नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडियाले आक्रमण गरेः आरजु

नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडियाले आक्रमण गरेः आरजु

 जनकपुरधाम : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वप्रधानमन्त्रीपत्नी आरजु देउवा राणाले आफूमाथि मिडिया ट्रायल भएको आरोप लगाएकी छन्। 

जनकपुरधामस्थित नेपाली कांग्रेस प्रदेश कार्यालयमा मंगलबार आयोजित भेटघाटमा पत्रकारहरूसँग देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मिडियाको नाममा आफूमाथि आक्रमण भएको बताइन्। 

सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्वपूर्ण हुने भए पनि आफू मिडिया ट्रायल भएको उनले गुनासो गरिन्। 

‘कहिलेकाहीँ मिडियाबाट आक्रमण पनि हुन्छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि पनि त्यही भयो। यस प्रकरणमा सयौं टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ। त्यसैलाई उछालियो। टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको हो भन्दाभन्दै पनि ममाथि मिडिया ट्रायल गरियो,' उनले भनिन्। 

केही समयअघि आरजुले ललिता निवास प्रकरणमा पैसा खाएको भन्दै दुई वटा अडियो टेप बाहिरिएको थियो। उक्त अडियो क्लिपमा आरजुसँगै हाल पुर्पक्षका लागि जेल चलान भएका पूर्वगृहन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको नाम पनि आएको थियो।

त्यसपछि पनि यसै प्रकरणमा आरजुलाई पैसा बुझाइएको एक अडियो टेप बाहिरिएको थियो। उक्त टेपमा हाल कारागारमा सन्देश शर्माको आवाज रहेको थियो। 

मञ्जु र आरजुले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाउने गिरोहसँग साढे आठ करोड लिएको दाबीसहितको अडियो सार्वजनिक भएको थियो। 

 

९ साउन, २०८०, १४:२०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।