समयमै काम नसक्नेको ठेक्का तोड्दै सडक विभाग

समयमै काम नसक्नेको ठेक्का तोड्दै सडक विभाग

काठमाडौं : सडक विभागले पटक पटक समय थप हुँदा पनि सम्पन्न नभएका सडक र पुलको ठेक्का सम्झौता तोड्न थालेको छ।

समयमै काम नगर्ने र निर्माण सुरु भएर लामो समय बित्दासमेत अधुरै रहेका सडक र पुलका ठेक्का तोड्न थालिएको हो। 

सडक विभाग पुल महाशाखाका प्रमुख नरेशमान शाक्यका अनुसार कुनै ठेक्कामा ढिलाइ भए पनि सकेसम्म उसैबाट काम गराइने र काम हुने अवस्था नभएमा तोडिने छ।

उनले गोरखामा बुट्टार मकैसिङमा पुलको ठेक्का तोडिएर नयाँ ठेक्कामार्फत काम गर्न लागिएको बताए। त्रिशूली नदीमा पनि पुल निर्माण नगरेपछि पप्पु कन्स्ट्रक्सनसँगको ठेक्का तोडेर नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन लागिएको उनले जानकारी दिए।

ठेक्का तोड्नका लागि पहिले सूचना निकाल्ने लगायत प्रक्रिया पुर्याउनुपर्ने हुँदा तोड्ने निर्णय भएर प्रक्रियामा जान केही समय लाग्ने प्रमुख शाक्यले बताए। 

मध्यपहाडी राजमार्गमा निर्माणाधीन चार सय किमी सडकमा कतिपय क्रोनिक ठेक्का रहेको इञ्जीनियर सुरज अधिकारीले जानकारी दिए।

निर्माण व्यवसायीले पटक–पटक अवधि थप हुँदासमेत काम नगरेपछि पाँचथरमा तीन ठेक्कासहित चालु आवमा पाँच ठेक्का तोडिएको उनले बताए।

लामो समयदेखि अलपत्र अवस्थामा रहेको बालाजु–त्रिशूली सडकको पनि ठेक्का तोडिसकिएको छ। हाल क्रोनिक ठेक्का व्यवस्थापनमा सडक विभागले मात्रै नभइ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समेत चासो देखाइरहेको छ।

२६ जेठ, २०८०, ११:३८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।