न्याम्सको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढ्यो, तीन सदस्यीय समिति गठन

न्याम्सको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढ्यो, तीन सदस्यीय समिति गठन

काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति नियुक्ति प्रक्रिया अघि बढेको छ।

शुक्रबार प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले सह–कुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा उपकुलपति सिफारिसका लागि तीन सदस्यीय समिति गठन गरेका छन्।

समितिमा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी विच्छा र स्वास्थ्य सचिव डा. रोशन पोख्रेल छन्। सचिव डा. पोख्रेलले प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया अघि बढेको पुष्टि गरे।

‘भीसी (उपकुलपति) सिफारिसका लागि कुलपतिज्यूले तीन सदस्यीस समिति बनाउनुभएको हो,’ सचिव डा. पोख्रेलले उकेरासँग भने, ‘मन्त्रीज्यू, योजना आयोगको सदस्य र स्वास्थ्य सचिव तीन जना छौँ।’

समितिले तीन जना उम्मेदवारको नाम सिफारिस गरेपछि कुलपतिले तीमध्येबाट प्रतिष्ठानको उपकुलपति नियुक्त गर्नेछन्।

स्वास्थ्य मन्त्रालयले समिति गठनको विषयमा सूचना जारी गर्दै भनेको छ, ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को दफा १८ को उपदफा (२) बमोजिम उपकुलपति पदमा नियुक्तिका लागि सिफारिस गर्न सह–कुलपतिको अध्यक्षतामा दुई सदस्य रहेको सर्च समिति २०८० जेठ २६ गतेको निर्णयअनुसार (सम्माननीय प्रधानमन्त्री एवं कुलपति स्तर)गठन भएको छ।’

सो पदका लागि प्रतिष्ठान ऐन तथा स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्त र मनोनयन सम्बन्धी मापदण्ड २०७३ अनुसार योग्यता पुगेका व्यक्तिहरूले सात दिनभित्र मन्त्रालयमा वा इमेल ठेगानामा आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

फागुनमा प्रतिष्ठानका पदाधिकारीको कार्यकाल सकिएको हो।

जेठ ३ गते खरिद अनियमिततामा मुछिएका विवादित जुनियर दशौं तहका डा. भूपेन्द्र कुमार बस्नेतलाई स्वास्थ्य मन्त्री एवं सहकुलपति बस्नेतले प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी दिएका छन्।

यस्तो छ पदाधिकारी नियुक्तिको प्रक्रिया 
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ को दफा–१८ को उपदफा ‘२’ मा उपकुलपति नियुक्तिको व्यवस्था छ।

त्यसमा भनिएको छ ,‘उपकुलपति पदमा नियुक्तिको लागि सिफारिस गर्न कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा अन्य दुई जना सदस्य रहेको एक समिति गठन हुनेछ र सो समितिको सिफारिसमा कुलपतिले उपकुलपतिको नियुक्ति गर्नेछ।’

ऐनमा उपकुलपतिको पदावधि चार वर्षको हुने व्यवस्था छ। त्यसैगरी ऐनको दफा–१९ मा शिक्षाध्यक्ष, रजिष्ट्रार तथा डीन रहने व्यस्था छ। उपदफा ‘१’ मा उपकुलपतिको सिफारिसमा सहकुलपतिले शिक्षाध्यक्ष, रजिष्ट्रार तथा डीनको नियुक्त गर्ने व्यवस्था छ।

यी पदाधिकारीको कार्यकाल पनि चार वर्षको हुनेछ। उपकुलपति नियुक्तिपछि मात्रै अन्य पदाधिकारीको नियुक्ति हुने व्यवस्था छ।

२६ जेठ, २०८०, १९:४६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।