एमालेका कारण अवरुद्ध संसद् बैठक भोलि ४ बजे बस्ने

एमालेका कारण अवरुद्ध संसद् बैठक भोलि ४ बजे बस्ने

काठमाडौँः दिउँसो १ बजे रोकिएको संसद् भोलि अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूमाथि सत्ता पक्षले गम्भीर आरोप लगाएको भन्दै अवरुद्ध पारेको संसद् फेरि सुरु हुन नसकेको हो। 

२० मिनेटका लागि सभामुखले संसद् स्थगित भएको सूचना सुनाए पनि आज संसद् सुचारु हुन सकेन। 

त्यसका लागि प्रमुख दलका मुख्य तथा सचेतकहरू पटकपटक सभामुख घिमिरको कार्यकक्षमा बसेर संसद् फेरि सुरु गर्न पहल गरेका थिए। तर त्यसले सार्थकता पाएन। 

पशुपतिनाथको मन्दिरमा राखिएको सुनको जहलरीमा एमालेको पालामा भ्रष्टाचार भएको माओवादी सांसद लेखनाथ दाहालले कुरा उठाएपछि एमालेले आपत्ति जनाउँदै संसद् अवरुद्ध पारेको थियो। 

एमालेले माओवादी सांसद दाहालले माफी माग्नुपर्ने माग राखेको छ भने माओवादीले यसबारे कुनै प्रतिक्रिया दिएन। 

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले पछिल्लो पटक सूचना टाँस गरेर भोलि ४ बजे संसद् बैठक पुनः बस्ने जनाएका हुन्। 

भूलवशः राखिएको शीर्षक सच्याइएको छ।

१२ जेठ, २०८०, १९:३६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।