाउथेँ अटेरी भएर।
मेरो बुवा म १८ महिनाको हुँदा बित्नुभएको रहेछ। मैले बुवाको रुपरङ्ग कस्तो थियो पत्तै पाइनँ। आमाकै काखमा हुर्किएँ। पछि आमालाई एक्लै छोडेर म धरान नुन लिन भनेर आएको थिएँ। धरान आउँदा पूर्वाञ्चलकै लोकगीत प्रतियोगिता हुन लागेको थाहा पाएँ।
गीत गाउन रुचि भएकाले म पनि प्रतियोगितामा सहभागी भएँ। आफैँ सारङ्गी बजार लोक गीत गाएँ र प्रथम पनि भएँ। त्यो प्रतियोगिताले मलाई लोक गीतसंगीतमा लाग्न अझै प्रेरणा मिल्यो।
नुन लिन भनेर धरान झरेको म प्रतियोगिता जितेपछि घर नै फर्किनँ। धरानमै बसेँ। धरानमा बसेपछि साथीभाइसँग चिनजान पनि भयो।
धरानमा रहदैँ बस्दै गर्दाखेरि धरानको महेन्द्र बहुमुखी क्याम्पसमा आइए अध्ययन थालियो। तर, पास गर्न सकिएन। धरान बसेपछि पढाइ र गीत संगीतमध्ये एक रोज्नुपर्ने भयो। दुवैलाई लिएर अगाडि बढ्न सकिन मैले। त्यसैले गीतसंगीत रोजेँ।
पञ्चायती व्यवस्था विरुद्ध लड्दा
२०३४ सालमा पाकिस्तानमा त्यहाँका पूर्वराष्ट्रपति जुल्फिकर भुटोलाई मृत्युदण्ड दिइयो। त्यसको विरोधमा हामीले धरानमा आन्दोलन पनि गर्यौँ। त्यतिबेला देशमा पञ्चायती व्यवस्था थियो। प्रहरीले आन्दोलनमा दमन गर्यो।
जनवादी गीत गाउँदा मलाई प्रहरीले नकुटेको, यातना नदिएको भन्ने नै छैन। जनवादी गीत संगीतलाई अभियानका रूपमा निरन्तरता दिन हामी लागेका थियाैँ।
वामपन्थी धारमा लागिसकेको थिएँ म त्यतिबेला। सांस्कृतिक विभागको पूर्वाञ्चल भेगको कमाण्डर थिएँ। मेरो नेतृृत्वमा जेबी टुहुरे दाइहरू हुनुहुन्थ्यो। उहाँहरू भएता पनि मैले सांस्कतिक नेतृत्व मैले गरेको थिए। राजनीतिक मिश्रित रूपमा हामी सबै रहेका थियौँ।
त्यो अभियानमा हिड्दाखेरि हातखुट्टा नभाँचिने, पुलिसको कुटाइ नखाने, पञ्चहरूको लात्ती नभेट्ने कोही पनि हुँदैनथ्यो। मैले कति खाएँ खाएँ, अहिले भनेर साध्य नै हुँदैन।
मलाई केसम्म गरे भने, मुन्ट्याएर घोक्र्याई खेतको कान्लामा फ्याँकेर थुपैपटक गोदे। यसरी कुटाइ खाए पनि जनताको गीत गाउँदै त्यो समयमा नेपालको अधिकांश भू–भागमा पुग्ने मौका पाएँ। पूर्वको मेचिदेखि पश्चिमको सुर्खेतसम्म हिँडेरै पुगेको छु। यो कार्यक्रम दुई वर्षसम्म चल्यो।
२०३६ सालमा सांगीतिक प्रगतिशील गीति कार्यक्रम कार्यक्रममा रमेश श्रेष्ठ, जेबी टुहुरे दाइ, रमेश दाइको भाइ लगायत म आफैँ भएर यो संस्था सुरुवात गरेका थियौँ। यसको संस्थापक हामी हौँ। गीति संकल्पको सम्पादक चाहिँ कुन्ता शर्मा हुनुहुन्थ्यो। अहिले उहाँ धरानमै हुनुहुन्छ।
त्यो कार्यक्रमले प्रगतिशील गीत संगीतको जनलहर ल्यायो। त्यसले राजनीतिक रूपमा धेरैलाई वामपन्थी क्षेत्रमा स्थापित गर्ने काम गर्यो। त्यति बेला विराटनगरमा राखिएको ठूलो कार्यक्रममा मैले गीत गाएँ। त्यहाँ मेरो खुब चर्चा भयो।
यहि आन्दोलनका क्रममा राज्य र पञ्चायतबाट ज्यान जोगाउन भारत पस्नुपरेको थियो। सरकारले बहुदल रोज्ने कि निर्दल भन्ने बेलामा म, जेबी टुहुरे दाइ, मञ्जुल दाइ, विक्रम सुब्बा र पूर्वमन्त्री हेमराज राई लगायतका हामी केही ज्यान जोगाउन कलकत्ता भागेका थियौँ।
छरछिमेकीका कारण विद्रोही बनेँ
मेरी आमा तीस वर्षमा विधवा हुनुभो। आमा विधवा हुँदा गाउँका ठूलाबडाहरूले हामीलाई दुःख दिने, हकार्ने र पिट्ने गर्थे।
यसैको प्रभावले मलाई विद्रोह गर्ने सोच पलायो। उनीहरूको त्यस्तो व्यवहारले म पीडित थिएँ। म भित्र–भित्रै मुर्मुरिएर हिँड्थेँ। तर मैले गर्न केहि सक्दिँन थिएँ।
यहि क्रममा म धरान नुन लिन आउँदा फर्किएर धनकुटा गइनँ। आमा उतै हुनुहुन्थ्यो। मैले धरानमा नै बिहे गरेर आमालाई यतै ल्याए।
रेडियो नेपालमा गीत गाउँदा
नेपालमा बहुदल आउनु अगावै म काठमाडौं आइसकेको थिएँ। मैले पनि बाँच्नुपर्छ, आफ्नो लागि पनि केहि गर्नुपर्छ भन्ने हिसाबले ४१ सालमा काठमाडौंको चावहिलमा बस्न थालिसकेको थिएँ।
त्यसअघि नै अर्थात् ४० सालतिरै रेडियो नेपालमा पहिलो पटक ‘चलेछ बतास सुस्तरी’बोलको गीत रेकर्ड गरेको थिएँ। बाँच्ने र बचाउने हिसाबले रेडियो नेपालमा गीत गाउने क्रममा अग्रज दाइ दिदीहरूसँग सल्लाह गरेर नै आएको थिएँ।
उहाँहरूले नै राम्रो गीत गाउनु, संगीत भर्नु, शब्द लेख्नु भन्नुभएको थियो। सोही अनुसार मैले गीत गाएँ। मेरो वैचारिक कुराहरू त छँदै थियो तर यहाँ आएपछि मैले ब्यालेन्स मिलाएर राज्य र जनता दुवैलाई समेट्दै गीत रेकर्ड गराएँ।
सकेसम्म गीतमा आफ्ना कुराहरू राखेर बनाउँथे। सरकारलाई विरोध र जनतालाई समर्थन गरेर गीत गाउँदा कसैलाई थाहै हुँदैन थियो। त्यसकारण मेरो गीतहरू रेकर्ड गर्दा रोकिएनन्।
त्यहि भएर पनि होला मेरो देश तथा विदेशमा मेरा सिर्जनाहरू चले। त्यहि सिर्जना चलेको हुनाले अहिले पनि देश तथा विदेशमा मलाई बोलाउने क्रम जारी छ।
राजपरिवारले गीत गाउन बोलाए
मेरो गीत सुनेर तत्कालीन राजा वीरेन्द्रले आफ्ना कार्यक्रमहरूमा गीत गाउन बोलाउँथे। उहाँले राखेका कार्यक्रमहरूमा म गीत गाउन जान्थेँ। उनीहरू गीत संगीतमा रमाउथेँ।
वीरेन्द्र, धीरेन्द्र लगायतका अगाडि धेरैपटक फेस टु फेस गीत गाएको छु। मनमा विचारमा अर्को भएता पनि राजाका अगाडि गीत गाउनुपर्थ्यो।
बाँच्ने र बच्ने कुरामा इमान्दारिताका साथ काम गरिन्थ्यो। उहाँहरूबाट बक्सिसभन्दा पनि धन्यवाद पाइन्थ्यो। गीत राम्रो छ भनेर प्रशंसा हुन्थ्यो। त्यो भन्दा अरु केहि हुँदैनथ्यो।
मंसिर ८, २०८० शुक्रबार १३:०५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।