सिंगापुर संसद्को अनुभव सुनाउँदै उपसभामुखले भनिन्' हाम्रोमा संसद्लाई बायस्ड गरेजस्तो लाग्छ

सिंगापुर संसद्को अनुभव सुनाउँदै उपसभामुखले भनिन्' हाम्रोमा संसद्लाई बायस्ड गरेजस्तो लाग्छ

काठमाडौँ: उपसभामुख इन्दिरा रानाले संसद्मा सभामुखको फोटो नराखेको भन्दै असन्तुष्टि जनाएकी छन्।*

६५ औँ संसद् दिवसको अवसरमा शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले सिंगापुरको संसद् भ्रमणको अनुभव सुनाउँदै सभामुखप्रति पूर्वाग्रह राखिएको भान भएको बताइन्।

केही समयअघि सिंगापुरको संसद्को भ्रमण गर्दा  विगतदेखि वर्तमानसम्मका सभामुखहरूको तस्बिर राखेको र त्यसले विकासक्रमसमेत देखाउने भन्दै नेपालमा भने त्यस्तो हुन नसकेको बताइन्।

‘भित्र पस्ने बित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ। तर हाम्रो त छैन। वायस गरेको जस्तो पनि लाग्छ,' उनले भनिन्। 

कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुङ्गानालाई देखेर उनले आफ्नो किशोरकालको सम्झना गर्दै संसदीय इतिहासको अभिलेखीकरणबारे चर्चा गरेकी थिइन्। ढुङ्गानालाई देख्दा खुसी लागेको बताउँदै

उनले भनिन्,‘अस्ति म सिंगापुर गएको थिएँ। डब्ल्युटिओको कन्फ्रेन्समा । त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखज्यूले कस्तो लगाउनुहुन्छ ? त्यो विकास क्रमअनुसार त्यसरी राख्नुभएको छ अभिलेखका रूपमा । हामीमा खै त त्यस्तो ?

उनले आज सूचना प्रविधिको सहयोगमा खोजेको कुरा फेला परिहाले पनि हिजोका दिनमा चाहिएको विषय खोज्न मिहिनेत पर्ने गरेको र सो समयको सम्मानका लागि बलियो अभिलेख हुनुपर्ने बताएकी थिइन्।


* यस अगाडिको समाचारमा संसद्मा उपसभामुखको तस्बिर नराखेकोमा उपसभामुख रानाले चित्त दुखाएको भन्दै समाचार प्रकाशित भएको तर उनले उपसभामुखको नभई संसद्मा सभामुखको तस्बिर पनि नभएको प्रसङ्ग बोलेको भिडियोबाट पुष्टि भएकाले क्षमा माग्दै समाचार पुनर्लेखन गरिएको जानकारी गराउँछु।
-सम्पादक

१६ असार, २०८०, १८:०९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।