कांग्रेसइतर समूहको बैठकमा विश्वप्रकाशको खोजी, धनराजले दिए दाम्लोको उदाहरण

कांग्रेसइतर समूहको बैठकमा विश्वप्रकाशको खोजी, धनराजले दिए दाम्लोको उदाहरण

काठमाडौँ : पार्टी संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार बनेका पार्टी महामन्त्री गगनकुमार थापालाई साथ दिएपछि अर्का महामन्त्री विश्वप्रकाश शर्मा अनि केन्द्रीय सदस्य प्रदीप पौडेल पनि गगन समाहित शेखर कोइराला समूहमै सक्रिय हुने सङ्केत देखिएको थियो।

गगनसँग यी दुवै नेताले नीतिगत सहकार्य गरिरहेका थिए। सार्वजनिक कार्यक्रममै शर्माले गगनलाई भावी प्रधानमन्त्रीको रूपमा इन्डोर्स गर्दै आएका पनि छन्।

तर यो बिचमा शेखर-गगनबिचमै दुरी बढेको सङ्केतहरू देखिए। शेखर र गगनले सार्वजनिक मञ्चमा दिएका अभिव्यक्तिहरू बाझिन थालेका थिए। गगनले १५ औँ महाधिवेशनमा सभापतिको तयारीका लागि आफ्नै समूह निर्माणको गृहकार्य गरिरहेको गाईँगुईकाविच शेखरले गगन सहितसँग छलफल अगाडि बढाएर। त्यसैलाई निरन्तरतादिँदै मङ्गलवार बालुवाटारमा रहेको आफ्नो सचिवालयमा आफ्नो समूहको बैठक समेत राखे।

बैठकमा आफ्नो समूहका नेताहरूसँगै कोइरालाले शर्मा अनि पौडेललाई पनि निम्ता गरेका थिए। पौडेल पूर्व निर्धारित कार्यक्रम अनुसार चीन गए। शर्मा नेपालमै रहे पनि बैठकमा सहभागी भएनन्।

पार्टीको १४ औँ महाधिवेशनमा शर्मा र पौडेल फरक समूहबाट निर्वाचनमा सहभागी भएका थिए। १३ औँ महाधिवेशनबाटै देउवा समूहमा रहेका शर्मा १४ औँ महाधिवेशनमा प्रकाशमान सिंह समूहबाट उम्मेदवार बने र जिते पनि। अन्तिम समयमा उनले सिंहको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए। निर्वाचनको प्रचारमा उनले एक भोट गगन अनि एक भोट विश्वप्रकाश भन्दै मत मागेका थिए।


पौडेल भने कृष्णप्रसाद सिटौला समूहसँगै देउवा समूहमा संलग्न भएर त्यही समूहबाट महामन्त्रीको उम्मेदवार बने। संस्थापन समूहबाट महामन्त्रीको उम्मेदवार बनेका पौडेलसहित दुवै पराजित भए। संस्थापनइतर समूहबाट एक जना गगनले जिते। प्रकाशमान समूहबाट शर्मा महामन्त्री निर्वाचित भएका थिए।

महामन्त्री निर्वाचित भएपछि पनि अजेण्डाका हिसाबमा गगन-विश्वप्रकाश अनि पौडेल एकै स्थानमा देखिँदै आएकाले १५ औँ महाधिवेशनमा यी तीनै एकै समूहमा हुनसक्ने सङ्केत नदेखिएका हैनन्।

तर शर्मा मङ्गलवार इतरसमूहको बैठकमा नगएर आफ्नो समर्थन गगनलाई रहेको तर इतर समूहलाई नरहेको सङ्केत गरेका छन्। शर्माले गगनलाई प्रधानमन्त्रीको रूपमा समर्थन गर्नुको अर्थ पार्टीको नेतृत्व आफू गर्न चाहन्छन्। उता शेखर समेत १५ औँ महाधिवेशनमा पुन सभापतिको उम्मेदवारको तयारीमा देखिन्छन्।

गगनले समेत आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार हुने दाबी गरिरहेका छन् नै। इतरपक्षबाट सभापतिका तीन दाबेदार देखिएको अवस्थामा महामन्त्रीमा कसैले जोडबल लगाएका छैनन्। दुईमध्ये एक महामन्त्रीमा प्रदीप सुरक्षित हुन सक्छन्।

यसको आधारमा समेत प्रदीप कोइराला समूहमा प्रवेश गर्न सक्ने सम्भावना देखिए पनि तत्काल महामन्त्री शर्मा विचार समूह परिवर्तन गर्दै कोइराला समूहको औपचारिक बैठकमा सहभागी हुने सम्भावना देखिएको छैन।

तर मङ्गलवारको बैठकमा इतरसमूहका नेता कोइरालाले प्रदीप चीन गएकाले अर्को बैठकमा सहभागी हुने र शर्मासँग आफूले पुन छलफल गर्ने बताएका थिए। उपसभापति धनराज गुरुङले इतरसमूहमा शर्मा र पौडेलको प्रवेशबारे दाम्लो बाँधेर ल्याउँदा भाग्न सक्ने भन्दै जवर्जस्ती गर्न नहुने धारणा राखेका थिए।

बैठकपछि इतर समूहमा रहेका दिलेन्द्रप्रसाद वडुले बैठकमा महासमिति बैठकको अजेण्डाको तयारी, १५ औँ महाधिवेशन तोकिएको मितिमा गर्नुपर्ने र क्रियशिल सदस्यता अद्यावधि गर्नेबारे छलफल भएको बताएका थिए।

२ असोज, २०८०, २१:५३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।