दुई महिना पनि टिकेन प्रहरीको सरुवा मापदण्ड, पाँच एआइजीको सरुवा निस्कँदा जोगिइन् सिआइबी प्रमुख

दुई महिना पनि टिकेन प्रहरीको सरुवा मापदण्ड, पाँच एआइजीको सरुवा निस्कँदा जोगिइन् सिआइबी प्रमुख

काठमाडौँ : गृह मन्त्रालयको स्वीकृतिमा प्रहरी प्रधान कार्यालयले जारी गरेको प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड मिच्दै सरकारले पाँच एआइजीको सरुवा गरेको छ।

सरुवा मापदण्डमा कार्यालय प्रमुखको कार्यकाल एक वर्षको हुने उल्लेख भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद्को अधिकार प्रयोग गरेर आठमध्ये पाँच एआइजीको सरुवा गरेका हुन्।

प्रधानमन्त्रीले काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरेका छन्। कार्य विभाग अप्रेशनल कामका लागि प्रहरीको महत्त्वपूर्ण विभाग हो।

ज्ञवालीको स्थानमा उनीसँगै बढुवा भएका प्रशासन विभागमा कार्यरत एआईजी दीपक थापा आएका छन्। प्रधानमन्त्रीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राईको समेत सरुवा निकाल्दै उनलाई मानव स्रोत विभागमा ल्याएका छन्।

मानव स्रोत विभागका एआईजी सन्दीप भण्डारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पुगेका छन्। उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जाने प्रयासमा थिए। तर सरकारले सिआइबी प्रमुख किरण बज्राचार्यको सरुवा निकालेन।

यता कार्य विभागमा रहेकी एआईजी मिरा चौधरीलाई थापा कार्यरत प्रशासन विभागमा लगियो। किरणसँगै प्रदेश समन्वय विभागमा रहेका सुदीप गिरी र अपराध अनुसन्धान विभागमा कार्यरत टेकबहादुर तामाङको पनि सरुवा भएन।

यता गृहले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी कार्यालय काठमाडौँ र ललितपुरको प्रमुखको सरुवाको तयारी गरेको छ। सो निर्णय भने सार्वजनिक भएको छैन। एसएसपी सरुवाको अधिकार गृहमन्त्रीसँग छ। 

२ भदौ, २०८०, १०:५३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।