‘नवलपरासीबाट बिहे गरेर काठमाडौँ त ल्याउनुभयो, साँझ परेर होला श्रीमानले घरै बिर्सिनुभयो’
७० वर्ष पुगेकी उर्मिला बुढाथोकी अहिले पनि तन्दुरुस्त छिन्।
नवलपरासीमा जन्मिएकी उर्मिलाले १२ वर्षको कलिलो उमेरमै विवाह गरिन्। अनि काठमाडौँ आइन्।
५८ वर्षअघि उर्मिला श्रीमानको घर बसुन्धरा आएकी थिइन्। बाल्यकालदेखि अहिलेको समयसम्म काठमाडौँमै उनको दैनिकी चलिरहेको छ।
कलिलै उमेरमा विवाह गरेकी उर्मिलाले १७-१८ वर्षको उमेरमा छोराछोरी जन्माइन्।घरमै तीन सन्तानलाई जन्म दिएकी उर्मिलाले २५ वर्षमा तीन सन्तानकी आमा भइसकेकी थिइन्।
पढ्न, लेख्न नपाएकी उर्मिलालाई कुन समयमा के-के गरेँ भन्ने खासै थाहा छैन। अहिले त उनका नाति नातिना पनि हुर्किसके।
नवलपरासीबाट भागेर विवाह गरेर काठमाडौं आएकी उर्मिलाका अहिले तीन जना छोराछोरी र नातिनी छन्। तर, एक छोरीबाहेक अरूसँग उनको खासै आउजाउ छैन।
धुमबाराहीमा एक्लै डेरा गरी बस्दै आएकी उर्मिलालाई माइती पक्षबारे पनि खासै थाहा रहेनछ। तर उनलाई यत्ति थाहा छ- जन्मघर नवलपरासी हो, सात जना दिदीबहिनीमा आफू काइली।दाजुभाइ छैनन्।
भन्छिन्,‘ म उमेरले ७० वर्षकी भएँ। अहिलेसम्म मेरा पाखुरा बलियै छन्। आफ्नै पौरखले खाइरहेको छु।’
बाल्यकालमै विवाह
बाल्यकालमै विवाह गरेर काठमाडौँ छिरेकी उर्मिला भन्छिन्, 'त्यसबेला सानैमा बिहे गर्ने चलन थियो, कोही कोहीको त ७ वर्षकै उमेरमा बिहे हुन्थ्यो।'
आफ्नी जेठानीको पनि ७ वर्षको उमेरमा नै विवाह भएको उनले सुनाइन्।
'त्यो समय सानै उमेरमा विवाह गर्ने चलन भएकाले छोरी मान्छेले पढ्नुपर्छ भन्ने कसैलाई मतलबै थिएन।'
उनका श्रीमान उनको घर भएकै बाटो भएर भारत आउजाउ गर्ने गर्थे। त्यहीँ उनको चिनजान भयो। अनि दुवैले राजीखुसी विवाह गरे।
विवाह गरेर काठमाडौँ आउँदा बाटो निकै साँघुरो रहेको उनी बताउँछिन्।
'बाइरोडको बाटो थियो, केही मालसामान बोक्ने गाडीहरू चल्थे,' उनले सम्झिइन्, ‘त्यसैमा चढाएर श्रीमानले मलाई बाइरोडको बाटो हुँदै नेपाल(काठमाडौँ) लिएर आउनुभयो।'
साँघुरो बाटो अनि पहिलो पटक त्यति लामो यात्रा गरेकी उर्मिलालाई बाटो देख्दा मरिन्छ कि क्या हो जस्तो पनि लाग्यो। श्रीमानसँग उनी साँझमा काठमाडौँ आइपुगिन्।
जेठको समय। काठमाडौंमा हरिया मकैबारी मात्र।काठमाडौँ आइपुग्दा साँझ परिसकेको थियो। उनका श्रीमानले आफ्नो घर नै बिर्सिएछन्। उर्मिला भन्छिन्, 'श्रीमानले आफ्नै घर कता छ भनी वरपर सोध्न थाल्नुभयो तर मानिसहरूले लाहुरबाट आएको सम्झिएछन् र सिगरेट (चुरोट) माग्न थाले।'
पहिलो पटक काठमाडौं आउँदाको क्षण सम्झिँदा उनलाई अचम्म लाग्छ।
भन्छिन्,‘कस्ता थिए ती बेलाका काठमाडौंका मान्छे।’
उनले देखेको काठमाडौँ
उनलाई आफ्नो जन्मथलोभन्दा काठमाडौं निकै फरक लाग्यो। भन्छिन्, 'यहाँ (काठमाडौँ) त जंगलैजंगल थियो। खेतबारी निकै थिए।
उनले सासूलाई देखिनन्। उर्मिला विवाह गरेर आउँदा सासूको निधन भइसकेको थियो। 'ससुरा बा थिए। ससुरा इन्डियन लाहुरे भएकाले घरमा खर्चको त्यति खाँचो पर्दैन थियो,' उनी भन्छिन्।
उर्मिला घरसँगै खेतबारीको काम गर्ने गर्थिन्। घरका लागि उनले सरसामान किन्न थालेको भने निकै पछि हो।
भन्छिन्, 'मलाई थाहा भएसम्म गाडीभाडा २ रुपैयाँ थियो, साबुन पनि त्यस्तै मूल्य पर्थ्यो।'
बुहारीको कामः खेतबारी र घरधन्दा
त्यतिबेला बुहारीलाई आराम गरेर बस्ने फुर्सद नै हुँदैन्थयो। 'कतिपयले त बारीमै बच्चा जन्माउथेँ। कोही कोही बच्चा जन्मिनुअघिसम्म खेतबारीमै हुन्थे, व्यथाले चापेपछि मात्र घर आउथेँ,' उनी ती दिन सम्झिन्छन्।
'घरका काम सारा भ्याएर बनको (खेतबारी)को काम गर्नुपर्ने हुन्थ्यो। नत्र घरका सबै मिलेर गाली गरिहाल्ने। छोराखाल खेतबारीमा गोरु जोत्थे भने महिलाहरू अन्य काम गर्थे,’उनले भनिन्।
उर्मिलाकी सासू थिइनन्। तर सासू हुनेहरूको घरमा बुहारीलाई सासुले अह्ननखटन गराएको उनले मजाले देखिन्।
भन्छिन्, 'बुहारी भनेपछि कतिपयको घरमा नोकरजस्तै व्यवहार हुन्थ्यो। काममा मात्र होइन खानेकुरामा समेत भेदभाव थियो, सासूससुरा र श्रीमानलाई मिठो मसिनो पकाएर खुवाएपछि मात्र बुहारीको खाने पालो आउँथ्यो।’
अरूलाई मिठो मसिनो बनाएर खुवाएकी बुहारीको पालो भने अन्तिममा मात्र आउँथ्यो। अनि बाँकी बसेको खानेकुरा मात्र खानुपर्थ्यो।
'हामी सुत्दा त रातिको १२ बज्ने गर्थ्यो, फेरि बिहानै सबेरै उठ्नुपर्थ्यो, नत्र घरको काम भ्याएर अर्काको मेलापात जान भ्याइँदैनथियो,' उर्मिला भन्छिन्, 'अनि ढिकीजाँतो जे छ पहिला त्यो काम गर्नुपर्थ्यो।'
अहिलेजस्तो त्यतिबेला सासूबुहारी सँगै नहिँड्ने र मिलेर बसेको पनि कमै पाइने उनले बताइन्।
'अहिलेभन्दा धेरै कुरा पहिलाका राम्रा'
पञ्चायतकालदेखि गणतन्त्रसम्म आइपुग्दा धेरै परिवर्तन देखेकी उर्मिलालाई धेरै कुरा पहिलाकै राम्रो लाग्छ। समयसँगै परिवर्तन भएका कतिपय कुराहरू उनलाई ठीक लागेका छैनन्।
आफ्ना पालामा मान मर्यादा हुने, सानाले ठूलालाई आदर सम्मान गर्ने गरे पनि अहिले ती सबै हराएकोमा भने उनी चिन्तित छिन्।
बच्चा बोकेर बारीमा काम
त्यो समयमा गर्भवती हुँदा काम लगाउनुहुन्न भन्ने चेतना मानिसमा थिएन। जेजस्तो भए पनि काम गर्नुपर्छ भन्थे।
१८ वर्ष पूरा हुँदै गर्दा उनले पहिलो सन्तान जन्माएकी थिइन्। भन्छिन्, 'छोरा जन्मिएपछि सुत्केरी भएँ भनेर बसिरहन पाइँदैन थियो। सुत्केरी भएको केही दिनमै घरधन्दा र मेलापात सबै गर्नुपर्थ्यो।'
त्यसबेला बच्चा हेरेर बस्ने कसैलाई फुर्सद नहुने भएकाले बच्चालाई कोक्रामै हालेर दिनभर काम गरेको उनले अनुभव सुनाइन्।
‘कोक्रोमा बाबु छाडेर बारीमा पस्यो,एकछिनमा काम गर्दागर्दै छोडेर कुदेर हेर्न आउनुपर्थ्यो, घरका ढोकामा स्याल कराउँथे। कुकुरका बिगबिगी थिए। कोक्रो पनि साडीको,बोराको बनाउने चलन थियो। अरू हुँदैनथिए,' उर्मिलाले भोगाइ सुनाइन्।
छोराछोरीलाई मजेत्रोले बेरेर ढाडमा राखेर दिनभर खेतबारीमा काम गर्ने गरेको पनि उनले सुनाइन्, 'त्यतिबेला सबैले यस्तै गर्थे, ठूलोसानो जुनसुकै घरानाका भए पनि काम गर्नैपर्थ्यो।'
२०४६ को आन्दोलनपछि भने हरेक सामानको भाउ बढेको उनको बुझाइ छ। मान्छेहरू पनि लोभी बन्दै गएको उनको बुझाइ छ।
असार १४, २०८० बिहीबार १७:०४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।