वर्षमा ४० चिकित्सकले राजीनामा बुझाउने कर्णाली प्रतिष्ठानको व्यथा

वर्षमा ४० चिकित्सकले राजीनामा बुझाउने कर्णाली प्रतिष्ठानको व्यथा

कर्णालीका जनताको स्वास्थ्योपचारका लागि आशाको केन्द्रविन्दु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षक तथा कर्मचारीको स्थायित्व लगायत समस्याका कारण धरासायी बन्ने जोखिम देखिएको छ।

प्रतिष्ठानमा करिब दश प्रतिशत कर्मचारी र पाँच प्रतिशत मात्रै शिक्षक स्थायी छन्। बाँकी करार तथा ज्यालादारीमा कार्यरत छन्। जागिरको स्थायित्व नहुँदा शिक्षक तथा कर्मचारीहरूले जागिरको वैकल्पिक उपाय खोज्नु स्वभाविकै हो।

एक वर्षमा करिब ४० जना शिक्षक (चिकित्सक)ले राजीनामा दिएर प्रतिष्ठान छोडिसकेको अवस्था छ। दक्ष जनशक्तिलाई टिकाउन नसक्दा शैक्षिक कार्यक्रममा समेत बाधा पर्ने जोखिम त्यतिकै छ।

स्थापनाको करिब सात वर्ष बितिसक्दा समेत शिक्षक तथा कर्मचारीहरूलाई स्थायी गराउने प्रक्रिया अघि बढ्न नसक्नु दुःखद् हो।

स्वास्थ्य शिक्षा प्रदान गर्ने संस्थालाई त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीलाई स्थायी गर्नका लागि हालसम्म पहल गरेको नदेखिनुले संस्थाको स्थिरतामा नै प्रश्नचिह्न उब्जिनु स्वभाविकै हो।

कर्णाली प्रदेशको मात्रै नभएर त्यस क्षेत्रका जिल्लामा बसोबास गर्ने व्यक्तिको समग्र स्वास्थ्यको जिम्मेवारी बहनका लागि प्रतिष्ठानमा काम गर्ने शिक्षक तथा कर्मचारी लगायत आवश्यक जनशक्तिको त स्थायित्व हुनैपर्छ। यसका लागि दिर्घकालीन योजना समेत आवश्यक हुन्छ।

तर, प्रतिष्ठानमा विशेषगरी पदाधिकारीहरू नै नियमित रूपमा नबस्ने समस्या छ। एक वर्षमा लगातार ६५ दिन कोही पदाधिकारीहरू बसेको पाइँदैन। जुन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सकारात्मक हैन।

प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरूले स्थायित्वका लागि आन्दोलनमा समेत उत्रिएको अवस्था छ। दुर्गम ठाउँमा रहेको प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारी र विद्यार्थीका लागि समेत भौगालिक विकटताको चुनौति छ।

प्रतिष्ठानमा बीपीएच र बीएमएसको चौथो ब्याच र बी. फर्मा, बीएनएस, एमबीबीए तथा एमडी÷एमएसको तेश्रो ब्याच गरेर विभिन्न संकायमा सफलतापूर्ण कक्षा सञ्चालनका साथै अस्पतालको जिम्मेवारी समेत शिक्षक तथा कर्मचारीहरूले निभाएको विषय यथार्थ हो।

त्यसो त प्रतिष्ठानमा चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट समेत उचित निगरानी पुगेको देखिँदैन। जसले गर्दा प्रतिष्ठानका पदाधिकारीहरूको छाडा प्रवृति र अनुत्तरदायी प्रवृति बढी समेत देखिन्छ।

अघमसिंह कठायत, नरेस भण्डारी र डा. गोविन्द केसी लगायत व्यक्तिको अथक प्रयासले प्रतिष्ठानको स्थापना सम्भव भएको हो। स्थापना भए पनि सुरुवाती दिनमा भवन नभएकाले शैक्षिक कार्यक्रमहरू उद्योग, निर्माण व्यवसायी संघको भवनमा सञ्चालन गर्नु परेको थियो।

त्यो भवनको तीन वटा कक्षा कोठा, सात वटा प्रयोगशालाहरू र शिक्षक तथा विभागीय प्रमुखहरूको कोठामा समेत एमबीबीएस कार्यक्रम सञ्चालन गर्नुपरेको यथार्य हामीमाझ छ। आजको अवस्थामा यसरी अरुको भवनमा प्रतिष्ठानको कार्यक्रम सञ्चालन गर्नु कति जायज हो र कति नाजायज हो भन्ने प्रश्न उब्जनु स्वभाविकै हो।

त्यसरी भाडामा लिएर करिब साढे एक रोपनीको जग्गामा बनेको निर्माण व्यवसायीको भवनमा कति दिन शैक्षिक कार्यक्रम चलाउने भन्ने टट्कारो प्रश्न रहेको छ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जुम्ला बहुमुखी क्याम्पसमा प्रतिष्ठानका स्नातक तहका फार्मेसी, बीपीएस र नर्सिङका विषयहरू सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालित छन्। प्रतिष्ठानबाट विद्यार्थी पढाउनुपर्ने क्याम्पसको यो दूरी करिब चार किलोमिटर टाढा छ।

जसले गर्दा चिकित्सकीय अभ्यासका लागि विद्यार्थी र शिक्षकहरू अस्पताल पुग्नुपर्ने चटारोको आफ्नै कथा र व्यथा छन्। शिक्षण अस्पतालमा बिरामी नपुगेर स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरू पठनपाठनका नाममा सुर्खेत, नेपालगञ्ज र अन्य स्थानमा पठाउनुपर्ने अर्को दुर्भाग्य छ। अस्पतालको फोहोरमैलाको उचित व्यवस्थापनको ठूलो समस्या छ।

म आफैँ पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करिब तीन वर्ष रहेर काम गरेँ। तर, त्यहाँको भद्रगोल अवस्था देखेर चिन्ता लाग्यो। कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठानको व्यथा देख्दा यसको भविष्य के होला भन्ने स्थिति रहेको छ। प्रतिष्ठान सपार्न सबै पक्ष जिम्मेवार नहुने हो भने प्रतिष्ठान धरासायी बन्ने पक्का छ।
(डा. बाँस्तोला प्रतिष्ठानका पूर्व प्राध्यापक हुन्।)

असार २६, २०८० मंगलबार २१:४८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।