डरलाग्दोगरी उर्लियो तिनाउ नदी (फोटो फिचर)

डरलाग्दोगरी उर्लियो तिनाउ नदी (फोटो फिचर)

बुटवल । अविरल वर्षाका कारण तिनाउ नदी उर्लिएको छ।

हिउँदमा सुक्खा हुने तिनाउ नदी वर्षाको समयमा भने उर्लिने गर्दछ। तिनाउको वहाव उच्च भए पनि अहिलेसम्म कुनै पनि भौतिक र मानवीय क्षति भने भएको छैन। 

बुटवल उपमहानगरपालिकाले तिनाउमा अझै ठूलो बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा सर्तक रहन आग्रह गरेको छ। तिनाउ नदीमा आएको बाढीका कारण गत वर्ष आधा दर्जन तटीय क्षेत्रका घरहरूमा क्षति पुर्याएको थियो। 

यता वर्षाकै कारण बुटवलको ६ लेन सडक पनि जलमग्न भएको छ। बुटवल योगिकुटी, कालिकानगर, बसपार्क क्षेत्र जलमग्न भएको हो।

सर्भिस लेनमा पनि पानी भरिएको छ। योगिकुटीमा ५ वटा पसलभित्र भेल पसेको छ।

बिहान ८ बजे तिनाउले खतराको तह पार गरेको हो। बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७.२२ मिटर पुगेको छ।

महाशाखाका अनुसार जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ। तिनाउ नदीको जलसतह ६.८८ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो।

असार १६, २०८० शनिबार ०९:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।