आममाफी र कैद सजायको निर्णयको पक्षमा उभिए पूर्णबहादुर खड्का

आममाफी र कैद सजायको निर्णयको पक्षमा उभिए पूर्णबहादुर खड्का

काठमाडौँ : सर्वोच्च अदालतले मानवता विरोधी क्रूर अपराध भनेको टिकापुर घटनाका योजनाकारदेखि संलग्नसम्मलाई सरकारले कैद मिनाहा र माफी दियो। हुँदाहुँदै हप्ता असुलीको विवादमा खुँडाले हानेर व्यक्ति मार्नेले समेत कैद माफी पाएपछि सरकारको आलोचना भइरहेको छ।

उता नेपाली कांग्रेसका उपसभापति तथा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का भने सरकारले दिएको आममाफीको पक्षमा उभिएका छन्। उनले पार्टीको जारी केन्द्रीय समितिको बैठकमा संविधान र ऐनले दिएको सुविधाअनुसार नै सरकारले आममाफी दिएको दाबी गरे।

केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारले दिएका केही आममाफीका विषयमा असन्तुष्टि जनाएपछि उनले आफ्नो धारणा राखेका थिए।

कानुनले व्यवस्था गरेको र संविधानले दिएको छुटअनुसार जेलरले चालचलन सुधारका कुरासहित भोगेको कैद सजायको अवधि अनुसार सिफारिस भएमा छुट्ने कानुनी प्रावधान रहेको भन्दै उनले सबै संविधान र ऐनले दिएको सुविधाअनुसार भएको दाबी गरे।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी दिने संवैधानिक व्यवस्था रहेको बताउँदै बैठकमा आममाफीका केही विषय छलफलका विषय रहेको उनले स्वीकार गरे।

८ असोज, २०८०, १८:०५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।