कैलाश मानसरोवर यात्रा-१ : रेल आउने सडकमा ‘डान्सिङ बस’ यात्रा, चिनियाँ अध्यागमनमा मनै रुवाउने ह्यारेसमेन्ट
चीन सरकारले भारतीय नागरिकलाई कैलाश-मानसरोवर यात्रामा रोक लगाए पनि मुख्य नाका रसुवागढीमा उस्तै चलहलपहल थियो। प्राय सबै होटलहरू भरिएका थिए रसुवा, टिमुरेको। मानसरोवरमा नुहाएर कैलाशको दर्शन गर्न आतुर नेपाली दर्शनार्थीहरू निकै उत्साहित देखिन्थे।
त्यहीँ मिसिएका थिए गैर आवासीय भारतीय नागरिकहरू। भारतीय मुलका तथा अन्य देशको नागरिक बनिसकेकाहरूलाई चीन सरकारले रोकेको थिएन। त्यसैले उनीहरू सहजै टिमुरेसम्म पुगेका थिए। युरोपेली अनि अमेरिकी मुलुकका नागरिक पनि देखिए फाट्टफुट्ट।
काठमाडौंको १५ सय मिटरबाट तिब्बतको देरापुकको ५ हजार मिटर अनि स्वास्थ्य र मौसमले साथ दिए कैलाश परिक्रमा गर्न ५ हजार ६ सय ३० मिटरको डोल्माला पिक पार गर्नु साहसिक पदयात्रा पनि हो। तर, यो यात्रामा पदयात्राको रोमाञ्चकताभन्दा महादेवको बासस्थानको धार्मिक विश्वासले बढी मन चञ्चल बनाउने रहेछ।
टिमुरेमा जति भेटिए उनीहरूको मनमा एकै जिज्ञासा थियो ‘कैलाश पर्वत कस्तो देखिएला!’
०००
काठमाडौंबाट टोखा-छहरे हुँदै नौ घण्टामा एक सय ६५ किलोमिटर यात्रा पार गरेपछि टिमुरे पुगिने। नेपालतिरको अध्यागमनको प्रक्रिया अनि चिनियाँ अध्यागनको प्रक्रिया चाँडै सकाएर केरुङ जान प्राय यात्री टिमुरेमै बास बस्ने रहेछन्।
रसुवाको स्याफ्रुबेशीसम्मको सडकको अवस्था ठिकठिकै। नेपालीका लागि त्यतिको सडक सुविधाजनकै मान्नुपर्योट। तर जब स्याफ्रुबेशीबाट टिमुरतेतर्फ लाग्यो अनि सास्ती शुरू भइहाल्ने।
भारतले नाकाबन्दी लगाएपछि चीनसँग सहकार्य बढाउँदै अब सबै सामान चीनबाट ल्याउने भनेर सरकारले गरेको दाबी झलक्क याद आयो। केरुङ हुँदै आउने भनिएको रेलको लिकको याद आयो।
३० बढी यात्रु भएको बस ‘डान्सिङ बस’ हुँदै गुडिरहेको थियो। जाबो यात्रुवाहक बस त सहजै गुड्न सक्ने सडक बनाउन नसक्नेहरूको रेलको गफ ठूलै जोक लाग्ने नै भयो।
अहिले हैन नि यो सडकमार्ग बनाउने क्रम शुरू भएको। २०७२ मंसिर १७ मा करिब ९ अर्ब ५० करोड खर्च गरेर गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेशी-रसुवागढी सडकलाई उत्तर दक्षिण जोड्ने प्रमुख व्यापारिक नाकाको रूपमा विकास गर्ने भनेर सरकारले परियोजना शुरू गरेको थियो।
परियोजना अनुसार प्रथम खण्ड गल्छी-त्रिशुली-मैलुङको ४६ किलोमिटर डबल लेन बनाउने। यसको काम पनि जम्माजम्मी ६५ प्रतिशत मात्र पूरा भएको रहेछ। मैलुङ-स्याफ्रुबेशीको दोस्रो खण्डको १९ किलोमिटर डबललेन कालोपत्रेको कामका लागि बल्ल सम्झौता भएको रहेछ।
स्याफ्रुबेशीदेखि रसुवागढीको तेस्रो चरणको १७ किलोमिटर सडक भने ध्वस्त। यो बनाउने जिम्मा चीन सरकारले लिए पनि निर्माणको कामै शुरू नभएको। बस ‘डान्सिङ बस’ बन्ने यही रुटमा हो। सडक बनाउने जिम्मा चिनले लिए पनि सामान्य मर्मत त गर्न सकिन्छ नि। तर सरकारले वास्ता गरेको देखिएन।
०००
टिमुरेको एक रातको बसाइसँगै नेपाली अध्यागमनमा राहदानीमा नेपालबाट बाहिरिएको छाप लगाएर रसुवागढीको चीनको अध्यागमनको गेटसम्म पुग्दा सबैको मन फुरुङ्गै हुने। हिँडेर त्यस्तै आधा घण्टामा नाकामा पुगियो।
नाकापारी अनि वारीको अवस्था आकाश जमिनको फरक। पुलपारी भब्य भवन। यता छाप्रो। धन्न नजिकै नयाँ भवन बन्दै रहेछ।
उच्च हिमाली क्षेत्रमा जाँदा मौसम अनि स्वास्थ्यमा पर्ने बाधा छँदैछ। तर, त्यो भन्दा पनि ठूलो बाधा त अध्यागमनमा रहेका चिनियाँहरूको असहिष्णु व्यवहार देखियो।
पुलमै घण्टौं लाइनमा राखेर बल्लबल्ल अध्यागमनको भवनमा प्रवेश गराए। भित्र पनि घण्टौ लाइनमा राखे। लाइनमा बस्दाबस्दा थाकेका टुसुक्क बस्न खोज्दा उठ भन्न आइहाल्ने। कति निर्दयी!
हाम्रो समूहमा २७ देखि ८२ वर्षसम्मका थिए। योगी थिए। तर, उनीहरूलाई उमेरको के मतलब!
उनीहरूको व्यवहारबाट ‘यी किन आएका होलान्’ भन्ने झिँझोपन प्रष्टै देखिन्थ्यो। सकेसम्म दिक्क मानेर त्यहीँबाट नेपालतिरै फर्किए हुने झैँ ब्यवहारले निकै ह्यारेसमेन्ट अनुभव भयो। आफ्नै देशमा सगरमाथा छ त किन आएको होला भन्ने मनमा नलागेको हैन। तर कैलाश पर्वत छैनन् नि त!
बायोमेट्रिक तथ्याङ्क राख्ने चार वटा ठाउँ थियो। तर एउटा मात्रै खुलाएका थिए। पर्यटक 'हाम्रा लागि' पाहुना हुन् तर उनीहरूका लागि झन्झट रहेछ। सायद तिब्बती क्षेत्र भएर होला यस्तो व्यवहार। उनीहरुले त्यहीँबाट फर्किउँ-फर्किउँ नबनाएका हैनन्। तर धैर्य गरे सबैले।
राहदानीको निरीक्षण त भयो नै यात्रुको साथमा रहेको मोबाइलको पूरै निरीक्षण। मोवाइलको लक खोलेर दिनुपर्ने। एक महिला अनि अर्का पुरुष सुरक्षाकर्मी थिए। उनीहरुले एकै ब्यक्तीको मोवाइल एक घण्टासम्म लगाएर निरिक्षण गरे। ब्यक्तीगत गोपनियता पुरै ध्वस्त नाकामै।
पछि खुल्यो कतै यीनीहरुले दलाई लामाको तस्बिर राखेका त छैनन् भनेर हेरेका रहेछन्। दलाई लामा अनि फ्रि तिब्बत अभियानबारे कुनै सामाग्री झुक्किएर मोवाइलमा फेला परेमा नेपाल फिर्ती पक्का। समाचारकाक्रममा के-के तस्बिर पो डाउनलोड गरियो मोवाइलमा के थाहा !
त्यसमा सुन तस्करीमा संलग्न चिनियाहरुबारे निरन्तर समाचार लेखियो। उनीहरुका तस्बिर टन्नै थियो मोवाइलमा। पहिल्यै थाहा भएको भए पक्कै डिलेट गरिन्थ्यो। उनीहरुले मेरो मोवाइल निरिक्षण गर्न १५ मिनेटजति लगाएका थिए। अनि फिर्ता दिए। दलाई लामाको तस्बिर रहेनछ।
दुबै औँलाको छाप, अनुहार खै के-के को बायोमेट्रिक रेकर्ड लिए अनि ह्यान्डक्यारीको परीक्षणसँगै कोरोना भाइरसको र्यारपिड टेस्ट गराएर अध्यागमनको कार्यालयबाट तिब्बत प्रवेश अनुमती दिए। बाहिर निस्कदा रिस मात्र उठिरहेको थियो।
तीन बसमा ७२ जना गएकामध्ये जम्मा १८ जनाले रसुवागढीको चीनको अध्यागमन पार गरे। बल्ल झन्झट हट्यो भनेको त बाँकी सहयात्रीहरू आएनन्। कुर्दा-कुर्दा सबै थाके।
‘कतै फर्काइ पो दियो की’ शंका बढायो।
दुई घण्टापछि पारीतिर एक हुल निस्किएर नेपालको बोर्डरतिर लागे। सबै झस्किए।
‘हाम्रालाई पनि फर्कायो कि क्या हो?’ हरेक समूहको अलग रंगका ब्याग र टोपी थिए चिन्न सजिलो बनाउन। क्यामरा निकालेर जुम गरेर हेरेको भारतीय धार्मिक गुरु सद्गुरुको टिमको ब्याग देखियो।
‘हाम्रो टोलीको ब्याग हैन है’ भन्दै आत्तिएकाहरुलाई आश्वस्त बनाउन खोजेँ। त्यस्तै १५ मिनेटपछि हाम्रो समूहले बोक्ने रातो र निलो ब्याग बोकेर उसैगरी एक हुल बाहिर निस्किएर पुल हुँदै नेपालतिर लम्किए। ७२ जनाको टोलीमा १८ मात्र वारी। बाँकी पारी।
हामी १८ जना यता निरीह बन्दै उनीहरूतिरै हेरिरहेका थियौँ। एक जनाले हात हल्लाए। उताका साथीहरूले पनि हात हल्लाए।
केही चिनियाँ सुरक्षाकर्मीसँग के भयो भनेर जिज्ञासा नराखेको हैन। तर उनीहरूले केही जवाफ दिएनन्। एक तिब्बतीयन गाइड आए। उनलाई सोध्दा जवाफ आयो ‘सिस्टम बिग्रियो रे! अब भोलि बिहान मात्र खुल्छ।’
एक समूहमा आएका आधा तिब्बततिर पर्यौ आधा नेपालतिरै। ब्यवस्थापक भने एकै। क्या नरमाइलो भयो यात्राको पहिलो दिनमै।
अब यात्रा के होला! सबैको अनुहार खिन्न देखियो। देखिने नै भयो। छोरा वारी आइसकेका छन्, उनको आमा पारी। आमाको सबै सामान भएको झोला यता तिब्बतिर। यस्तै यस्तै नै भयो।
तिब्बतियन गाइड हस्याङ-फस्याङमै व्यस्त। अब हामी के गर्ने? उनीहरुसँग पनि उत्तर थिएन। हामीसँग के उत्तर हुनु र!
भदौ २९, २०८० शुक्रबार १९:१६:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।