सूचना प्रविधि क्षेत्रको लगानीमा लचिलो बन्यो सरकार, लगानीको सीमा हट्यो, सेवा आयातको आम्दानीमा ५०% छुट

सूचना प्रविधि क्षेत्रको लगानीमा लचिलो बन्यो सरकार, लगानीको सीमा हट्यो, सेवा आयातको आम्दानीमा ५०% छुट

काठमाडौँ : सरकारले बजेट मार्फत सूचना प्रविधि क्षेत्रमा लगानी भित्र्याउन र सेवा निर्यातलाई प्रोत्साहित गर्न लचिलो नीति लिएको छ।

आर्थिक वर्ष २०८०-८१ को बजेटमा सूचना प्रविधिमा विदेशी लगानीको सीमा हटाउने, सेवा निर्यात गरेर गरेको आम्दानीको करमा ५०% छुट दिने लगायतका लचिलो नीति लिएको हो।

सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेको बजेटमा
सूचना प्रविधि र नवप्रवर्तनमा आधारित उद्योगका लागि लचिलो श्रम नीति अवलम्बन गर्ने गरी श्रम कानुनमा संशोधन गरिने उल्लेख छ।

उद्योगमा स्वच्छ ऊर्जा तथा हरित प्रविधिको उपयोगलाई प्रोत्साहन गर्न प्रविधि विकास कोष मार्फत अनुदान दिने र सूचना प्रविधि उद्योगमा वैदेशिक लगानीको सीमा हटाइने उल्लेख छ।

सूचना प्रविधि सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योगलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न र सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण जडान गर्न उद्योगले गरेको विदेशी मुद्रा आर्जनको दश प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराइने नीति लिएको छ।

सूचना प्रविधिमा बिजनेस प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ, क्लाउड कम्प्युटिङ जस्ता सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई विदेशी मुद्रामा प्राप्त गरेको आयमा लाग्ने करमा पचास प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।

१५ जेठ, २०८०, ०१:०८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।