प्रधानमन्त्रीले जेठ १७ गतेदेखि भारत भ्रमण गर्ने, यस्तो छ कार्यतालिका

प्रधानमन्त्रीले जेठ १७ गतेदेखि भारत भ्रमण गर्ने, यस्तो छ कार्यतालिका

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमण गर्ने भएका छन्।

प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा औपचारिक भ्रमणमा जान लागेका हुन्।

भ्रमणका क्रममा दाहालले राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिका अनुसार प्रधानमन्त्री दाहालले जेठ १८ गते हैदराबाद हाउसमा समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ। भेटपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्।

सोही दिन मोदीले प्रधानमन्त्री दाहाल र प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजनासमेत गर्नेछन्।

साथै प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्त रूपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री दाहालले भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन्।

प्रधानमन्त्री २० गते काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ। नेपालको प्रधानमन्त्रीका रूपमा प्रधानमन्त्री ‘प्रचण्ड’को यो चौथो भारत भ्रमण हो।

भ्रमणले नेपाल र भारतबीचको सदियौं पुरानो, बहुआयामिक र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने परराष्ट्र मन्त्रालयको विश्वास छ।

प्रधानमन्त्रीसँगै उनकी छोरी गंगा दाहाल, मन्त्रीहरू र सचिवहरू पनि भारत भ्रमणमा सहभागी हुनेछन्।

१३ जेठ, २०८०, १२:०१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।