बुटवल उपमहानगरले ३ महिनामा उठायो १८ करोड राजस्व

बुटवल उपमहानगरले ३ महिनामा उठायो १८ करोड राजस्व

बुटवल : बुटवल उप-महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०-०८१ को  पहिलो त्रैमासमा १८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। 

उप-महानगरपालिकाले आइतबार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा गर्दै चालु आर्थिक वर्षको तीन महिना (साउन-असोज)मा १० दशमलव ४९ प्रतिशत बजेट खर्च गरेको जनाएको छ। गत आर्थिक वर्षको यो अवधिमा ८ दशमलव  ४ प्रतिशत खर्च भएको थियो।

समिक्षा कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलले चालु आर्थिक वर्षमा उज्यालो बुटवल, सफा बुटवल, शिक्षा र स्वास्थ्यमा अग्रणी बुटवल बनाउने गरी योजना बनाएर कार्यान्वयनमा गएको बताए। 

चालु आर्थिक वर्षमा लगानी सम्मेलन गरी लगानीकर्ता आकर्षित गर्ने, गृहणी महिला रोजगार कार्यक्रममार्फत महिलाहरुलाई उत्पादन र रोजगारसँग जोड्ने, पछाडि परेका विद्यालयहरुको स्तरोन्नतिका लागि कार्यक्रम गर्नेजस्ता काम अगाडि बढाइएको उनले बताए। 

यस्तै, उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध शहरका रुपमा स्थापित गर्नका लागि योजनाअनुसार काम भइरहको बताइन्। 

उनले सबै क्षेत्रलाई समेटेर नगरले काम गरिरहेको र यसमा सबैको साथ आवश्यक रहने बताइन्।

प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले बुटवललाई योजनाबद्ध विकासका लागि कार्ययोजना बमोजिम सबै कामहरु अगाडि बढेको बताए। 

उनले चालु आर्थिक वर्षमा राजस्व संकलनलाई अझै धेरै बढाउने गरी काम भइरहेको बताए।

योजना शाखा प्रमुख दामोदर ज्ञवालीले प्रगति विवरण प्रस्तुत गर्दै कार्यक्रममा बितेको तीन महिनामा बुटवलले पशु बधशालाको सञ्चालनका लागि सम्झौता गरेको, मुख्य सडक र भित्री सडकहरु सरसफाइ तथा हरियाली बनाउन वृक्षारोपण गरेको, उज्यालो बुटवल अन्तरगत उज्यालो बनाउन विद्युतीकरण गरिएको, खाली सटरहरू ठेक्कामा लगाएको, बसपार्क सुधार अभियान सञ्चालन गरिएको बताए।

२० कात्तिक, २०८०, ०८:१९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।