आफ्नो नागरिकताबारे संसदमा प्रश्न उठाउने कांग्रेस सांसदलाई रास्वपाका सभापति लामिछानेले धम्क्याए

आफ्नो नागरिकताबारे संसदमा प्रश्न उठाउने कांग्रेस सांसदलाई रास्वपाका सभापति लामिछानेले धम्क्याए

काठमाडौँः अदालतमा विचाराधीन विषय संसदमा उठाइएको भन्दै रास्वपा सांसद तथा सभापति रवि लामिछानेले आपत्ति जनाएका छन्।

बुधबारको संसद बैठकमा कांग्रेस सांसद अजयकुमार चौरसियाले लामिछानेको नागरिकता र राहदानी प्रकरणबारे संसदमा विषय उठाएका थिए।

चौरसियाले भने, जसरी नागरिकता बदर भएर बाहिरको नागरिकता त्यागेको निस्साहरू पेश नगरीकन पुनः नागरिकता लिने काम गरियो, र नागरिकता मैले सुनेको छु...' 

तर उनको भनाइ सकिन नपाउँदै लामिछानेले हात उठाएर सभामुखमक्ष चौरसियाको भनाइ खण्डन गर्न हात उठाए।  

त्यसपछि सभामुख देवराज घिमिरेले उनलाई १ मिनेटभित्र आफ्ना कुरा राख्न समय दिएका थिए। 

त्यसपछि लामिछानेले अदालतमा विचाराधीन विषय संसदमा उठाइएको भन्दै आपत्ति जनाए। उनले भने, 'रोष्टममा कुरा उठाएर माननीयज्युले के कुरा गर्न खोज्नुभएको ? यो सम्मानित अदालतको अपमान हो कि अथवा उहाँले सुनेका भरमा मेरो अपमान गर्न खोज्नुभएको हो ?' 

त्यस क्रममा लामिछानले 'त्यो निस्सा (आफ्नो नागरिकता तथा राहदानी) मैले तपाईंलाई बुझाउनुपर्ने हो' भनी चौरसियालाई जवाफ फर्काएका थिए। उनले भने, 'सम्मानित अदालतमा मैले आफ्ना डकुमेन्ट नमागे पनि त्यसलाई दर्ता गरेर आएको छु।'

सरकार र अदालतलाई आफूले बुझाउनुपर्ने निस्सा बुझाएको र आवश्यक पर्ने ठाउँमा पनि बुझाउने उनले बताए। लामिछानेले भने, 'सम्मानित अदालतको विषय संसदमा उठाउन पाइँदैन सभामुख महोदय।'

यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै चौरसियाको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन पनि सभामुखसमक्ष माग गरेका थिए। 

पछि चौरसियाको उक्त भनाइलाई लिएर रास्वपा सांसहरूले बसेको ठाउँबाटै उठेरै विरोध जनाए। त्यस क्रममा सभामुखले चौरसियाको भनाइ ध्यानाकर्षण भएको जनाएका थिए। 

लामिछानले चौरसियालाई प्रमाण भए पेश गर्न तर हल्लाका पछि नलाग्न पटक पटक आग्रह गरेका थिए। 

१० जेठ, २०८०, १७:५८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।