बुटवलका मेयरको बदमासी-२ : विधि र प्रक्रियाबाट सम्भव नभएको भन्दै टेन्डरै नगरेको सडकको भुक्तानी दिन निर्देशन

बुटवलका मेयरको बदमासी-२ : विधि र प्रक्रियाबाट सम्भव नभएको भन्दै टेन्डरै नगरेको सडकको भुक्तानी दिन निर्देशन

बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काउन डोजर चलाएको पाँच महिनापछि मात्र भुक्तानीका लागि नगरसभाबाट निर्देशन दिइएको खुलेको छ।

बुटवल उपमहानगरपालिकाले दुई सडक जोड्ने निकास निकाल्ने भन्दै ०८० साउन ७ गते डोजर चलाएको थियो। डोजर चलाएको ५ महिनापछि मात्र उपमहानगरपालिकाको १४औं अधिवेशनको दोस्रो बैठकले भुक्तानी दिन निर्देशन दिइएको पाइएको हो।

०८० पुस १३ गते बसेको १४औं अधिवेशनको दोस्रो बैठकमा मेयर खेलराज पाण्डेयले ‘आकस्मिक रूपमा डोजर प्रयोग गरी कम्पाउण्डवाल भत्काइएको’ भन्दै निर्माण हुने सडकको भुक्तानी प्रक्रिया अगाडि बढाउन नगरकार्यपालिका मार्फत नगर कार्यपालिकाको कार्यालयलाई बैठकबाट निर्देशन दिएका दिए।

उक्त बैठकको (झ) नम्बर बुँदामा ‘आकस्मिक रूपमा डोजर प्रयोग गरी कम्पाउण्डवाल भत्काई सडक खोलिएको र उक्त कार्य टेण्डर प्रक्रिया, विधि प्रक्रिया र छलफलको माध्यमबाट सम्भव नभएका कारण प्रक्रियागत विधिलाई व्यावहारिक हिसावले र असल मनसायका साथ सार्वजनिक सरोकारका विषयका रूपमा लिइएको’ उल्लेख छ।

साथै बैठकले यथार्थ विश्लेषण सहितको प्राविधिक मूल्याङ्कन गराउने र आवश्यकता परेमा स्थलगत सरजमिन र जनमत सर्वेक्षण समेत गरी भुक्तानी दिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो। यद्यपि अहिलेसम्म ठेकेदारले भुक्तानी नपाएको गुनासो गरेका छन्।

उपमहानगरले विनाकुनै प्रतिस्पर्धामा ठेकेदार भिमलाल बस्याललाई सडक निर्माणको जिम्मा लगाएका थिए। विना प्रतिस्पर्धा ठेकेदारलाई काम दिएपछि अहिले भुक्तानीमा समस्या भएको हो। साउनबाट काम सुरू भए पनि उक्त सडक १० महिनादेखि निर्माणधीन अवस्थामै छ।

२५ लाख रुपैयाँको काम विना कुनै टेण्डर र बोलकबोल सिधै ठेक्का दिएको देखिएपछिख अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयले अनुसन्धान गरिरहेको छ।

ठेकेदार भिमलाल बस्यालले कामको मूल्याङ्कन बाँकी रहेकाले भुक्तानी नपाएको बताएका छन्।

‘सडक बिस्तारका लागि २५ लाख रुपैयाँ विनियोजन भए पनि करिब साढे १९ लाखको काम गरेका छौं,’ उनले भने, ‘उपमहानगरले मूल्याङ्कन गरी भुक्तान दिने प्रक्रियामा छ।’

कानूनी प्रक्रिया पूरा नगरी निर्माणको जिम्मा लगाउँदा भुक्तानीमा समस्या देखिएको पाइन्छ। अहिले सोही सडकमा प्रदेशको बजेटबाट नालीको काम भइरहेको छ।

उपमहानगरले बिस्तार गरेको सडकमा लुम्बिनी प्रदेश सरकारको लगानीमा ढलान नाली निर्माण तथा सडक ढलान गरी आरसीसी सर्फेस, अस्फाल लगायतको कामका लागि आरए कन्स्ट्रक्सन तिलोत्तमा ७ ले भ्याट बाहेक २ करोड १३ लाख ६३ हजार ४० रुपैयाँमा निर्माणको जिम्मा पाएको छ।

पुरानो योनाको भुक्तानी नहुँदै नयाँ योजना सुरू हुने भनिए पनि अहिले उक्त काम पनि रोकिएको छ।

यसबारे बुझ्न खोज्दा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले भने यसबारे आफूलाई केही जानकारी नभएको बताएका थिए।

‘काम प्रक्रियागत होला। सबै कुरा मलाई थाहा हुँदैन।,’ उनले भनेका थिए, ‘यो विषय प्रशासनलाई सोध्नुहोला।’

बुटवल उपमहानगरपालिका इन्जिनियर गौतम रौनियारले केही प्रक्रिया नमिल्दा ठेकेदारलाई रकम भुक्तानी हुन नसकेको बताए। यद्यपि त्यो नमिलेको प्रक्रियाबारे भने थप खुलाउन चाहेनन्।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालले उक्त बैठकको क्र.म संख्या १०१ मा सचिवको हैसियतले भुक्तानी हस्ताक्षर गरेका छन्। उपमहानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले भने यसमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारे।

‘मैले यो विधि र प्रक्रिया विपरीत छ भनेर सहमति जनाइन। तर जसरी पनि पेलेर जाने नियतले त्यहाँ डोजर चलाइएको हो। डोजर चलेको २ दिनपछि मेरो सरुवा भयो’, उनले भने।

यो पनि:-

२८ बैशाख, २०८१, १२:०४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।