सिद्धबाबा सुरुङ मार्ग : सिद्धबाबा मन्दिर नजिकको रिव एंकरिङ पहिरोले भत्कियो

सिद्धबाबा सुरुङ मार्ग : सिद्धबाबा मन्दिर नजिकको रिव एंकरिङ पहिरोले भत्कियो

बुटवल : मृत्यु मार्गका रुपमा परिचित बुटवल-तानसेन सडक खण्डअन्तर्गत सिद्धबाबा क्षेत्रमा निर्माणधीन सुरुङ मार्गको रिवलाई पहिरोले क्षति पुर्याएको छ। 

अविरल वर्षापछि झरेको पहिरोले सिद्धबाबा सुरुङ मार्गको सिद्धबाबातर्फको रिब एङकरिङ पूर्ण रूपमा भत्काएको हो। हेडबक्स नजिकको रिवमा भने कुनै क्षति भएको छैन। 

सुरुङ माग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले हेडबक्सको रिवको ढलान गरेपछि सिद्धबाबा मन्दिर नजिकै प्रवेशद्वारमा रिवको काम थालेको थियो। त्यहाँ ३५ जना कामदारले काम गरिरहेका थिए। 

पहिरोले रिवलाई पूर्ण रूपमा क्षति पुर्याएसँगै सुरुङ मार्गको काम रोकिएको छ। निर्माण कम्पनीले वर्षायाममा पनि काम जारी रहने भन्दै काम गरिरहेको अवस्थामा पहिरोले रिवलाई क्षति पुर्याएको हो। रिवमा क्षति पुगे पनि मानवीय क्षति भने हुन पाएन। 

सिद्धबाबा सुरुङ मार्ग परियोजनाकी इन्जिनियर सविता ज्ञवालीका अनुसार सुरुङ माग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले अहिले पनि डिजाइन स्वीकृत नगरी प्रस्थान विन्दुमा रिव लगाउने, अन्तिम विन्दुमा स्लोप कटिङको काम गरिरहेको छ। डिजाइन स्वीकृतको काम अन्तिम चरणमा छ। 

‘कन्ट्याक्टले पेश गरेको डिजाइनमाथि विभिन्न राय सुझाव दिने कार्य भइरहेको छ। यता सुरुङ निर्माणको काम पनि डिजाइनअनुरुप भइरहेको छ’, उनले भनिन्। 

सिद्धबाबा क्षेत्रमा १ हजार १ सय २६ मिटर लम्बाइको सुरुङमार्ग बन्नेछ भने जोखिमयुक्त ठाउँमा प्यानल निर्माण हुने बताइएको छ। सुरुङमार्गको बीचमा ३ वटा एक्जिट अर्थात् बाहिर निस्कने ठाउँसमेत बन्नेछ।

सुरुङ मार्ग तिनाउँ गाउँपालिका वडा नम्बर २ सिद्धबाबामा रहेको सिद्धबाबा मन्दिरको उत्तरतर्फबाट सुरु भई दोभान नजिकै रामापिथेकस पार्क अथार्त् हेडबक्ससम्म बन्नेछ। 

७ अर्ब ३४ करोड २१ लख लाग्ने अनुमान गरिएको सिद्धबाबा सुरुङ मार्ग स्विस सरकारको विकास सहयोगमार्फत निर्माणका लागि भौगर्भिक अध्ययन (जियोलोजिकल सर्भे) गरिएको थियो। सुरुङ मार्ग ५ वर्षभित्र बन्ने गरी ठेक्का प्रदान गरिएको हो। 

सिद्धबाबा क्षेत्रमा यसअघि पहिरो र जोखिम रोक्न विभिन्न विकल्प अगाडि सारिए पनि सफल नभएपछि सुरुङ मार्गको योजना अघि बढेको हो। यसअघि जोखिमयुक्त क्षेत्रमा करोडौं रुपैयाँ खर्च गरेर रकसेट र हाफ टनेल बेन्च कटलगायत ६ विकल्प प्रयोग गरिएको थियो।

२०१८ सालदेखि खन्न सुरु गरिएको बुटवल-पाल्पा सडकमा २०२८ सालदेखि सवारीसाधनको आवागमन हुन थालेको थियो। सडकमा अहिले दैनिक २ हजार बढी सवारीसाधन यो राजमार्ग हुँदै गुड्छन्।

यो राजमार्ग हुँदै पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र अर्घाखाँची आवतजावत हुन्छ।

९ साउन, २०८०, १६:०३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।