बुटवलको आधुनिक पशु वधशाला असोजभित्रै सञ्चालनमा आउने

बुटवलको आधुनिक पशु वधशाला असोजभित्रै सञ्चालनमा आउने

बुटवल : बुटवलको आधुनिक पशु वधशाला सञ्चालनमा आउने भएको छ। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु वधशाला सञ्चालन गर्ने सम्झौता भएको हो।

आइतबार बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडका सञ्चालक तथा कम्पनी प्रतिनिधि रामशरण तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार मुक्तिनाथ लाइभस्टकले असोजभित्रमा वधशाला सञ्चालनमा ल्याउनेछ। बुटवल १० रामनगरमा दुई बिघा ३ कट्ठा क्षेत्रफलमा बनेको वधशाला सञ्चालनका लागि यसअघि सहमति भए पनि विधि र प्रक्रिया नपुगेपछि उपमहानगरपालिकाले गत असारमा पुनः टेण्डर आह्वान गरेको थियो।

नयाँ प्रक्रिया अनुसार मुक्तिनाथ लाइभस्टकले वार्षिक ५८ लाख ३८ हजार ७ सय १० रूपैयाँ बुटवल उपमहानगरलाई बुझाउने छ। ५ वर्षका लागि गरिएको सम्झौता अनुसार हरेक वर्ष १० प्रतिशतका दरले रकम वृद्धि हुने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।

पशु वधशाला सञ्चालन गर्दा पशु वधशाला र मासु ऐन २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन २०५५, फोहोरमैला व्यवस्थापन ऐन २०६८, वातावरण संरक्षण ऐन २०७६ र उपभोक्ता संरक्षण ऐन २०७५ को पालना गर्ने गरी सम्झौता भएको पन्थीले बताए।

सम्झौता कार्यान्वयनमा आएपछि बुटवल नगरभित्र पशु वधशाला बाहेकका स्थलमा व्यावसायिक रुपमा खसी र बोकाको वध गर्न रोक लगाउने सम्झौतामा उल्लेख छ।

बुटवल उपमहानगरपालिकाको पशु वधशाला व्यवस्थापन र सञ्चालन ऐन २०७९ अनुसारको यो व्यवस्था कार्यान्वयनमा आएपछि बुटवलमा रहेका मासु पसलहरूले खसी बोकाको मासु बिक्री गर्दा पशु वधशालामा वध गरी प्रमाणीकरण गरेको मासु मात्रै बिक्री गर्न पाउने छन्।

वधशाला सञ्चालनमा आएपछि बुटवलबासीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सञ्चालन हुने वधशालामा खसी बोकाको स्वास्थ्य परीक्षण गरी उत्पादन भएको स्वस्थकर मासु उपभोग गर्न पाउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।

असोज १, २०८० सोमबार १२:०३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।