भुवन केसीका ‘प्रिय’ वासुदेव पुन: जोडिए ठगीमा, साढे १४ लाख लिएर पैसा दिएनन्

भुवन केसीका ‘प्रिय’ वासुदेव पुन: जोडिए ठगीमा, साढे १४ लाख लिएर पैसा दिएनन्

काठमाडौं : चलचित्र विकास बोर्डबाट नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने ठेक्का पाएका सूर्य कर्पोरेसन प्रालिका प्रमुख वासुदेव लामिछानेको ठगी शृङ्खला रोकिएको छैन।

चलचित्र विकास बोर्ड लगायतका संस्थाका प्रमुखहरूलाई प्रभाव पारेर विदेशमा कार्यक्रम आयोजना गर्ने भन्दै मानव तस्करी गर्ने लामिछानेको पुरानै धन्दा हो।

उकेराले उनको यो धन्दाबाट धेरै अगाडि प्रमाणसहित खुलासा गरेको थियो। तर, विकास बोर्डका अध्यक्ष भुवन केसीको प्रिय भएकाले लामिछानेले सरकारी ठेक्का पाउन रोकिएन। उनका मुख्य सहयोगी हालका चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामी नै थिए।

फिल्मको आवरणमा मानव तस्करीको धन्दा सुकेपछि उनी ठगीमा लागेको खुलेको छ। अहिले शर्मिला राणा लामिछानेले प्रलोभनमा पारेर लिएको  साढे १४ लाख रकम उठाउन प्रहरीकोमा धाइरहेकी छन्।

राणा र लामिछानेबीच भएको च्याट संवादअनुसार उनले पैसा लिएको प्रमाणित हुन्छ। लामिछानेले सन् २०१९ मा उनीसँग पैसा लिएका थिए।

सूर्य कर्पोरेसनमा कार्यरत लेखापाल मिरा लामाले राणा र लामिछानेको सम्पर्क गराएको देखिन्छ। केही समयको लागि भन्दै मागेपछि उनले लामिछानेलाई साढे १४ लाख रूपैयाँ दिइन्।

वासुदेवले पैसा फिर्ता दिएनन्। बरु केही समय त्यसको ब्याज दिए। मिराले सूर्य कर्पोरेसन छाडिन्।

जब राणाले पूरै रकम फिर्ता मागिन् अनि लामिछानेले सूर्य कर्पोरेसनमा कार्यरत अर्की लेखापाल राधिका थापाको नामबाट साढे १४ लाखको चेक दिए। राणाले चेक त पाइन् तर रकम साटिएन। अनि उनले अहिले सूर्य कर्पोरेसनकी लेखापाल राधिकाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा बैङ्किङ कसुर अन्तर्गत जाहेरी दिइसकेकी छन्।

‘सन् २०१९ मा साढे १४ लाख दिएको हो। सुरूमा त केही रकम ब्याजको भनेर दिएकै थिए। पूरै पैसा देलान् भन्नुभयो,’ उनले भनिन्, ‘त्यो पैसा मैले घर बनाउन अरूसँग सापट लिएको थिएँ। कोरोना कालमा घरको काम नभएपछि बहिनीले भनेर यता पैसा दिएँ। ऋण लिएकाले मागेर हैरान छ। यता वासुदेवले पैसा दिँदैनन्।’

उकेराले पाएको वासुदेव र शर्मिलाको म्यासेन्जरको कुराकानीमा शर्मिलाले पैसा मागेपछि वासुदेवले ‘मैले अहिले टाइम फिक्स गर्न सकेको छैन ‘बट आइएम ट्राइङ, विल यु लेट यु नो’ भनेर पठाएका छन्।

त्यस्तै अर्को म्यासेजमा ‘सहज हुन्थ्यो भने पैसाको लागि मरिहत्ते गर्ने मान्छे होइन त्यो मार्केटमा बुझ्नुस् थाहा हुन्छ, हुँदा सक्दा दिएकै कुरा हो ख्याल गर्नु’ भनेर पठाएका छन्।

लामिछाने(सेतो सर्ट) सँग भुवन, अनमोल र बलामी।शर्मिलाले ‘तपाईं फटाहा हुनुहुँदो रहेछ’ लेखेपछि लामिछानेले, ‘सेण्ड मी योर अकाउन्ट नम्बर विथ क्युआर कोड’ भनेर म्यासेज पठाए।

शर्मिलाले क्युआर कोड छैन भनेपछि बैङ्कमा प्रयोग भएको फोन नम्बर माग्दै उनले जसरी पेमेन्ट हुँदै गएको छ त्यसरी नै पेमेन्ट हुँदै जाने लेखे।

तर, भुक्तानी आएन। सन् २०२३ अप्रिल ११ मा सूर्य कर्पोरेसनकी तत्कालीन लेखापाल राधिका थापाको नामको चेक आयो। चेक साटिएन। उनले पटक पटक यसबारे वासुदेवसँग कुरा गरे पनि पैसा फिर्ता आउने नदेखेपछि प्रहरीमा गइन्।

निरन्तर ठगीमा वासुदेव

वासुदेवको पृष्ठभूमिले उनी मनोरञ्जनात्मक कार्यक्रमको आवरणमा निरन्तर ठगी अनि मानव तस्करीमा संलग्न देखिन्छन्। उनले सूर्य कर्पोरेसन प्रालि नामको इभेन्ट गर्ने कम्पनी दर्ता गरेका छन् नेपालमा। त्यही कम्पनीबाट उनी कहिले विद्यार्थी भिसामा त कहिले विदेशमा हुने कार्यक्रममा लैजाने भनेर मानव तस्करीमा समेत संलग्न देखिएका थिए।

अमेरिका, जापान अनि अस्ट्रेलियामा रोजगारीमा पठाउने भन्दै ठगी गरेको पर्याप्त प्रमाण फेला परेपछि वैदेशिक रोजगार विभागले सूर्य कर्पोरेसनको कार्यालयमा छापा समेत मारेको थियो। तर मिलेमतोमा छुटे उनी।

विभागले कर्पोरेसनको कार्यालयमा छापा मार्दा रोजगारीमा पठाउने भन्दै लिएको ८० वटा पासपोर्ट अनि विदेश पठाउन भनेर बनाएको टन्नै लेनदेनको कागज फेला पारेको थियो। पासपोर्टहरूमा नेपाली कला क्षेत्रका कहलिएका नरेश भट्टराई लगायतको पासपोर्ट फेला परेको थियो।

विभागले छापा मार्दा जापान, क्यानडा अमेरिका लगायतका मुलुकमा पठाइदिने भनी सङ्कलन गरेको करिब ८० थान पासपोर्ट बरामद भएको भन्दै सूचना समेत निकालेको थियो।

सूचनामा तीन वर्ष अगाडिदेखि पासपोर्ट बुझिलिई हालसम्म नपठाएकाले कारबाही गरि पाऊँ भनी उजुरी परेको आधारमा पक्राउ गरिएको उल्लेख थियो।

३० लाख सरकारी खर्चमा दुबइमा भएको नेपाल फेस्टको हविगत।

विभागमा उजुरी गर्नेहरूले पत्रकार समीर बलामी र वासुदेव लामिछानेको नाम लिएका थिए।

उनीहरूले नाम लिएका दुवै जना काठमाडौँमै थिए। तर विभागले उनीहरूलाई पक्राउ नगरी केही कर्मचारीलाई पक्राउ गरेर हिरासतमा राख्यो र पैसा दिएको भन्दै सूर्य कर्पोरेसनलाई गम्भीर अपराधमा उन्मुक्ति दियो। यो अनुसन्धानमा विभागका तत्कालीन महानिर्देशक उमाकान्त आचार्यको बदनियत देखियो।

सूर्य कर्पोरेसन यस अगाडि नै मानव तस्करीमा विवादमा आएको कम्पनी थियो। यसले विदेशमा कार्यक्रम गर्ने भन्दै कलाकारहरूको समूहमा गैर कलाकारलाई राखेर प्रतिव्यक्ति १२ लाख देखि ३० लाखसम्म उठाएर पछि उतै छाड्ने गरेको अडियो नै सार्वजनिक भएको थियो।

सो कर्पोरेसनसँग आबद्ध व्यक्तिले कार्यक्रममा सहभागी गराउन जापान ल्याएर शरणार्थीको रूपमा कृषि फर्ममा काम लगाइदिने भन्दै प्रतिव्यक्ति १२ लाख मागेको अडियो सार्वजनिकहुँदा समेत कारबाही भएन।

उता भुवन केसीको सक्रियतामा सूर्य कर्पोरेसनले युएईको दुबईमा नेपाल सिनेमा फेस्ट गर्न ३० लाख सरकारी रकम पायो।

अहिले आएर लामिछाने पुन साढे १४ लाख ठगीमा जोडिए। यसबारे उनीसँग कुरा गर्न उकेराले उनलाई सन्देश पठाए पनि उनीसँग सम्पर्क हुन सकेन।

सम्बन्धित समाचार

२३ असोज, २०८०, १९:२३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।