कांग्रेस केन्द्रीय समिति बैठकमा फेसबुकमा आएको गालीदेखि नयाँ दलको चुनौतीसम्मले ठाउँ पाए, गगन आलोचनाको केन्द्रमा

कांग्रेस केन्द्रीय समिति बैठकमा फेसबुकमा आएको गालीदेखि नयाँ दलको चुनौतीसम्मले ठाउँ पाए, गगन आलोचनाको केन्द्रमा

काठमाडौँ : बुधवार सात घण्टा चलेको कांग्रेसको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा ४६ जना केन्द्रीय नेताले धारणा राख्दा मुख्य तारोमा देखिए महामन्त्री गगनकुमार थापा।

पछिल्लो समय थापाले पार्टीको संसदीय दलको नेता बदल्नेदेखि पार्टीको नेतृत्व बदल्नेसम्मको सार्वजनिक अभिब्यक्तीदिँदै आएका छन्।

उनको अभिब्यक्तीलाई लक्षित गर्दै केन्द्रीय सदस्यहरूले थापाको नाम नलिई पार्टी कमजोर बनाउने गतिविधिमा लागेको गम्भीर आक्षेप लगाए।

उनीहरूले पार्टी सभापति भनेको पद्धति भएकाले निर्णय गर्दा संयुक्त निर्णय गर्ने तर बाहिर सार्वजनिक रूपमा भने सबै दोष पार्टी नेतृत्वलाई लगाएर पार्टी कमजोर बनाउने काम गरेको भन्दै आलोचना गरे।

पार्टी पदाधिकारी बैठकमा भएका विषय सार्वजनिक मञ्चबाट सार्वजनिक गरेर पार्टी नेतृत्वको आलोचना गर्ने गरेको, पार्टीको आधिकारिक फेसबुक पेजमै पार्टीको कामको आलोचना गर्ने गरेको अनि पार्टीका कुराहरू बाहिर भन्दै हिँडेको भन्दै पार्टी नेताहरूले बैठकमा आलोचना गरेका थिए।

केही केन्द्रीय सदस्यहरूले आफू निकटलाई मात्र पार्टी नेतृत्वले काखी च्यापेर लाभको पद दिने गरेको भन्दै लाभ नहुने क्षेत्रमा तीन तहमा रहेका पार्टीका प्रतिनिधीहरुले वास्तै नगरेको भन्दै आलोचना समेत गरेका थिए।

पार्टी महामन्त्रीहरूले आयोजना गरेको जिल्ला सभापतिहरूसँगको भेलाको वैधानिकतामाथि समेत प्रश्न उठ्यो बैठकमा। केन्द्रमै नेताहरूको सिन्डिकेट रहेको आक्षेप समेत लाग्यो बैठकमा।

दलका नेताहरू पार्टीको सङ्गठन निर्माणमा नभई आफ्नो सङ्गठन निर्माणमा केन्द्रित रहेको भन्दै नेताहरूले आलोचना गरे।

केन्द्रीय कार्यसमितिमा रहेकै व्यक्तिहरूमा अनुशासन नभएको भन्दै आलोचना भयो। एक जिम्मेवारीमा रहेका नेताले अर्को जिम्मेवारीमा रहेको व्यक्तिको आलोचना गर्ने गरेको भन्दै केहीले आक्रोश व्यक्त गरेका थिए।

मनमा जे लाग्यो त्यही बोल्दै हेर्ने अनुशासनहीनता रहेको भन्दै पार्टी बलियो बनाउनतिर कसैले ध्यान नदिएको बताए।

'आफ्नो अनुयायी चाहियो, आफ्ना समर्थक चाहियो। जिल्लामा जाँदा आफ्ना समर्थक मात्र भेटेर नेताहरू फर्किन्छन्। कसैलाई पार्टी बलियो बनाउनु नै छैन। आफैँलाई बलियो बनाउन नेताहरूबिच प्रतिस्पर्धा छ' वीरबहादुर बलायरले भने।

बहादुरसिंह लामाले विधान अनुसार पदीय जिम्मेवारी दिनेभन्दा पनि आफूप्रति बफादारको नाम गोजीबाट निकालेर जिम्मेवारी दिने गरेको भन्दै नेतृत्वको आलोचना गरे।

'सङ्गठनप्रति प्रतिबद्ध छ छैन भनेर हेर्ने हो कि आफूप्रति बफादार मात्र हेर्ने?' उनको प्रश्न थियो।

'सामाजिक सञ्जालमा बेइज्जत भो'

पार्टी बैठकमा बोल्ने केन्द्रीय नेताहरूले पार्टीमा अनुशासनहीनता बढ्दै गएको भन्दै आलोचना गरेका थिए। पार्टी सङ्गठनमा आबद्धहरू नै सामाजिक सञ्जालमा पार्टीका नेता अनि कार्यकर्ताविरुद्ध लाजै लाग्नेगरि प्रस्तुत हुने गरेको भन्दै कारबाहीको माग समेत गरे।

केन्द्रीय सदस्य गोविन्दबहादुर शाहले पार्टीको प्रशिक्षण, सदस्यता वितरणमा झारा टार्ने काम भइरहेको भन्दै प्रश्न गरे यसरी सङ्गठन विस्तार हुन्छ?'

उनले सामाजिक सञ्जालमा पार्टी पङतिको अनुशासन नभएको भन्दै तीव्र आलोचना गरे। फेसबुक, ट्विटर अनि इन्ट्राग्रामहरुमा पार्टीका विभिन्न सङ्गठनको नाममा खुलेका पेजहरूमा तल्लो स्तरको अनि लाजलाग्दोगरी कांग्रेसका नेता र कार्यकर्ताको मानमर्दन हुने गरेको भन्दै छानबिन गरेर कारबाहीको तहमा ल्याउन माग गरेका थिए।

नयाँ पार्टीको उदय किन भयो ?

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ दलको उदयबारे समेत केन्द्रीय नेताहरूले प्रश्न उठाएका थिए। पार्टी नेतृत्वको कमजोरीका कारण नयाँ दलको उदय भएको भन्दै केही केन्द्रीय सदस्यले नागरिकमा किन असन्तुष्टि बढेको भन्दै अध्ययन गर्न माग समेत राखेका थिए। यसका लागि निर्वाचन प्रणाली, संविधान संशोधन लगायतका सबै पक्षमा खुल्ला छलफल गर्नुपर्नेमा जोड दिएका थिए।

३ साउन, २०८०, २१:२५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।