केही देशहरूले गाँजाखेती रोक नत्र सहयोगै बन्द गरिदिन्छौँ भनेका थिएः अर्थमन्त्री

केही देशहरूले गाँजाखेती रोक नत्र सहयोगै बन्द गरिदिन्छौँ भनेका थिएः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजाखेतीबारे संसदमा जवाफ दिएका छन्। 

आज संसद्मा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले गाँजाखेतीबारे संसदमा प्रमुख प्रतिपक्षी दलका नेता र अन्य सांसदहरूले कुरा उठाएकाले जवाफ दिनुपर्ने बताएका हुन्। 

गाँजाखेतीमा केही देशहरूले फाइदा उठाइराखेका भन्दै पुरानै मानसिकतामा नबस्ने डा. महतले बताए। 

'जुन देशहरूले हामीलाई भने यो रोक, होइन भने सहयोगै बन्द हुन्छ। त्यस हिसाबले हामीले कानून पनि बनायौँ। रोक्यौँ,' महतले भने। तर कुन देशले यसमा रोक लगाएको भन्नेचाहिँ महतले खुलाएनन्। 

'तर उहाँहरूले नै अहिले रिक्रियसन र मेडिसिनल प्रपोजका लागि खुला गर्ने भनेर बिग बिजनेश भइराछ। त्यसकारण उनीहरूले चाहिँ फाइदा उठाइराख्ने हामीचाहिँ पुरानै मानसिकतामा नबस्ने हो कि,' महतले भने। 

कसरी यसलाई कार्यान्वयन गर्न सकिन्छ त्यसको चासो र चिन्ता भएको उनको भनाइ थियो। यसलाई मध्यनजरमा राखेर कसरी गर्न सकिन्छ यो विषयमा गम्भीर हुन भनिएको उनले प्रस्ट्याए। 

एकै पटक गाँजाखेती गरिहाल्ने नभनिएको र भोलिदेखि नै सुरु गरिहाल्ने पनि योजना नबनाइएको महतले अर्थ्याए। 

गाँजाखेतीको कानुनी अड्चन पनि हटाउनुपर्ने उनको भनाइ थियो। यसलाई औषधिजन्य उद्देश्यका लागि ल्याइएको पनि उनले दाबी गरे। 

सरकारले खाद्यान्नमा आत्मनिर्भर बनाउन छाडेर गाँजाखेतीलाई बढावा दिएको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले मंगलबार संसदमा यसको विरोध गरेका थिए। 

लाइसेन्स दिएर नियन्त्रित रूपमा गाँजाखेती सुरु भएपछि आममानिसले विनालाइसेन्स रोपेको गाँजाको बिरुवा उखेलिने उल्लेख गर्दै अध्यक्ष ओलीले सीमित व्यक्तिको फाइदाका लागि यो विषय समेटिएको आशय व्यक्त गरेका थिए।

२९ जेठ, २०८०, १४:३९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।