फेल भएका विद्यार्थीलाई पैसा लिएर पास गराएकाे भन्दै राजनीति शास्त्र केन्द्रीय विभागका प्रमुखविरुद्ध अख्तियारमा उजुरी

फेल भएका विद्यार्थीलाई पैसा लिएर पास गराएकाे भन्दै राजनीति शास्त्र केन्द्रीय विभागका प्रमुखविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : फेल भएका विद्यार्थीलाई रकम लिएर पास गराएकाे भन्दै त्रिभुवन विश्वविद्यालयका राजनीति शास्त्र केन्द्रीय विभागका प्रमुख ईश्वरीप्रसाद कँडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

साउन २९ गते आयोगमा परेको उजुरी सी-०८७६४७ नम्बरमा दर्ता भएको छ। सो उजुरीउपर भदाै ७ गते बसेको आयोगको बैठकले छानविन तथा आवश्यक कारबाहीको लागि भदौ ८ गते त्रिभुवन विश्वविद्यालय, उपकुलपतिको कार्यालयमा पत्र लेखिसकेको आयोगका सूचना अधिकारी देवीप्रसाद थपलियाले जानकारी दिए।

उजुरीमा विभागीय प्रमुख कँडेलले पदीय दुरुपयोग गरि कुनै पनि दिन पठनपाठनमा सहभागी नभई हाजिरी नभएका स्नातकोत्तर प्रथम सिमेस्टरका नौ विद्यार्थीहरूलाई आर्थिक रकम लिएर विषयगत शिक्षकले दिएको नम्बर भन्दा बढी दिएर उत्तीर्ण गराएको उल्लेख छ।

उजुरीमा विभागीय प्रमुख कँडेलले सिमेस्टर प्रणाली सञ्चालन विनियम-२०७४ को परिच्छेद ३ को ४ (च)मा भएको व्यवस्थाविपरीत काम गरी हाजिरी नभएका विद्यार्थीहरूलाई अन्तिम परीक्षा दिनबाट राेक्न माग गरेका छन्।

सिमेस्टर प्रणाली सञ्चालन विनियम-२०७४ को परिच्छेद ३ को ४ (च)मा भनिएको छ, ‘विद्यार्थीले औसतमा ८० प्रतिशत हाजिरी पुर्याउनुपर्नेछ। ८० प्रतिशत हाजिरी नपुगेको विद्यार्थीले आन्तरिक मूल्याङ्कन अन्तर्गतको हाजिरी बापतको अंक प्राप्त गर्ने छैन र उक्त सिमेस्टरको अन्तिम परिक्षामा सहभागी हुन योग्य मानिनेछैन। तर, गम्भीर बिरामी परि वा विद्यार्थीको काबु बाहिरको परिस्थिति परि ७० प्रतिशतसम्म हाजिरी हुने विद्यार्थीका हकमा सिमेस्टर परीक्षामा सहभागी हुने मौका दिइनेछ। यस्तो अवस्थामा विद्यार्थीले बिरामी परेको हकमा चिकित्सकको आधिकारिक प्रमाणपत्र र अन्य कारणको हकमा सम्बन्धित अधिकारीले प्रमाणित गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ।’

उजुरीमा भनिएको छ, ‘पोलिटिकल फिलोसोपीका उपप्राध्यापक प्रेमप्रसाद लिम्बु र मोर्डन पोलिटिकल थ्योरीका विषयगत शिक्षक डाक्टर अस्वस्थामा भक्त खरेलले विनियमअनुसार अनुत्तीर्ण र आन्तरिक मूल्याङ्कन नम्बर थोरै दिएका स्नातकोत्तर प्रथम सिमेस्टरका नौ विद्यार्थीलाई विषयगत शिक्षकसँग रहेको हाजिरी नै बेवास्ता गर्दै विभागीय प्रमुखले आफ्नो पदको दुरुपयोग गर्दै उत्तीर्ण गराएको एवं कम नम्बर प्राप्त गर्ने विद्यार्थीसँग आर्थिक रकम लिएर विषयगत शिक्षकहरूले दिएको भन्दा बढी नम्बर राखेर त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डीन कार्यालयमा पठाइ परीक्षा दिन योग्य बनाएकोले हाजिरी र सम्बन्धित विषयगत शिक्षकलाई झिकाई आवश्यक स्पष्टीकरण माग गरि विभागीय प्रमुखलाई कारबाही गरि निम्न विद्यार्थीहरू अन्तिम परीक्षा दिन अयोग्य भएकोले परिक्षा रद्द गर्न गराउन त्रिभुवन विश्व विद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डीन कार्यालयलाई निर्देशन गरिपाऊँ।’

यही विषय अवगत गराउँदै भदाै पाँच गते उपकुलपतिकाे कार्यालयमा उजुरी दर्ता भएको थियो। त्यसको दर्ता नम्बर १५१ हो।

उपकुलपतिको कार्यालयले तत्काल कारबाही प्रक्रिया अघि बढाएकोमा रेक्टर कार्यालयको अनुगमन महाशाखाबाट जिम्मेवारी पाएका अधिकारीले कार्यकाल सकिन लागेका उपकुलपतिलाई कारबाहीको हतार किन भएको होला?भन्ने प्रतिप्रश्न गरेको भन्ने विषयसमेत उजुरीमा उल्लेख छ।

उजुरीमा अगाडि भनिएको छ, ‘...सुशासनका पक्षमा निरन्तर वकालत गरिरहेका उप-प्राध्यापक प्रेम प्रसाद लिम्बु र डाक्टर अस्वस्थमा भक्त खरेललाई धम्की दिने वातावरण निर्माण गरिरहेकाले यस किसिमको ढिलासुस्त ‘प्रमाण मेटाउने र दोषी बचाउने’ कार्यले त्रिभुवन विश्वविद्यालयमा अशान्त पैदा गर्न खोजिरहेको समेत व्यहोरा अवगत गराउँदै निम्न विद्यार्थीहरूको विषयगत शिक्षकहरूले फाराम भरी हस्ताक्षर गरि विभागमा पेश गरेको आन्तरिक मूल्याङ्कन नम्बर र रकम लिएर गैरकानूनी तवरले डीन कार्यालयमा पेश गरिएको आन्तरिक मूल्याङ्कन नम्बर तथा कक्षा हाजिरी समेत झिकाई त्यहाँ सम्मानित आयोगबाटै छानबिन तथा कारबाही टुंगोमा पुर्याउनु हुन सादर निवेदन गर्दछु।’

१९ भदौ, २०८०, १८:२७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।