खड्काको खुलासा : काँग्रेससहितको गठबन्धन बन्दा नै समाजवादी मोर्चामा सहमति

खड्काको खुलासा : काँग्रेससहितको गठबन्धन बन्दा नै समाजवादी मोर्चामा सहमति

काठमाडौँ : नेपाली कांग्रेसका उप सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको सहमतिमै समाजवादी मोर्चा बनेको खुलाएका छन्। पार्टीको जारी केन्द्रीय समितिको बैठकमा उनले पार्टी सभापति शेरबहादुर देउवाको जानकारीमै समाजवादी मोर्चा बनेको खुलाएका हुन्।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेत्र विक्रम चन्द विप्लवबिच बनेको मोर्चाबारे काँग्रेस जानकार रहेको उनले बताएका हुन्।

बैठकमा समाजवादी मोर्चाबारे उठेको प्रश्नको जवाफ दिँदै राष्ट्रपतिको निर्वाचन अगाडि बसेको दलहरूबिचको बैठकमा गठबन्धनमा विश्वास बढाउन चार दलबिच समाजवादी मोर्चा बनाउनेबारे छलफल भएको र पार्टीलाई यसबारे जानकारी रहेको उनले बताए।

'हामी भ्रममा बस्नु हुन्न। एमालेसहितको गठबन्धनको विकल्पमा कांग्रेसहितको गठबन्धन बनाउन भएको छलफलमै समाजवादी मोर्चाबारे छलफल भएको थियो,' खड्काले भने' प्रचण्डजीले समाजवादी मोर्चाबारे देउवाजीलाई जानकारी छ भनेको सत्य हो। गठबन्धनका दलहरूबिच विश्वासको वातावरण बनाउन त्यही बेलामै यसबारे छलफल भएको थियो।'

उनले समाजवादी मोर्चामा विप्लव पछि जोडिएको भन्दै त्यसमा शङ्का गर्नुपर्ने आवश्यकता नभएको बताएका थिए। 

८ साउन, २०८०, १९:०१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।