जलहरीमा केपी ओलीको नाम कुँदिएकोप्रति एमाले सचेतकले भने, 'जसले शिलान्यास गर्न उसको नाम लेखिन्छ'

जलहरीमा केपी ओलीको नाम कुँदिएकोप्रति एमाले सचेतकले भने, 'जसले शिलान्यास गर्न उसको नाम लेखिन्छ'

काठमाडौँः प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक महेश बर्तौलाले जलहरीमा आफ्नो पार्टीका अध्यक्षलगायतको नाम कुँदिनु सामान्य भएको प्रतिक्रिया दिएका छन्।

सोमबार संसद भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उनले एमाले भ्रष्टाचारी जोगाउने पक्षमा नरहेको भन्दै एमालेलाई बदनाम गर्न खोजिएको बताए। 

केपी ओलीप्रति आक्षेप लगाउने गरी दुराशय ढंगबाट एमालेलाई कमजोर बनाउन सकिन्छ कि भन्ने कुनै अस्त्र निर्माण गरिएको उनको भनाइ थियो। 'अख्तियारले कहाँ गएर के खोजी गर्छ त्यो उसको दायित्वको विषय हो, हाम्रो संलग्नता कहीँ कतै कुनै पनि प्रकारबाट हुँदैन,' बर्तौलाले दाबी गरे। 

एमालेलाई बदनाम गराउन जनताको आँखामा छारो हाल्ने काम भइरहेको उनको दाबी थियो। एमाले नेताहरू जोडिएका घटनाहरू भए सत्यतथ्य छानबिन गर्न उनले माग गरे ।

‘नेकपा एमालेका नेता जोडिएका केही घटना, काण्डहरू छन् भने त्यस्ता घटनाहरूमा छानबिन होस् । हामी हाम्रा कोही पनि नेताहरूलाई गलत काम गरेको भए बचाउन लाग्दैनौँ,’ बर्तौलाले भने ।

मेरा पनि दर्जनौँ ठाउँमा नाम लेखेर बोर्डहरू टाँसिएका छन्, त्यो भवन नभत्किएसम्म मेरो नाम रहिरहन्छ, त्यहाँ नाम लेख्नी भनेर हुन्छ, म सांसद छु अहिले। मैले कुनै भवन शिलान्यास गरे भनेँ त्यो भवनमा मेरो नाम हुन्छ। 

गच्छेअनुसार शिलान्यासमा नाम लेखिने भन्दै उनले कहीँ फलाम कहीँ ताम्रपत्रमा नाम कुँदिने बताए। 

 

११ असार, २०८०, २०:३१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।