हर्क साम्पाङलाई व्यक्तिको जग्गामा प्रवेश नगर्न उच्च अदालतकाे अन्तरिम आदेश

हर्क साम्पाङलाई व्यक्तिको जग्गामा प्रवेश नगर्न उच्च अदालतकाे अन्तरिम आदेश

काठमाडौं :  उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश दिएकाे छ।

न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हाे।

रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नाे जमिनमा प्रवेश गरेर धरपकड गरेकाे भन्दै साम्पाङविरूद्ध रिट दायर गरेका थिए।

धरान-४ स्थित छोटी मोरङ डाँडामा साम्पाङले ६ साउनमा वृक्षराेपण गरेका थिए। वृक्षराेपण गरेकाे जग्गा अधिकारी दम्पतीले आफ्नो भएको दाबी गर्दै आएका छन्।

मेयर साम्पाङले भने सर्दु सट्टाभर्नाकाे जग्गा भएकाले वृक्षराेपण गरेकाे दाबी गरेका छन्। सोमबार मेयर साम्पाङ पुन: त्यही विवादित जग्गामा पुगेका थिए। उनी जाँदा अधिकारी दम्पतीले प्रतिवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ।

विवादपछि साम्पाङले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रशासनमा उजुरी पनि दिएका छन्। उजुरी परेपछि अधिकारी दम्पती निषेधाज्ञा माग गर्दै उच्च अदालत विराटनगर आएका थिए।

जिल्ला प्रशासन कार्यालयलगायत विपक्षीकाे नाममा कानून बमाेजिम बाहेक निवेदकलाई पक्राउ नगर्न र निवेदककाे जग्गामा प्रवेश नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको हाे।

८ भदौ, २०८०, १४:२८:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।